Tuesday, July 22, 2008

प्रथम राष्ट्रपतिमा डा. यादव बिजय र माओबादीलाई राजनैतिक सबक

डा. रामवरण यादव नेपालको पहिलो राष्ट्रपतिमा निर्वाचित भएका छन् । जेठ १५ गते संविधानसभाको पहिलो बैठकले गणतन्त्र कार्यन्वयन घोषणा गरेपछि राष्ट्रपति निर्वाचनको प्रक्रिया औपचारिकरुपमा अघि बढेको हो तथा साउन ४ गतेको राष्ट्रपति र उप राष्ट्रपतिको चुनावमा राष्ट्रपतिका कुनै उमेदवारले जित्न आवश्यक २९८ मत ल्याउन नसकेपछि आज साउन ६ गते दोश्रो चरणको चुनाव भएको हो । राष्ट्रपतिमा बिजयी यादवले ३०८ मत ल्याए भने अर्का उमेदवार रामराजाप्रसाद सिंहले २८२ मत पाए ।
धनुषा जिल्ला सपहीका ६१ वर्षीय यादवले माओवादी, तराई मधेस लोकतान्त्रिक पार्टी र सदभावना गठवन्धनका रामराजाप्रसाद सिंहलाई पराजित गरेका हुन् । यादवलाई नेपाली कांग्रेस, एमाले र मधेसी जनअधिकार फोरमसहित साना दलको समर्थन प्राप्त थियो । यादव अहिले पनि नेपाली कांग्रेसका महामन्त्री हुन् ।
२०१७ सालको बिद्यार्थी आन्दोलनमार्फत नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका यादवले चिकित्सा क्षेत्रमा एम डी गरेका छन् । २०४६ को जनआन्दोलनले सफलता पाउनुअघि सम्म यादव जनकपुरमै चिकित्सा पेसामा थिए । त्यसपछि पहिलो आम निर्वाचनमा उनी धनुषा क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भए तथा नेपाली कांग्रेसको सरकारमा स्वास्थ्य राज्य मन्त्रीको जिम्मेवारी पाए । मधेसी मूलको भए पनि यादवले मधेसवादी दलहरुको प्रमुख माग एक मधेस प्रदेशप्रति सार्वजनिकरुपमै असहमति प्रकट गर्दै आएका छन् । यादवलाई नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निकट तथा बिश्वासपात्र मानिन्छ ।
यसैगरी , नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले राष्ट्रपतिमा डा. रामवरण यादवको बिजय माओवादीको हिंशा र छलछामको राजनीतिलाई झापड भएको बताएका छन् । नेपाली कांग्रेसका स्वर्गीय नेता बिपी कोइरालाको २६ औं स्मृति दिवसको अवशरमा राजधानीमा साउन ६ गते कांग्रेसम्बद्ध नेपाल बिद्यार्थी संघले आयोजना गरेको बिचार गोष्ठीमा बोल्दै पौडेलले सहमतिको साटो छलछामको राजनीतिक गर्ने माओवादी नेतृत्वले राष्ट्रपति चुनावको परिणामबाट पछुताउनु परेको उल्लेख गरे । उनले यादवको बिजय नेपाली कांग्रेको मात्र नभएर सम्पूर्ण लोकतन्त्रवादीको बिजय भएको बताए ।
राष्ट्रपतिको चुनावमा आफ्नो उमेदवार हारे पनि माओवादी बिचलित र हतास बन्नु नहुने भन्न भने नेपाली कांग्रेसका उपसभापति पौडेलले बिर्सिएनन् । मुलुकमा अझै सहमतिको राजनीति आवश्यक रहेको उल्लेख गर्दै पौडेलले १२ बुँदे समझदारीदेखिको राजनीतिक दलहरुको सहयात्र टुटाउनु नहुने तथा नटुट्ने धारणा राखे । 'हाम्रो लोकतान्त्रिक समिकरणले माओवादीलाई पनि सरकारमा ल्याउनेछ तथा माओवादी पनि सरकारमा आउनुपर्छ' पौडेलले भने ।
कार्यक्रमका अर्का वक्ता नेपाली कांग्रेसका सहमहामन्त्री अर्जुननरसिंह केसीले १२ बुँदे समझदारी निर्माणमा महत्वपूर्ण भूमिका रहेका आफ्नो पार्टीका सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पाखा पारेर रवर स्ट्याम्प राष्ट्रपति बनाउन खोजेकाले माओवादी पराजित भएको उल्लेख गरे । आफूले मधेसी जनअधिकार फोरमसँग समिकरण गर्दा प्राकृतिक हुने तथा अरुले गर्दा अप्राकृतिक हुने माओवादीको भनाइ अधिनायकवादी बिचार भएको पनि केसीले धारणा राखे । राष्ट्रपति र उप राष्ट्रपति चुनावमा पराजित भए पनि माओवादी नेतृत्वलाई निरास नहुन पनि केसीले सल्लाहा दिए ।

No comments: