Thursday, August 28, 2008

नेतृत्व लिन कांग्रेसमा हानथाप

काठमाडौं । प्राविधिक एकीकरण भए पनि भावनात्मक एकीकरण हुन नसकेको नेपाली कांग्रेसभित्र नयाँ नेतृत्वको खोजी भइरहेको छ । पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको कमजोर स्वास्थ्य स्थिति तथा बिग्रिएको संगठनिक संरचना सुधार गर्न नयाँ नेतृत्वको खोजी भएको नभई एक पक्षले अर्को पक्षलाई माइनस गर्नका निम्ति नेतृत्वको विकल्प खोजिएको हो ।
नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण भइसकेको भए पनि दोहोरो सांगठनिक संरचना कायमै रहेको र अहिले पुर्व प्रजातान्त्रिक कांग्रेसीहरूको हालीमुहाली बढ्दै गएको अवस्थामा नेतृत्वको खोजी भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको समयावधि यसै साता सकिने वैधानिक व्यवस्थालाई आधार बनाएर प्रजातान्त्रिक कांग्रेस र्समर्थक केन्द्रीय सदस्यहरूले नयाँ नेतृत्वको खोजी गर्नुपर्नेमा जोड दिएका छन् । तर, मुलुकको पछिल्लो राजनीतिक स्थिति र भर्खरै निर्वाचन सम्पन्न भएको परिपेक्षमा नेतृत्वले तत्काल महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने पक्षमा देखिँदैन । तर, संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसले प्राप्त गरेको असफलतालाई नेतृत्वको कमजोरीको कारण बनाउँदै प्रजातान्त्रिक पक्षधरहरूले नेतृत्वमाथि दोष थोपरिरहेका छन् ।
गिरिजाप्रसाद कोइराला पार्टी सभापति भए पनि अहिले कार्यवहाक सभापति सुशील कोइरालाले पार्टी सञ्चालनको जिम्मा पाइरहेका छन् । जसका कारण कांग्रेसमा नयाँ नेतृत्व भन्दै सुशील कोइरालालाई पाखा लगाएर शेरबहादुर देउवालाई अगाडि बढाउने धुनमा कांग्रेसीहरू लागेका छन् । एकीकरणका बेला कुनै पनि पदमा नबस्ने भन्दै पाखा लागेका देउवाले अन्य तहमा आफ्ना पक्षधरलाई बलियो रुपमा स्थापित गरेका थिए । जसका कारण अहिले कार्यवहाक सभापति सुशील कोइरालासहित उपसभापति रामचन्द्र पौडेलसमेत कमजोर अवस्थामा रहेका छन् । अहिले कांग्रेसका खम्बा भनेर चिनिने महामन्त्री विमलेन्द्र निधिदेखि प्रकाशशरण महत र मिनेन्द्र रिजालहरू अहिले कांग्रेसका र्सर्वेर्सवा भएका छन् । संस्थापन पक्षका महामन्त्री रामवरण यादव राष्ट्रपति भइसकेको र अर्का महामन्त्री केवी गुरुङ यस्ता खुराफातीमा पछाडि परेको अवस्थामा सबैभन्दा कनिष्ठ महामन्त्री विमलेन्द्र निधि अहिले पार्टीको नीति नियम बनाउनमा सक्रिय रहेका छन् । उनै महामन्त्रीको इसारामा पार्टी नेतृत्व परिवर्तन गर्ने आवाज केन्द्रीय समितिमा जोडदार रुपमा उठ्न थालेको छ ।
इतिहासको कालखण्डमा नेपाली कांग्रेस सबैभन्दा कमजोर अवस्थामा रहेको अहिलेको पृष्ठभूमिमा संगठन सुदृढ गर्नुभन्दा नेतृत्वको निम्ति खिचातानी गरिरहेको भन्दै कार्यकर्ताहरूसमेत रुष्ट हुन थालेका छन् । नेतृत्वले महाधिवेशन एक वर्षपछाडि सारेर यस अवधिमा संगठनको सुदृढीकरणका साथै संविधानसभामा रचनात्मक प्रतिपक्षको भूमिका र नयाँ संविधान निर्माणमा विशेष पहल गर्नुपर्ने अवस्थामा अहिले देखिएको नेतृत्व परिवर्तनको चर्चाले कांग्रेसभित्र सैद्धान्तिकभन्दा व्यक्तिवादी इगो बढिरहेको घामजस्तै र्छलंग छ ।
त्यसैको फाइदा उठाएर देउवा पक्षधरहरूले वितण्डा सुरु गरेका छन् । संविधानसभामा पराजय भोग्नुका साथै सत्ताबाट फ्याँकिएपछि पहिलोपटक बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा संगठन सुदृढीकरण र पार्टीको सैद्धान्तिक पक्षका बारेमा छलफलभन्दा आगामी दिनमा कसले नेतृत्व हत्याउने र को कुन पदमा जाने भन्ने महत्वकांक्षाले विवाद खडा भएको छ । पार्टी भित्रकै रोग भ्रातृ संगठनहरूमा पनि लागेको छ । अहिले प्रजातान्त्रिक कांग्रेस र्समर्थक नेविसंघको सिंगो कमिटी नै नेविसंघको नेतृत्वप्रति खनिएर लागेको छ । कहिले धर्ना त कहिले घेराउका कार्यक्रमहरू गर्दै आएको उक्त पक्षले पनि महाधिवेशनको माग गरिरहेको छ ।
त्यसो त पार्टी एकिकरणपछि कार्यकर्तादेखि नेतृत्वसम्म भावनात्मक सम्बन्ध स्थापित गर्नका निम्ति महाधिवेशन नै उपयुक्त माध्यम भएको भए पनि अहिलेको अवस्थामा कांग्रेसभित्र महाधिवेशनको माग उठाउनु पार्टीको संगठनिक हितका निम्तिभन्दा पनि मुठ्ठभिर नेताहरूको फाइदाका निम्ति उक्त आवाज उठेको विश्लेषकहरूको राय छ । एक वर्षछि महाधिवेशनको तिथि तय गरिए पनि कांग्रेसभित्र अब दोहोरो नेतृत्वको अवस्था सिर्जना भएको छ । त्यसकारण कांग्रेसमा अझै पनि भावनात्मक एकीकरण नभएको स्पष्ट गर्दछ ।

No comments: