Saturday, January 5, 2008

क-कसले पिए 'र' को रक्सी ?

काठमाडौं। नेपालमा सक्रिय साना-ठूला सशस्त्र समूहभित्र मात्र होइन, नेपालको अत्यन्त तरल राजनीतिमा अनेकौं षड्यन्त्रमा क्रियाशील मानिँदै आएको भारतीय गुप्तचर संस्था 'र' ले राजधानी काठमाडौंमा छानिएका मानिसहरुलाई भेला गराई भोज खुवाएको छ। दरबारिया, कांग्रेस, वामपन्थी, व्यापारी, सुरक्षाकर्मी, प्राध्यापक र मधेश नेतासहित जम्माजम्मी ४० जनाजतिको सो भोज 'र' का नेपालस्थित तत्कालीन प्रमुख सुरेश ढुण्डिया र वर्तमान प्रमुख आलोक जोशीले संयुक्त रूपमा दिएका हुन्।
दरबारमार्गस्थित याक एण्ड यती होटलको दरबार हलमा 'र' को जमघट ११ दिनअघि अर्थात् डिसेम्बर २० तारिख बिहीबारको साँझ अबेरदेखि शुरु भएको थियो। नेपालमा रहेर अनेक पेशा, व्यवसायमा संलग्नमध्ये केही मात्र भारतीय नागरिकहरु देखिएको सो भोजमा नेपाल सरकारका मन्त्रीहरुमध्ये गृहमन्त्री कृष्णप्रसाद सिटौला मात्र अबेरसम्म सहभागी थिए। 'र' का प्रमुख अशोक चतुर्वेदी दिल्ली फर्किएको भोलिपल्टै आयोजित भोजमा नेकपा माओवादीका तर्फबाट भने चिनिएका कोही नेताहरु सामेल देखिएनन्। एमालेका स्थायी समिति सदस्य भरतमोहन अधिकारीबाहेक अन्यको सहभागिता थिएन भने नेपाली कांग्रेसका नेताहरुमा गृहमन्त्री सिटौलासहित खुमबहादुर खड्का, प्रमपुत्री सुजाता कोइराला, अर्जुननरसिंह केसी, विजय गच्छेदार, सुरेश मल्ल र अमरेशकुमार सिंहको सहभागिता थियो। यो जमघटमा नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गद् कटवालसहित केही जर्नेलहरु, रिटायर्ड जर्नेल सदीप शाहसमेत देखिएका थिए। 'र' को भोजमा तराई-मधेश पार्टी खोलेका मधेशका विद्रोही नेताहरु महन्थ ठाकुर, हृदयेश त्रिपाठी, महेन्द्र रायसमेत प्रायः सबै थिए भने मन्त्री खुस्किएपछि विद्रोही बनेका राजेन्द्र महतो पनि रमेका थिए। राजावादीहरुमा शाही सत्ताका हर्ताकर्ता पूर्वमन्त्री रमेशनाथ पाण्डे र उनका छोरा निश्चलनाथ पाण्डे मात्र होइन तत्कालीन सहायकमन्त्री डा. असर्फी साह, जयन्त चन्द र पूर्व आईजीपी धु्रवबहादुर प्रधान पनि 'र' को जमघटमा सहभागी पाइए। व्यापारीहरुमा बनबारीलाल मित्तललगायत केही मात्र थिए भने भारतीय राजदूत शिवशंकर मुखर्जी तराईका नेताहरुलाई सरकारबाटै खतरा भएको विश्लेषण सुनाउँदै थिए।
भेलाको मध्यतिर पुगेका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले केही नेतालाई व्यङ्ग्य गर्दै 'यहाँ भेटिन्छ भन्ने थाहा पाइएको' बताएका थिए। तराई-मधेश पार्टीका नेताको सुरक्षा र नेपालको भावी राजनीतिको कुरा चल्दा थापाले 'ये सब आपके हि तो आद्मी है' भनी ठाकुर, त्रिपाठी, गृहमन्त्री आदि भएतिर इङ्गित गरेका थिए। मिनिष्टर काउन्सिलरको आवरणमा दूतावासमा खटिए पनि गुप्तचरीमा क्रियाशील हुने 'र' का तत्कालीन नेपाल प्रमुख ढुँण्डिया ६० वर्ष उमेर पुगी रिटायर्ड भएकाले उनको काम सम्हाल्न डीआईजी दर्जाका कपाल र जुँगा फुलेका आलोक जोशी आएका हुन्। रिटायर्ड 'र' का हाकिम ढुण्डिया भारतको दिल्लीनजिक धेरै नेपाली पहुँचवाला धनाढ्यहरुको बस्ती भएको गुडगाँव क्षेत्रमा बसोबास गर्नेगरी काठमाडौंबाट बिदा भएका छन्। उनले नेपाल बस्दा घरको काम गरिदिने एक नेपालीकी दुई वर्षीया छोरीलाई पढाइदिन्छु भनी दिल्ली लगेका छन्।
स्रोत:हांक

No comments: