Monday, August 4, 2008

राजीव गान्धीको हत्याप्रति नालिनीद्वारा पछुतो

याँ दिल्ली, १९ साउन राजीव गान्धीको हत्यामा संलग्न भएको अभियोगमा जन्मकैद सजाय भोगिरहेकी नालिनी श्रीहरणले त्यस हत्याप्रति पश्चात्ताप गरेकी छिन् । उनले असली षड्यन्त्रकारीहरूलाई अझै कानुनी दायरामा ल्याउन नसकिएको दाबी गरेकी छिन् । राजीव गान्धीलाई 'महान् नेता' र उनको निधन 'राष्ट्रका लागि क्षति' भन्दै नालिनीले भनिन्, 'राजीव गान्धीको हत्याप्रति म पश्चात्ताप गर्छु ।' गान्धीको हत्यापछाडि पाँच सदस्यीय टोलीको हात रहेको थियो । त्यस घटनामा नालिनी पनि मुख्य अभियुक्त रहेकी थिइन् । नालिनी मात्र त्यस टोलीकी जीवित सदस्य हुन् । मे २१, १९९१ मा तमिलनाडुको श्रीपेरुम्बुदुरमा आत्मघाती विस्फोटकर्ता धानुले राजीव गान्धीको हत्या हुने गरी बम विस्फोट गराएकी थिइन् ।

त्यस विस्फोटमा अन्य १५ जनासँगै धानुको पनि मृत्यु भएको थियो । विस्फोटमा संलग्न शिवरासन र सुवा पनि मरिसकेका छन् । घटनाको फोटो खिच्ने लिट्टे फोटोग्राफर एस. हरिबाबुको पनि सो विस्फोटमा निधन भएको थियो । राजीव गान्धीको हत्याको करिब एक महिनाभित्र गिरफ्तार भएकी नालिनीलाई झुन्डयाएर मृत्युदण्ड दिने सजाय सुनाइएको थियो । तथापि, उनको यो सजाय राजीव गान्धीकी विधवा कंग्रेस अध्यक्ष सोनिया गान्धीको हस्तक्षेपपछि आजीवन जेल-सजायमा परिणत गरिएको थियो । जेलमा नै नालिनीकी छोरी जन्मेकी कारणले सोनियाले नालिनीलाई क्षमा दिन आग्रह गरेकी थिइन्

No comments: