Saturday, January 5, 2008

सडकबाट सद्भाव सन्देश



आन्दोलनले तनावग्रस्त तराईमा दलहरू खुलेर जान नसकिरहेका बेला भर्खरै नाट्य समूह शिल्पीले १८ दिनको मधेश यात्रामा २९ ठाउँमा नाटक प्रदर्शन गरेको छ। 'मधेश तराई' नाम दिइएको सडक नाटकले नागरिकता, पहुँच, अवसर र भाषा समस्याले सिर्जित मधेश आन्दोलन शान्तिपूर्ण र सही दिशामा लैजाने हो भने दलीय स्वार्थ त्यागेर तत्काल सद्भावका गतिविधि शुरु गर्नुपर्ने सन्देश ल्याएको छ।
शिल्पीले साम्प्रदायिक रङ्गभेदहरूलाई तोडेर जनकपुरको मिथिला नाट्यकला परिषद् र कपिलवस्तुको कालिका नाट्य समूहलाई यात्रामा समेटेको थियो। तराईवासी जित्सा काका (रामनारायण ठाकुर) र पहाडबाट तराई झ्रेका नरबहादुर (राजन खतिवडा) ले भोगेको गरिबी, अभाव, बेवास्ता र विपत्तिलाई नाटकमा बुनिएको छ। त्यो विपत्तिबाट उम्किन अधिकार प्राप्तिका लागि तराईवासीले शुरु गरेको शान्तिपूर्ण आन्दोलन हिंसात्मक बनेपछि त्यही समस्यामा नाटकलाई रोकेर साम्प्रदायिक सद्भाव खल्बल्याउने तराई हिंसा कसरी समाधान गर्न सकिन्छ भन्ने उपाय पनि दर्शकबाट फुराइएको थियो। कसैको मुख नताकी समुदायले नै शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरेर हिंसात्मक बनाउने भिजिलान्तेहरूलाई कारबाही गर्नुपर्ने, विना भेदभाव सामुदायिक सद्भाव बढाउनुपर्ने, मधेश आन्दोलनले कोही मधेशवासीलाई दुःख दिन नहुने दर्शकको सुझावलाई कलाकारहरूले नाटकमार्फत् तत्काल सुझाएका थिए। नाटक पटक-पटक साम्प्रदायिक हिंसाको मार खेपिरहेको पूर्वको राजविराज, जनकपुर, लालबन्दी, चन्द्रनिगाहपुरदेखि मध्यपश्चिमको कपिलवस्तु, नेपालगञ्ज हुँदै बर्दियासम्म प्रदर्शन गरिएको थियो। ४५ मिनेटको कचहरी नाटकमा मैथली, भोजपुरी, अवधि र नेपाली चार भाषा मिसाएर फरक फरक संस्कृति, भाषा र अनुभवलाई समेत समेट्ने प्रयास गरिएको थियो। कलाकार राजन खतिवडा नाटकमा जस्तै तराईको शान्तिपूर्ण आन्दोलन गलत तत्वबाट भड्किएको छ भन्ने सबैले थाहा पाएको भएपनि यसको समाधान उनीहरूको वशभन्दा बाहिर गइसकेको बताउँछन्। उनले भने- “उनीहरू छिमेकी खेदेर वा हिंसा भड्काएर समस्या समाधान हुँदैन भन्नेमा पनि प्रस्ट छन्।”
हिंसाको पीडा पोख्ने ठाउँ समेत नपाइरहेका बेला प्रदर्शित नाटकमार्फत् तराईवासीले धार्मिक वा जातीय विभाजनमा नबाँडिई साम्प्रदायिक हिंसा विरुद्ध एक भएर लागौँ भन्ने आवाज उठाएका छन्। शिल्पीका नाटक निर्देशक घिमिरे युवराजका अनुसार नाटक वर्षौंदेखि चलिआएको जमिन्दारी र एकतन्त्रीय शासनको विरोध गर्दै देशको सामाजिक, राजनीतिक रुपान्तरण शुरु गर्ने रङ्गमञ्चीय आन्दोलन हो। ८ पुसमा काठमाडौँमा यात्राको समापन गर्दै युवराजले भने “मधेशका जनता प्रेम र सद्भावसहित आपसमा मिलेर बस्न चाहन्छन् तर उनीहरूको त्यो चाहनालाई कसैले पनि सही तरिकाले सम्बोधन नगरिदिँदा दुःखी छन्। दलहरू त त्यसमा नराम्ररी चुकेका देखिए।”
स्रोत: हिमाल

No comments: