Friday, January 25, 2008

सुरक्षा योजना सार्वजनिक

६२ हजार प्रहरी र ६९ हजार ७०० म्यादी प्रहरी संविधानसभा चुनावमा परिचालन गर्ने योजना सरकारले सार्वजनिक गरेको छ ।
सरकारले चैत २८ गते हुने संविधानसभा चुनावका लागि ४० हजार जनपद प्रहरी, २२ हजार सशस्त्र प्रहरी र ६९ हजार ७०० म्यादी प्रहरी खटाउने भएको छ । माघ १० गते संसदको संविधानसभा अनुगमन बिशेष समितिको बैठकमा बोल्दै गृहमन्त्री कृष्णप्रसाद सिटौलाले यो जानकारी दिएका हुन् । सिटौलाले चुनाव सम्पन्न गर्न सरकारले तीन चरणको सुरक्षा योजना बनाएको पनि बताए । सिटौलाका अनुसार, माघ १५ देखि फागुन ७ सम्म पहिलो, फागुन ८ देखि २१ सम्म दोश्रो र फागुन २१ देखि चैत २८ सम्म तेश्रो सुरक्षा योजना लागु हुनेछ ।
संविधानसभा चुनावका लागि भर्ना गरिने म्यादी प्रहरीलाई १५ दिन तालिम दिएर खटाइने गृहमन्त्रीले बताए । पहाडका चुनाव बुथमा तीन जना र तराईमा ७ जना जनपद प्रहरी परिचालन गरिने पनि उनले जानकारी दिए । गृहमन्त्रीले चुनाव सफल बनाउन निर्वाचन आयोगलाई सहयोग गर्नु सरकारको दायित्व भएको र त्यो सरकारले जसरी पनि पूरा गर्ने उल्लेख गरे ।
बैठकमा शान्ति तथा पुनर्निर्माण मन्त्री रामचन्द्र पौडेलले बिभिन्न समूहसँग सरकारले अहिलेसम्म गरेका वार्ता र सहमतिको फेहरिस्त प्रस्तुत गरेका थिए । मन्त्री पौडेलले चैत २८ गते संविधान सभा चुनाव हुने बिश्वास दिलाउदै द्वन्द्व हुदैमा चुनाव नरोकिने तथा द्वन्द्व समाधानपछि मात्र चुनाव गर्ने भने चुनाव कहिल्यै हुननसक्ने बताए ।
बैठकमा उपस्थित निर्वाचन आयोगका प्रमुख आयुक्त भोजराज पोखरेलले कुनै पनि दलले चुनावलाई हानी पुग्ने काम गर्न नहुने उल्लेख गरेका थिए । (साभार हिमाल खबर पत्रिका )

No comments: