Tuesday, August 19, 2008

माओवादी नयाँ नेतृत्वको खोजीमा, प्रचण्ड अधिकार विहिन हुदै

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल उर्फप्रचण्ड प्रधानमन्त्री भएपछि माओवादीभित्र पार्टी नेतृत्व कसले गर्ने भन्ने बहस व्यापक रूपमा भएको छ । अध्यक्षले सरकारको नेतृत्व गर्नुपर्ने भएपछि पार्टी नेतृत्वका लागि नेताहरूबीच प्रतिस्पर्धा हुन थालेको हो । माओवादीमा अध्यक्षपछि वरियताक्रममा को अगाडि भन्ने विवाद यस अघिदेखि नै रहेकाले पनि पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा देखिएको हो ।
प्राप्त समाचारअनुसार प्रचण्डपछि मोहन वैद्य 'किरण', डा. बाबुराम भट्टर्राई तथा रामबहादुर थापा 'बादल' बीच मर्यादाक्रममा दोस्रो नेता आफू भएको र सरकारमा आफू नगएर पनि पार्टी नेतृत्व आफूले लिने भन्ने प्रतिस्पर्धा भएका कारण माओवादीले भावी नेतृत्व धान्न नसकेको बुझिएको छ । तर, डा. बाबुराम भट्टर्राई र बादललाई अर्थ र रक्षा मन्त्री बनाउने भन्ने नेकपा माओवादीको सचिवालय बैठकले निर्णय गरिसकेको हुँदा पार्टी नेतृत्व गर्ने मोहन वैद्य 'किरण' निर्विकल्प नेता ठहरिएका छन् । भट्टर्राई र बादल पक्षका नेताले भने सरकारमा नगएर पनि पार्टी नेतृत्व छोड्न नहुने दबाब दिइरहेको हुँदा उनीहरू दोधारमा परेका छन् ।
पार्टीको नया जनादेश दिन महाधिवेशन गर्नुपर्ने पक्षमा रहेका मोहन वैद्य 'किरण' को हातमा पार्टी नेतृत्व गएपछि सम्भवतः प्रचण्डसमेत बढारिन सक्ने खतरा बढेको छ । पार्टी भित्र क्रान्तिकारी धारका रूपमा परिचित वैद्य सबैका निम्ति खतरनाक खेलाडी हुन् । माओवादीमा पार्टी नेतृत्व नयाँ खोज्ने सहमति भए पनि कसलाई दिने भन्ने टुंगो लागेको छैन ।
सरकार, संसद् र पार्टी तीनवटा कमाण्ड निर्माण गरेको माओवादीभित्र सरकारमा अध्यक्ष स्वयम् गएपछि संसद् र पार्टी भित्र कसलाई स्थापित गर्ने विषयमा घनिभूत छलफल भइरहेको छ । पार्टी नेतृत्व मोहन वैद्यको हातमा जाने प्रवल सम्भावना रहिरहेका बेला संसद्मा सचेतक दिनानाथ शर्मा र देव गुरुङ मध्ये कसलाई बनाउने निर्णय हुन सकेको छैन । यद्यपि देव गुरुङ मन्त्रीको लिस्टमा रहेका कारण संसद्को सचेतकमा दिनानाथकै सम्भावना बढेर गएको स्रोतले दाबी गरेको छ ।
माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा नियुक्त हुनुअघि संसदीय फाँटमा रहेका नेताहरूको जनमुक्ति सेनाको पद स्वतः खारेज गरिएको घोषणा गरेपछि माओवादीको जनमुक्ति सेना पनि नेतृत्व बिहीन अवस्था पुगेको छ । जनमुक्ति सेनाका सुप्रिम कमान्डर प्रचण्डलगायत डेपुटी कमान्डर वर्षान पुन 'अनन्त', जनार्दन शर्मा 'प्रभाकर'लगायत कयौं ब्रिगेड कमान्डर र कमिसार सभासद् रहेका हुँदा उनीहरुको पद समेत स्वतः रिक्त भएकाले जनमुक्ति सेना नेतृत्वविहीन बन्न पुगेको हो ।
सेना समायोजनको प्रक्रिया थालनी भइरहँदा जनमुक्ति सेना नेतृत्वविहीन अवस्थामा राख्न नहुने तर्क अघि सार्दै माओवादीले नयाँ सुप्रिम कमान्डर चयन गर्नुपर्ने धारणा पार्टी भित्र व्यापक उठ्न थालेको छ । स्रोतका अनुसार क्रान्तिकारी धारका पक्षपोषक एवं सचिवालय सदस्य नेत्रविक्रम चन्द 'विप्लव'लाई सुप्रिम कमान्डरको जिम्मेवारी दिने बहससमेत हुन थालेको छ । माओवादीको ११ सदस्यीय सचिवालयमा चन्दबाहेक सबै सदस्य सभासद् भएका कारण पनि उनलाई जनमुक्ति सेनाको जिम्मेवारी दिनुपर्ने आवाज उठेको छ । मोहन वैद्य 'किरण' पक्षधर रहेका चन्दलाई वैद्यको टोलीले सुप्रिम कमान्डर बनाउने तयारी गरे पनि प्रचण्ड पक्षधरहरूले जुनियर भन्दै चन्दलाई सुप्रिम कमान्डर मान्न अस्वीकार गरिरहेको बुझिएको छ । त्यसो त जनमुक्ति सेनाका २ डेपुटी कमान्डर नन्द किशोर पुन 'पासाङ' र चन्द्र खनाल 'बलदेव' मध्ये कसैलाई अपग्रेड गर्ने चर्चा पनि उठिरहेको छ ।
यसैबीच, मन्त्रालय बाँडफाँडको टुंगो नलागेको भए पनि माओवादीले आफ्ना मन्त्रीहरूको नाम भने तय गरेको छ । प्राप्त समाचारअनुुसार भट्टर्राई र बादलबाहेक कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, देव गुरुङ, मातृका यादव, हितमान शाक्य, पम्फा भूसाल, खड्गबहादुर विश्वकर्मा, गोपाल खुम्बू, जयपुरी र्घर्ती र अमृता थापाको नाम तय गरेको छ । नौ मन्त्रालयमा राज्यमन्त्री र सहायक मन्त्री पनि राख्ने भएको हुँदा ती नामको चयन भएको स्रोतले बतायो

No comments: