Friday, April 11, 2008

६०% भन्दा बढी मतदान, ३३ मतदान केन्द्रको निर्वाचन रद्द

बहुप्रतिष्ठित संविधानसभा निर्वाचनमा १ करोड ७६ लाख मतदाता मध्ये ६७ प्रतिशत अर्थात करिब १ करोड १७ लाख मतदान भएको अनुमानित जानकारी निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी दिएको छ । ऐतिहासिक निर्वाचनमा भोट हाल्न देशभर ९ हजार ७ सय ९३ स्थानका २१ हजार ८ सय ४९ मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । त्यसैगरी प्रारम्भिक जानकारी दिदै निर्वाचन आयोगले ३३ निर्वाचन केन्द्रको मतदान स्थगित भएको जनाएको छ । मतदान सकिएका केन्द्रहरुबाट मतपेटिका सिल गरेर मतगणना स्थलतर्फ ल्याउने क्रम सुरु भएको छ। काठमाडौंको क्षेत्र नम्बर १ देखि ४ सम्मको मतगणना प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा गरिने भएकाले यी केन्द्रको मतपेटिका राष्ट्रिय सभा गृहमा पुर्याइएको छ ।
यस्तै क्षेत्र नम्बर ५ देखि १० सम्मको मतगणना विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने कार्यक्रम छ । यस्तै ललितपुरको पुल्चोकस्थित निर्वाचन आयोगको कार्यालयमा मतपेटिका ल्याइँदैछ। आयोग स्रोतका अनुसार सबै निर्वाचन क्षेत्रका मतपेटिका आइपुग्न समय लाग्ने भएकोले मतगणना सुरु आज रातीबाट मात्रै हुनेछ । विद्युतीय मेसिनद्धारा मतदान गरिएको काठमाडौं क्षेत्र नम्बर १ को मतगणना परिणाम भने आजै राती अबेरसम्म आइसक्ने छ भने अन्य क्षेत्रको मतगणना परिणाम आउन केही समय लाग्ने आयोगले जनाएको छ। आयोगले दिएको जानकारी अनुसार काठमाडौं, चितवन, दार्चुला, झापा, धादिङ, गोरखा, पर्सा, नुवाकोट, रसुवा, बारा कास्कीलगायतका स्थानमा ५५ देखि ६० प्रतिशत मत खसेको जनाएको छ । रुपन्देही, भक्तपुर, नवलपरासी, मुस्ताङ, अर्घाखाँची दाङ, हुम्ला, मुगुमा, बर्दिया, बाँकेलगायतका स्थानमा भने ६० देखि ७० प्रतिशत मतदान भएको आयोगले जनाएको छ। कुनै स्थानहरुमा अवरोध भए पनि मुलुकको अधिकांश भागमा शान्तिपूर्ण निर्वाचन भएको आयोगले जनाएको छ। आयोगले प्रारम्भीक चरणमा देशभरीमा ३३ वटा स्थानमा मतदान स्थगीत भएको जानकारी दिए पनि यसको पूर्ण विवरण दिइसकेको छैन । मतदान प्रक्रिया रद्द भएका केही निर्वाचन क्षेत्रमा अर्को मतदानको कार्यक्रम भने आयोगले अझैसम्म तय गरिसकेको छैन ।
यसैबीच गृहमन्त्रालयले मुलुकभरी उत्साहजनक रुपमा मतदान भएको जनाएको छ । मन्त्रालयले झडप भएका केही जिल्लाहरुमा थप सुरक्षकर्मी परिचालन गरेर शान्ति सुरक्षाको अवस्था मजबुद बनाएको जनाएको छ। मन्त्रालयका प्रवक्ता मोदराज डोटेलले २१ स्थानमा निर्वाचन स्थगीत भएको प्रारम्भिक अनुमान गरेको जनाएको छ। महोत्तरीमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको र सुनसरीमा झडपमा परी एकजनाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । छिटफुट घटना बाहेक मुलुक भर उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यसैबीच नेकपा माओवादीले निर्वाचन सफल भएको र सहभागि सम्पूर्ण नेपालीमा धन्यवाद दिएको छ ।

No comments: