Friday, January 11, 2008

अन्नपूर्णको पार्टीमा हिमानीको डान्स

काठमाडौं। अन्नपूर्ण होटलको भव्य बैठक कक्षमा पार्टी चलिरहेको थियो। 'तु पक्रिलिए फुट फुट फुट' बोलको हिन्दी रिमिक्स गीतमा मदिराको तालसँगै नाच्न र गाउन शाही नातेदार एवं सम्भ्रान्तहरु तँछाड–मछाड गर्दै थिए। करिब ११ बजेतिर टपकोट र बुटमा सजिएकी साढे पाँच फिट जति अग्ली गोरी पातली युवती नाचगानको हुलमा देखापरिन्। शान्ति सिंहका बुहारीहरुसँगै उनी पनि नाच्न थालिन्। सबै मन्त्रमुग्ध भएर उनको नृत्य हेर्न थाले। त्यो नर्तकी अरु कोही नभएर कुनैबेला नेपालको सम्मानित संस्था राजपरिवारकी बुहारी अर्थात् युवराज्ञी हिमानी थिइन्।
गत मंगलबारको उक्त पार्टीको आयोजना शाही नातेदार केतकी चेष्टरका अघिल्लो लोग्नेतर्फका छोरा एवं अखण्डशमशेरका नाति कपील राणाले गरेका थिए। करिब तीन सयको सहभागिता रहेको उक्त पार्टीमा ९ बजे छिरेकी हिमानी ११ बजेतिरमात्रै बाहिरिएकी थिइन्। युवराज्ञी हिमानी कहिलेकाहीँ पार्टी तथा मोजमस्तीमा देखिने गरे पनि उनको पारिवारिक जीवन भने बाहिर अरुले सोचेको जस्तो उन्मुक्त छैन। पारिवारिक टेन्सनले हिमानी थिलोथिलो परेकी छन्। २ सय ४० वर्ष लामो पारिवारिक विरासत समाप्त हुन लागेका कारण हिमानी टेन्सनमा परेकी भने होइनन्। सर्वसाधारणकै कोखमा जन्मेर शाहज्यादासँग वैवाहिक सम्बन्ध कायम गर्न पुगेकी हिमानीका लागि युवराज्ञी पद आकस्मिक अपुतालीका रुपमा प्राप्त भएका कारण पारिवारिक विरासत गुम्न लागेकोमा उनले खासै टेन्सन नलिएकी हुन्। उनी टेन्सनमा हुनुको प्रमुख कारण श्रीमान् युवराज पारससँगको मतभेद हो। पहिले समान्य रहेको यो मतभेद पछिल्ला दिनहरुमा यति चर्किएर गएको छ कि उनीहरु एकसाथ बस्ने अवस्थासमेत रहन छाडेको छ। श्रीमान् पारस निर्मल निवासमा आएका बेला उनी गोकर्णमा हुन्छिन् भने युवराज पारस गोकर्णमा भएका बेला उनी निर्मलनिवासमा हुन्छिन्। आफ्नो ३७ औं जन्मोत्सवका अवसरमा युवराज पारसले पुसको दोस्रो साता आयोजना गरेको एउटा रात्रिभोजमा भने हिमानी निर्मलनिवासमै थिइन्, तर दुवैलाई एकैठाउँमा शुभकामना दिन सहभागीहरुले पाएनन्। युवराज पारस खुसी मुडमा सहभागीहरुका शुभकामना एवं पुष्पगुच्छा ग्रहण गर्दै थिए भने हिमानी अर्कै कुनामा झोक्राएर बसेकी थिइन्। पारसका गल्फ खेल्ने साथी एवं केही सीमित पत्रकार गरी करिब १ सय ३० जनाको सहभागिता रहेको उक्त पार्टी राति अबेरसम्म चल्न पनि पाएन। गल्फ खेल्नेक्रममा सम्पर्कमा आएकी रसियन युवतीलाई बढी समय दिन थालेपछि युवराज पारसप्रति हिमानीको मोहभंग भएको हो। उनीहरुबीचको सम्बन्धमा ६ महिनाअघिदेखि दरार पैदा हुन सुरु भए पनि युवराज पारस गम्भीर विरामी भएर नर्भिक अस्पतालमा भर्ना भएपछि सम्बन्ध केही सुधि्रएको थियो। तर रसियन युवतीप्रतिको अगाध प्रेमका अगाडि युवराज पारसका लागि हिमानी फिका साबित भइन्। छोराछोरीको सुरक्षित भविष्यको विषयलाई लिएर उत्पन्न मतभेद पनि पछिल्ला दिनमा झन् बढेको छ। हिमानी छोराछोरीलाई भारतका राम्रा विद्यालयमा पढाउन चाहन्छिन्। मुलुकको वर्तमान विषम परिस्थितिको मनोवैज्ञानिक असर आफ्ना कलिला छोराछोरीमा नपरोस् भन्ने चाहना हिमानीको भए पनि युवराज पारस त्यसको पक्षमा छैनन्। राजगद्दी छाड्नु परे पनि आफ्नै देशमा सम्मानित नागरिक भएर बस्ने र छोराछोरीलाई नेपालमै बुढानीलकण्ठ वा रातो बंगलामा पढाउने मनस्थितिमा युवराज पारस छन्। उनीहरुका छोराछोरी अहिले दिदीसासू रुपि राणाद्वारा सञ्चालित छाउनीको रुपिज इन्टरनेशनल बोर्डिङ्ग स्कुलमा पढ्दैछन्। केही दिनअघि रुपिजको 'प्यारेन्स डे' मा हिमानी 'फेन्ट' भएर अस्पताल पुगेपछि युवराज पारस अस्पताल पुगे पनि उनलाई हेर्न राजा–रानी ५ दिनसम्म नपुगेको बुझिएको छ। रुपिजको कार्यक्रमको अघिल्लो दिन हिमानी एक्लै गोकर्णमा बसेकी थिइन्।
यसैगरी राजा ज्ञानेन्द्र पनि राणाहरुजस्तो सत्ताबाट हट्नेवित्तिकै विदेश पलायन हुने मनस्थितिमा नरहेको समाचार स्रोतले जनाएको छ। सम्मानित ढंगले स्वदेशमै बस्ने व्यवस्था राजनीतिक दलहरुले गरिदिनुपर्नेबाहेक अन्य सर्त राजा ज्ञानेन्द्रले अघि नसार्ने बताइन्छ। तर यो परिस्थितिप्रति पनि उनी ढुक्क भने छैनन्। प्रधानमन्त्रीलाई 'कु' गर्नेबेलामा साथ दिएको नेपाली सेनाले आफ्नो सत्ता जोगाउन साथ नदिएको तीतो अनुभव सम्हालेका राजा ज्ञानेन्द्र लोकतान्त्रिक शक्तिविरुद्ध माओवादीले सत्ता कब्जा गरे भने नेपाली सेनाले साथ दिने त होइन? भन्ने त्रासमा छन्। माओवादीले सत्ता कब्जा गरे भने सम्मानित नागरिक भएर स्वदेशमै बस्ने आफ्नो अन्तिम इच्छा पनि राजा ज्ञानेन्द्रको पूरा हुने छैन।

No comments: