Saturday, August 23, 2008

प्रचण्ड सरकारले पूर्णता पाएन, एमालेमा भुइँचालो

शपथग्रहण गर्ने बेला मर्यादाक्रम नमिलेपछि माओवादी नेतृत्वको सरकारको मुख्य घटक नेकपा एमाले अन्ततः पहिलो चरणको मन्त्रिमण्डलमा सहभागी भएन । नयाँ मन्त्रिमण्डलमा एमाले नेता बामदेव गौतमभन्दा वरियताक्रममा माओवादी नेता डा. बाबुराम भट्टर्राईलाई माथि राखिएपछि शपथग्रहण गर्न तयारी अवस्थामा पुगेका एमाले नेताहरुले मन्त्री पदको शपथ लिएनन् । मन्त्रिमण्डल गठन प्रक्रियादेखि मर्यादाक्रमसम्म आइपुग्दा पनि किचलो नटुङ्गएिपछि दाहाल सरकार सुरुदेखि नै संकटमा परेको छ । मर्यादाक्रममा प्रधानमन्त्रीले पुर्नविचार नगरे एमाले नयाँ सरकारमा समेत नजाने बताइरहेको हुँदा गठबन्धन दलले पर्णता पाउनेमा आशंका छ ।
अर्कोतर्फप्रधानमन्त्री पुष्पकमल दाहाल आज चीन भ्रमणमा जाने तथा ११ गते मात्र स्वदेश फर्किने भएका कारण त्यसअघि नै पुर्नविचार होला भन्ने संभावना छैन । लामो समयदेखि माओवादीसँग सहकार्य गर्नुपर्छ भन्ने वकालत गर्दै आएका नेता बामदेव गौतमलाई एमालेले उपप्रधानमन्त्री तथा गृहमन्त्रालयको जिम्मा दिई पार्टीले नेतृत्व गरेर पठाएको भए पनि माओवादी वरिष्ठताक्रममा तल पारेपछि अहिले उनै बामदेव माओवादीका कडा आलोचक बनेका छन् । गौतमले संचारकर्मीसँग कुरा गर्दै माओवादीको पिछलग्गु भएर कार्यकर्ताको मनोवल गिराउन सरकारमा नजाने बताएका छन् ।
राष्ट्रपतिलगायतका विषयमा एमालेलाई धोका दिँदै आएको माओवादीले सरकार गठन गर्ने विषयमा समेत नेकपा एमालेलाई दह्रो झापड हिर्काएको छ । बामदेव गौतमका अनुसार यसअघि माओवादीले मर्यादाक्रमको विषय सामान्य भएकाले त्यसमा कुरा मिलिहाल्छ, भन्दै पन्छियो, अहिले शपथग्रहण गर्नुभन्दा आधा घन्टा अघि मात्रै वरिष्ठताक्रम विगारेर पुनः एकपटक माओवादीले धोका दिएको हो । प्रधानमन्त्रीको निर्वाचनमा मतदान गर्नु अगावै पोर्टफोलियोको विषयमा टुँगो नलगाउनुपर्ने बताइए पनि माओवादीको सोह्रै आना विश्वास गर्दा एमाले चिप्लिएको हो । नेकपा एमालेले स्थापित परम्परा र संयुक्त सरकारको संस्कृतिलाई अस्वीकार गरी मर्यादाक्रम विगारेको भन्दै सरकारमा नजाने धम्की दिइरहेको भए पनि माओवादीले एमालेलाई फकाउने कुनै तयारी नगरेको बुझिएको छ । दोस्रो चरणको मन्त्रिमण्डल पर्ुनगठन गर्दा एमाले सहभागी भए स्वागत छ, अन्यथा प्रधानमन्त्रीपछिको वरियताक्रममा दोस्रो एमालेलाई नदिइने माओवादीको दावी छ । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको अघिल्लो सरकारले पनि वरिष्ठताका क्रममा प्रधानमन्त्रीपछि कांग्रेसकै रामचन्द्र पौडेललाई राखेको थियो । त्यतिबेला २०४७ सालमा नै मन्त्री भइसकेकी साहना प्रधान, रामचन्द्र पौडेलको भन्दा पछाडि बस्न मिल्ने अहिले डा. बाबुराम भट्टर्राईभन्दा पछाडि बामदेव किन बस्न नमिल्ने - माओवादी नेताहरूको प्रश्न छ । शपथ लिन एमालेका नेता बामदेव गौतम, विष्णु पौडेल दौरा सुरुवालमा सजिएर आएको भए पनि वरिष्ठताक्रममा विवाद उत्पन्न भएपछि सपथ अस्वीकार गर्दै फर्किएका थिए । माओवादीका चार र फोरमका चार मन्त्रीले हिजै साँझ शपथ लिएपछि बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री दाहालले अर्थमन्त्री डा. बाबुराम भट्टर्राईलाई कार्यवहाक प्रधानमन्त्री बनाएर आफु चीन जाने निर्णालिएको प्रस्ताव राखेको र उक्त बैठकले त्यो प्रस्ताव पारित गर्दै राष्ट्रपतिमा निर्णयार्थ पठाइएको थियो ।
यसैबीच, वरिष्ठताक्रममा माओवादीसँग खटपट परिरहेका बेला एमालेभित्र सुदुरपश्चिम क्षेत्रलाई हेपेको भन्दै आन्तरिक अर्को किचलो निस्किएको छ । मन्त्री सिफारिस गर्दा सुदुरपश्चिम र कर्णालीबाट प्रतिनिधित्व नगराइएको भन्दै एमाले केन्द्रीय सदस्य भीम रावल, कर्णाली इन्चार्ज डिल्ली महत, बैकल्पिक केन्द्रीय सदस्य भानुभक्त जोशीले हिजै राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी पार्टी निर्णयको विरोध गर्दै त्यस विरुद्ध संघर्ष गर्ने चेतावनीसमेत दिएका छन् । उनीहरूले केन्द्रीय सदस्य पदबाट राजीनामा दिने बताएका छन् । त्यस्तै, अर्को केन्द्रीय सदस्य राधा ज्ञावलीले पनि आफूलाई मन्त्री नबनाइएको प्रति आक्रोश पोख्दै केन्द्रीय सदस्य पदबाट राजीनामा दिएकी छिन् । यसअघि मन्त्री बन्ने चर्चामा भीम रावल र राधा ज्ञावली थिए ।

No comments: