Monday, August 25, 2008

सिगापुरमा घर किन्ने विषयमा ज्ञानेन्द्र र पारसबीच मनमुटाव

सामान्य नागरिक सरह जीवन बिताउने प्रयास गर्दै आएका पुर्व राजा ज्ञानेन्द्र र छोरा पारसबीच चर्को विवाद सुरु भएको बुझिएको छ । ज्ञानेन्द्रका एक मात्र छोरा पारस गद्दी खोसिएपछि सिंगापुरतिर लागेका थिए । उनी स्थायी रुपले उतै बस्ने तयारी गरेपछि बाबु छोराबीच खटपट सुरु भएको बताइएको छ । प्राप्त समाचारअनुसार उतै बस्ने तयारीका साथ गाडी र घर किन्न बाबुले रकम उपलब्ध नगराइदिएपछि बाबुछोराबीच खटपट भएको हो । बाबुले पैसा दिन नमानेपछि २७ दिनसम्म सिंगापुर बसेर केही समय नेपाल बस्न आएकी पारसपत्नी हिमानी पनि हिजो नै सिंगापुर फर्किएकी छिन् । स्रोतका अनुसार बाबुले पैसा दिन नमानेपछि पारसले श्रीमतीलाई शुक्रबार सिंगापुर बोलाएको हुँदा उनी शनिबार सिल्क एयरको विमानबाट दिउँसो १ बजे सिंगापुरतिर लागेकी हुन् ।
गत साउन ३० गते कान्छी छोरी किर्तिकालाई लिएर आएकी पारसपत्नी हिमानीले छोरीलाई नन्द प्रेरणाको छाउनीस्थित घरमा छोडेर गएको बुझिएको छ । पारस सिंगापुरमा रहेका बेला हिमानी पनि नन्दको घरमा बस्दै आएकी थिइन् । सिंगापुरमा फ्ल्याट भाडामा लिई बस्दै आएका पारसले त्यहाँ ४० लाख डलरमा घर किन्न खोजेको भए पनि ज्ञानेन्द्रले पैसा नदिएको जनाइएको छ । सिंगापुरमा नै स्थायी बसोबास गर्ने गरी गएका पारसले छोराछोरीलाई स्कुल भर्ना गर्नसमेत सकेका छैनन् । जसले गर्दा उनीहरूको पर्ढाई अस्तव्यस्त भएको छ । निकट स्रोतका अनुसार घर किन्नका लागि जसरी पनि ससुरालाई राजी गराउन सक्ने सोच पालेर हिमानी नेपाल आएकी थिइन, तर प्रयास सफल नभएपछि अब हिमानी-पारस सम्वन्ध थप बिग्रने बताइन्छ । बाबु ज्ञानेन्द्रले आफ्नो कुरा नखाने भएकाले पारसले हिमानीलाई पठाएको आशंका गरिएको छ । हिमानी भने नेपालमै या आफ्नो माइती मुलुक भारतको राजस्थान बस्न चाहेकी छिन्, उनमा सिंगापुर मोह नरहेको बताइन्छ ।
उता, सरकारले ज्ञानेन्द्रलाई नागार्जुनस्थित दरबार उपलब्ध गराएको भए पनि गत मंगलबारदेखि ज्ञानेन्द्र आफ्नै निजी वंगला 'निर्मल निवास'मा बस्दै आएका छन् । तर, त्यसअघि नै ज्ञानेन्द्रपत्नी कोमल चिसो लागेर अस्वस्थ भएको भन्दै निर्मल निवासमा बस्दै आएकी थिइन् । श्रीमतीसमेत बिरामी भएको भन्दै नागार्जुन छोडेपछि ज्ञानेन्द्रले त्यहीँ एक्लै बसेर आफ्नो कार्यालय सञ्चालन गर्दै आएका थिए ।
ज्ञानेन्द्र नागार्जुनमा, कोमल निर्मल निवासमा, पारस सिंगापुर, हिमानी छाउनी र रत्न नारायणहिटीमा बस्दा ज्ञानेन्द्रको परिवार नै छिन्नभिन्न भएको थियो ।

No comments: