Monday, January 21, 2008

भावुक प्रचण्डको स्वीकारोक्ति

आवेशमा आएर उत्तेजित हुने पछिमात्र महसुस गर्ने बानीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई सास्ती बनाएको छ। आफू भावुक स्वभावको भएकाले सानो कुराले पनि उत्तेजित बनाउने गरेको र पछि आफैंले ठण्डा दिमागले सोच्दा गल्ती महसुस हुने गरेको स्वीकारोक्ति प्रचण्डले गरेका छन्। प्रचण्डले पुस ३० गते खुलामञ्चमा भाषण गर्ने क्रममा प्रधानसेनापतिको नामै लिएर गाली गर्नु र जंगबहादुर जन्मिनुपर्छ भन्नु कमजोरी भएको स्वीकार गरेका छन्।
कुरा गत माघ २ गतेको हो। अध्यक्ष प्रचण्ड आफैंले अध्यक्षता गरेर डाकेको सातदलका शीर्ष नेताहरूको बैठकमा प्रचण्डको सो अभिव्यक्तिबारे अनौपचारिक छलफल हुने क्रममा 'मेरो कमजोरी भनेकै देखेको कुरा र मनमा लागेको कुरा फ्याट्ट भनिहाल्ने हो। छलछामको राजनीति हुने ठाउँमा यस्तो बानीले काम दिने रहनेछ,' प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकका एक सहभागीले बताए। सातदलको सो बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले प्रचण्डलाई निकै गम्भीर हुनेगरी उनका कमजोरी उजागर गरिदिए। 'तपाईंले रुक्मांगत कटवाललाई ललकारेर जसरी आक्रामक भाषण गर्नुभयो, त्यसले तपाईंको उचाइ घटाएको छ। त्यो त वाईसीएलको एउटा नेताले गर्ने भन्दा पनि तल्लो तहको भयो। मैले तपाईं यसरी उत्तेजित हुनुहुन्छ भन्ने सोचेको थिइनँ,' राजेन्द्र पाण्डेले प्रचण्डलाई भनेका शब्द यिनै थिए। जवाफमा प्रचण्ड निकै गम्भीर भएको र आफूले त्यसरी नबोलेको भए हुने थियो भन्ने महसुस गरेका थिए। बैठकका कतिपय सहभागीले कटवाललाई खुलामञ्चबाट गाली गर्नुभन्दा बालुवाटारमै बोलाएर हप्काउन सकिन्थ्यो भन्ने सुझावसमेत प्रचण्डलाई दिएका थिए।
सेनाको सवालमा बोल्दा प्रचण्डले यसरी आलोचित बन्नुपरेको यो पहिलो घटना भने होइन। २०६३ असार २ गते पहिलोपटक बालुवाटारमा सार्वजनिक भएको दिन पनि प्रचण्डले शाही सेना (हाल नेपाली सेना)मा बलात्कारी र हत्याराहरू छन् भनेर अभिव्यक्ति दिएका थिए। पछि त्यसले ठूलो आलोचना आयो र नेपाली सेनाले समेत कडा प्रतिवाद गरेपछि प्रचण्डले वक्तव्य निकालेर सबै सेनालाई बलात्कारी भन्न खोजिएको होइन भनी स्पष्टीकरण दिएका थिए। यसपालि पनि 'को हो रुक्मांगत कटवाल' भनेर भाषण गरेकोमा प्रचण्डले आत्मालोचना गर्नुपर्ने माग कांग्रेसतिरबाट आए पनि अनौपचारिक रूपमा प्रचण्डले कमजोरी महसुस गरेपछि सो प्रकरणको अन्त्य भएको सातदलका एक नेताले बताए। स्रोत:विक्ली नेपाल

No comments: