Tuesday, August 5, 2008

नेपालका एक मित्रको अवसान

भारतीय कम्युनिस्ट नेता हरकिसन सिंह सुरजितको बयान्नब्बे वर्षको उमेरमा गत शुक्रबार निधन भयो । आइतबार उनको अन्त्येष्टि सम्पन्न गरिएको छ । भारतका पहिलो पुस्ताका कम्युनिस्ट नेता सुरजितको निधनले भारतीय कम्युनिस्ट आन्दोलनले आफ्ना एक अभिभावक गुमाएको छ भने नेपालको लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनले आफ्ना एक असल मित्र र शुभेच्छुक गुमाएको छ ।
सन् १९३० को दशकमै कम्युनिस्ट पार्टीको सदस्य बनेर भारतीय स्वतन्त्रता संग्राममा लागेका १९६४ का नम्बुदरी पाद र ज्योति वसुसँगै भाकपा माक्र्सवादीको गठन गरी ४४ वर्षसम्म त्यसको पोलिटब्युरो सदस्य र चारपटक उक्त पार्टीका महासचिव रहेका अथक राजनीतिकर्मी सुरजितले भारतको कम्युनिस्ट आन्दोलनको एउटा धारको नेतृत्व गर्दै भाकपा माक्र्सवादीलाई भारतको केन्द्रीय राजनीतिमा एउटा शक्तिका रूपमा स्थापित गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । साथै, उनले १९८० को दशकपछि भारतमा बढ्दो धार्मिक कठमुल्लावाद र अन्धराष्ट्रवादका विरोधमा एउटा धर्मनिरपेक्ष वैकल्पिक शक्ति निर्माणमा महत्त्वपूर्ण योगदान दिएका थिए । साम्यवादको पतनको दुन्दुभी बजिरहेका बेला भारतमा त्यसलाई अझ बलशाली बनाउने कामको नेतृत्व पनि उनैले गरेका थिए ।
नेपाली जनतालाई उनले लोकतान्त्रिक आन्दोलनमा प्रत्यक्ष सहयोग र समर्थनमार्फत् ठूलो गुन लगाएका छन् । ०४५ को बहुचर्चित चाक्सीबारी सम्मेलनमा चन्द्रशेखरसँगै भारतीय प्रतिनिधिमण्डलमा सहभागी भएर आएका उनले वाममोर्चा र नेपाली कांग्रेसलाई संयुक्त भएर जनआन्दोलनमा जाने वातावरण बनाउन प्रभावकारी भूमिका खेलेका थिए । ०४७ मा माले-माक्र्सवादी एकीकरणका लागि पनि उनको उल्लेख्य भूमिका रहेको थियो । तत्कालीन राजा ज्ञानेन्द्रले गरेको कु पछि नेपालमा सञ्चालित गणतान्त्रिक आन्दोलनलाई सहयोग जुटाउन भारतका राजनीतिक पार्टीहरूलाई एउटै मोर्चामा ल्याउने काममा उनकै नेतृत्वले काम गरेको थियो । साथै, दिल्लीको नेपालनीतिमा देखिएका पछिल्ला परिवर्तनलाई बल पुर्‍याउन भाकपा माक्र्सवादीले खेलेको भूमिकामा पनि उनको प्रेरणा रहेको थियो ।
यसरी नेपाली लोकतान्त्रिक आन्दोलनलाई निरन्तर सहयोग गर्ने र शुभेच्छा राख्ने सुरजितको निधनबाट नेपालीले एकजना हितैषी गुमाएका छन् अनि नेपालले एउटा सच्चा मित्र गुमाएको छ भन्नु अत्युक्ति हुनेछैन ।

No comments: