Tuesday, April 1, 2008

चुनावी तालमेलको अन्तिम प्रयास

काठमाडौं । एक्लाएक्लै चुनावी प्रचारप्रसारमा जुटेका सातदलमध्येका प्रमुख तीन दल यतिखेर तालमेलको प्रयासमा अग्रसर भएका छन् । खासगरी देशव्यापी चुनावी सभा सकेर राजधानी आएका माओवादी अध्यक्ष प्रचण्डले आफ्नो स्थितिको समीक्षा गर्दै तालमेलको प्रस्ताव अघि बढाएको विश्लेषकहरूको दाबी छ ।
लामो समयदेखि वामएकताको विषयमा आरोप प्रत्यारोप भई एकता हुन नसकेपछि माओवादी अध्यक्ष प्रचण्ड हिजो बिहान एमाले महासचिव माधवकुमार नेपाललाई भेट्न गएका थिए । चुनावबाट आफ्नो अस्तित्व संकटमा पर्ने भएपछि प्रचण्डले यसअघि राख्दै आएका अडानलाई छोडी केही स्थानमा विजय सुनिश्चित गराउन आग्रह गरेको बताइएको छ । यद्यपि, माधवकुमार नेपालले भने त्यस विषयमा शिर्ष तीन नेताबीच छलफल गरी टुंगो लगाउनुपर्नेमा जोड दिएपछि आज शिर्ष बैठक बस्ने निधो भएको हो । आज बस्ने शिर्ष बैठकले केही सीटमा चुनावी तालमेल गर्ने विषयमा र निर्वाचन दुई चरणमा गर्ने विषयमा पनि छलफल हुने बुझिएको छ । माओवादीले आफ्ना शिर्ष नेताहरूका लागि विभिन्न १७ स्थानमा तालमेल गर्न प्रस्ताव राखेको सम्बद्ध स्रोतले जनायो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज हुने शिर्षा तीन दलको बैठकले तालमेल हुने भए पनि त्यसको टुंगो लगाउने छन् । प्रचण्डले आफ्नो राष्ट्रिय एवं अन्तरराष्टीय क्षेत्रको ध्यान खिच्नलाई पनि काठमाडौं- १० बाट जसरी पनि जिताउन आग्रह गर्ने बुझिएको छ । एमालेले भने काठमाडौंका चुनावी तालमेल कुनै पनि हालतमा गर्न नसक्ने जनाउँदै आएका छन् । रोल्पामा समेत प्रचण्डको स्थिति कमजोर हुँदै गएको विश्लेषण बाहिर आएपछि माओवादी आत्तिएको बताइन्छ । एमालेले आफ्नो निर्वाचन जित्ने स्थानमा तालमेल नगर्ने अडान जारी राखेपछि माओवादीले प्रतिगामीहरूबाट खतरा उत्पन्न भएको भन्दै सम्भव भए सातदलबीच तालमेल गर्नुपर्ने बताएका छन् । सम्पुर्ण गणतन्त्रवादीबीच एकता नभए संविधानसभाको मर्मअनुरुप लोकतन्त्रवादीको विजयी हुन नसक्ने भएकाले त्यस्तो प्रस्ताव राखेको प्रचण्डको दाबी छ । चुनावको मिति धेरै नजिक पुगेकाले सबै दल आ-आफ्नो र सामदाम, दण्डभेदका साथ प्रचारमा पुगेकाले केन्द्रमा तालमेल भए पनि स्थानीयस्तरमा त्यसको प्रभाव कस्तो पर्ला त्यो भने हेर्न बाँकी नै छ ।
यसैबीच, मुलुकको सत्ता सञ्चालनको प्रमुख साझेदार तीन दलका चुनावी गतिविधिका विषयलाई लिएर आज निर्वाचन आयोगले बोलाएको छ । चुनावी कार्यक्रमहरूमा देखिएको केही घटनाका कारणलाई लिएर आयोगले तीन दल नेपाली कांग्रेस नेकपा एमाले र माओवादीका शिर्ष नेताहरूलाई आयोगमा उपस्थितिका लागि आग्रह गरेको छ ।
आयोगले चुनावका क्रममा देखिएका घटनाका विषयमा दलका नेताहरूसँग छलफल गरी चुनावी वातावरण सौहार्द्धता अपनाउन अनुरोध गर्ने बताइन्छ । माओवादीका कार्यकर्ताले चुनावी सभा बिथोल्ने, कुटपिट गर्ने अपहरण गर्ने, आफ्नो आधार इलाका भन्दै प्रवेश नदिने जस्ता गतिविधि जारी राखेकाले सहमतिको आधारमा त्यस्ता गतिविधि रोक्नसमेत आयोगले आग्रह गर्ने भएको छ । आचारसंहिताको विषयमा पनि आयोगले पटकपटक आग्रह गर्दा पनि त्यसको सुनुवाइ नगरेकाले तीन दलका नेतालाई गम्भीरतापुर्वक आचारसंहिता पालना गराउन पनि अनुरोध गर्ने आयोग सम्बद्ध स्रोतले जनाएका छन् । निर्वाचनका क्रममा प्रचारमा आएका विषयमाथि पनि तीन दलले एउटै उखानमा जनतालाई सम्बोधन गर्न आग्रह गरिने पनि बताइएको छ ।

No comments: