Sunday, January 6, 2008

सेना समायोजन हुँदैनः प्रधानसेनापति

प्रधान सेनापति रुक्मांगत कटवालले माओवादी सेनालाई नेपाली सेनामा समायोजन गर्ने विषयमा असमर्थता जनाउनुभएको छ। चीनको साताव्यापी भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानसेनापति कटवालले एउटा समस्या समाधान गर्ने नाममा अर्को डरलाग्दो समस्या निम्त्याउन नहुने बताउनुभयो। नेपाली सेना राष्ट्रिय सेना भएकाले यसमा कुनै राजनीति वा वाद घुसाउनु खतरनाक हुने कटवालको भनाइ थियो।
सेना चेन अफ कमान्डमा चल्ने बताउँदै कटवालले मुलुकमा राष्ट्रिय झण्डा जलाइनुले राष्ट्रिय अखण्डता गम्भीर खतरामा परेको औंल्याउनुभयो। सीमित पत्रकारहरुमाझ बोल्दै कटवालले सेना मुलुकको समस्या समाधान होस् भन्ने पक्षमा रहेको स्पष्ट पार्नुभयो। तर समस्या समाधानका लागि भनेर राष्ट्रिय अखण्डतामा आँच पुग्ने खालका कुनै पनि गतिविधि आफूलाई सह्य नहुने बताउनुभयो। छिमेकी मुलुक भारत भ्रमण सकेर फर्केको एक महिना पनि नबित्दै उहाँ एक साता लामो भ्रमणका लागि चीन जानुभएको हो। आफ्नो भ्रमण रक्षामन्त्रीको स्वीकृतिमा नै भएको उहाँले दाबी गर्नुभयो। प्रधानसेनापतिसँगै सुदूर पश्चिम पृतनापति अनन्तबहादुर थेवे र सहायक रथी भिक्टर जंगबहादुर राणा हुनुहुन्छ।
स्रोत: हांक

No comments: