Friday, August 22, 2008

बाढी पीडितलाई सहयोग गरौ

कोशीको बाँध भत्किएर सुनसरीका आधा दर्जनभन्दा बढी गाउँ डुबानमा परी ५० औं हजार नेपाली दाजुभाई दिदि बहिनीहरु विस्थापित भएका छन् भने सयौं हेक्टर जमिन डुबेको छ । जनताको र्सवश्व नै गुमेको छ । वाढीपीडितहरु विरामी पर्न थालेका छन् । स्थानीय पिडित जनतालाई खाद्यान्नदेखि औषधि लत्ता कपडाको अभाव हुन थालेको छ भने अर्कोतर्फ़ महामारी फैलिन सक्ने खतरा पनि छ ।
विपत्तिमा परेका सुनसरीवासीलाई यतिबेला तन, मन, धनलगायत सबै किसिमको सहयोगको आवश्यकता रहेको छ । तर, छिमिकीहरु पीडितलाई सहयोग जुटाउन भन्दा पनि रमिता हेर्न तछाँडमछाड गरेको दुःखद् समाचार सुनिनमा आएको छ । विपत्तिको यस घडीमा कुनै भौगोलिकता, धर्म, सम्प्रदाय एवं विचारको घेराले बाँधिदैन । यसकारण यतिबेला सुनसरीका बाढीपिडितका साथसाथै रुपन्देहीको तिनाऊ खोलामा आएको बाढीका पीडीतलाई सहयोगको त्यतिकै खाँचो छ । बाँध किन भत्कियो, बाढी आउनुको कारण के हो, यसमा कसको दोष छ, क्षतिपुर्तिको व्यवस्था कसरी गर्न सकिन्छ लगायतका विषयमाथि छलफल र विश्लेषणको पाटो छुट्टै छ । तर, यतिबेला तत्कालको आवश्यकता के हो त्यो हरेक पक्षले बुझ्न जरुरी छ ।
राज्यको मात्रै प्रयासले बाढीपीडितलाई सहयोग र उद्दार पुग्दैन यसमा सबै देशवासीको सहयोगको आवश्यकता छ । जसले जहाँबाट जे सक्छ सहयोगी हात अगाडि बढाएको खण्डमा बाढीपीडितहरुको मनको घाऊमा मलहम लगाउन सहयोग पुग्थ्यो र आर्थिक सहयोग मुख्य भएपनि मानवीय सहयोग र विश्वास दिलाउने, सहानुभूति दिने र सही सुझाव पनि महत्वपुर्ण सहयोग हुनसक्दछ । त्यसकारण हामी सबैले बाढीपीडितप्रति आफ्ना सहयोगी हात अगाडि बढाउनुपर्छ । मन्दिर, मस्जिद, चर्च र गुम्बामा गएर प्राथना गर्दैमा धर्म हुँदैन, पुण्य कमाउने भनेको यस्तै बेलामा मात्रै हो ।

No comments: