Tuesday, August 12, 2008

सहमतिको सरकार नै बन्नु पर्ने

माओवादीले नेपाली कांग्रेस बाहेकको तथा नेपाली कांग्रेसले माओवादीबाहेकको सरकार बनाउने प्रयास थालेको बेला मध्यमार्गी एमाले स्थायी समितिको बैठक गर्दैछ ।
भावी सरकारबारे दलहरुबीच सहमति बन्न नसकेको बेला मुलुकको तेश्रो ठूलो पार्टी एमाले स्थायी समितिको बैठक हुदैछ । माओवादी र नेपाली कांग्रेसबीच रक्षा मन्त्रालयको बिबाद चर्किरहेको बेला साउन २८ गते बिहान ११ बजेदेखि हुनलागेको एमाले स्थायी समितिको बैठकको निर्णयले भावी सरकार निर्माणमा गम्भीर अर्थ राख्न सक्छ । एमालेले मुलुकका चार प्रमुख दलहरुको सहमतिमा राष्ट्रिय सहमतिको सरकार अनिवार्य रहेको अडान राख्दै आएको छ ।
संविधानसभाले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम प्रकाशित गरिसकेको भए पनि एमाले स्थायी समिति बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउनुको बिकल्प नरहेको आफ्नो पुरानो अडानमै जोड दिएको छ ।
एमाले स्थायी समितिको बैठकले राष्ट्रिय सहमतिको सरकार बनाउन अन्तिम समयसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । साउन २८ गते पार्टी केन्द्रीय कार्यलय बल्खुमा भएको बैठकले माओवादी र नेपाली कांग्रेसले रक्षा मन्त्रालयमा अनावश्यक झमेला गर्नु आवश्यक नरहेको निश्कर्ष निकालेको पनि स्थायी समिति सदस्य तथा प्रचार बिभाग प्रमुख इश्वर पोखरेलले जानकारी दिए । 'मन्त्रालयमा झमेला गरेर सहमतिको सरकार बन्ने वातावरण बिगार्ने काम गर्नुहुदैन भन्ने हाम्रो भनाई हो' पोखरेलले भने ।
स्थायी समितिको बैठकले केन्द्रीय कमिटीको बैठक भदौ १४ गते गर्ने निर्णय पनि गरेको छ । यद्यपि, संविधानसभाले प्रधानमन्त्रीको निर्वाचन साउन ३१ गते गर्ने निर्णय गरिसकेको छ । प्रधानमन्त्रीको उमेदवारी साउन ३१ गते दर्ता गर्नुपर्ने कार्यक्रम पनि संविधानसभाले प्रकाशित गरिसकेको छ ।

No comments: