Saturday, October 13, 2007

निकासका लागि नया सहमति खोज्नु पर्छ : साहना प्रधान

अक्टोवर १२- टोक्यो, जापान ।

नेकपा एमालेका तर्फबाट सरकारमा नेतृत्व गरिरहनु भएकि परराष्ट्रमन्त्री साहना प्रधानले मुलुकको वर्तमान संकटको निकासका लागि सात राजनीतिक दल नया“ सहमतिमा पुग्नु पर्ने बताउनु भएको छ । उहाले उक्त कुरा जापान भ्रमणका अवसर पारेर शान्ति तथा लोकतान्त्रिक नेपाली मञ्च जापानले हिजो आयोजना गरेको "नेपालको विकासमा नेपाल-जापान सम्बन्धले पारेको प्रभाव" विषयक अन्तरक्रिया कार्यक्रमका अवसरमा बताउनु भएको हो । सरकारमा बसेर मुलुकको राजनीतिक अवस्थाको सुक्ष्म अध्ययन गरिरहनु भएकि नेतृ प्रधानले १२ बुदे सहमतिदेखि अहिले सम्मको अवस्था सोचेजस्तो नभएको र देश झनै नाजुक अवस्थामा पुगेको विष्लेषण गर्दै अगाडि भन्नुभयो देशका निम्ति सबैले केही न केही त्याग गर्नु पर्छ । मेरै गोरुको बाह्र टक्का भनेर निकास निस्कदैन । हिजो एमाले पुर्ण समानुपातिक निर्वाचनका पक्षमा उभिए पनि सहमतिका खातिर मिश्रित निर्वाचनमा चित्त बुझाएको थियो । अव अहिले त्यो नै प्रमुख मुद्धाका रुपमा उठेकाले नेपाली कांग्रेसले विचार गर्नु पर्छ । गणतन्त्रका विषयमा त हामी बीच विवाद नभएकाले राजा फाल्ने सहमतिमा जान सकियो भने माओवादीलाई एकतामा ल्याउन सकिन्छ ।श्रीमती प्रधानले अगाडि भन्नुभयो - अहिलेका समस्या भनेको सातदल बीचको अनेकताले सिर्जना भएको हो । आएका समस्या समयमै सुल्झाउने काममा कमी भएको छ । सात दलको बैठक समेत नियमित हुन सकेन । फेरि पनि सात दलको एकता नै अहिलेको आवश्यकता हो । त्यो एकता बैठकमा मात्रै नभएर बाहिर पनि हुनुप्यो । एमालेले हिजो राजाका विषयमा निर्णय गर्न जनमत संग्रहमा जाने कुरा गरेको भए पनि आज प्रतिगामीहरु निकै सल्बलाउन थालेकाले जनमत संग्रहमा जाने कुरा सान्दर्भिक नभएको तर्क उहाको थियो । मञ्चका उपाध्यक्ष डा. राम गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अतिथिका रुपमा भ्रमण दलका सदस्य डा. दिनेश भटर्राई, अमृतबहादुर राई, सागर नेपाल, जापानका लागि नेपाली कार्यबाहक राजदुत पारश घिमिरे र मञ्चका सल्लाहकार शालिकराम भण्डारी उपस्थित हुनुहुन्थ्यो । मञ्चका महासचिव विश्वराज कडेलले संचालन गर्नुभएको अन्तरक्रिया कार्यक्रमको शुरुमा सचिव भूपालमान श्रेष्ठले स्वागत र सदस्य र्सयप्रसाद पाठकले मञ्चको गतिविधि प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका सहभागीहरुले अशोक मेहता प्रकरण, परराष्ट्र नीति तथा राजदुत नियुक्ति, दुतावास र सम्बन्धित मुलुकमा बसोवास गर्ने नेपालीहरुको सम्बन्ध लगायतका विविध विषयमा चासो राखेका थिए ।

अन्तरक्रिया पछि माननीय परराष्ट्र मन्त्री तथा अन्य अतिथिहरुको सम्मानमा रात्रि भोजको पनि आयोजनामा मन्चका उपाध्यक्ष भुषण घिमिरेले दशैको शुभकामना ब्यक्त गरि पार्टीको शुरुवात गर्नुभएको थियो ।

No comments: