Wednesday, July 9, 2008

शैक्षिक जमिन्दार

– महेश्वर श्रेष्ठ

संधै हँसिलो र फूर्तिलो देखिने सुमन (नाम परिवर्तित) १२–१५ दिनदेखि मलीन अनुहार लिएर हिंडिरहेको देखेर एक दिन पंक्तिकारले सोध्यो, “बाबु, के छ हाल खबर ? आजकाल तिमी निकै गम्भीर देखिन्छौ । सञ्चै त छौ ?” जवाफमा सुमनले भन्यो, “सन्चै छु


अंकल । मलाई केहि पनि भएको छैन ।” “त्यस्तो फूर्तिलो हँसिलो मान्छे । कतै ट्राजेडी स्राजेडी त परेन ?” पंक्तिकारले ठट्टा गर्दै सोध्यो । उसले पनि फिसिक्क हाँस्दै भन्यो, “होइन अंकल, त्यस्तो केहि भएको छैन । सब ठीक ठाक छ ।” “ होइन, तिमीलाई पक्कै केहि भएको छ । अन्यथा यस्तो मलीन अनुहार किन ?” “अरु खास केहि होइन अंकल, परीक्षा बिग्रेकोले दिक्क लागेको मात्र हो ।” उसले बल्ल मुख खोल्यो ।

संधै उच्च प्रथम श्रेणीमा उत्तीर्ण हुने सुमन यस पाली परीक्षामा अनुत्तीर्ण भएको थाहा पाउँदा पंक्तिकारलाई पनि निकै नमीठो लाग्यो । उसले सुमनलाई सान्त्वना, सल्लाह र हौसला दिंदै भन्यो, “ए ! कुरा त्यसो पो रहेछ । तर बाबु, एक पटक परीक्षा बिगर्‍यो भन्दैमा हरेस खानु हुन्न क्या ! घोडा छढ्ने मान्छे कहिले काहिं लड्छ पनि । कहिले काहिं घोडाबाट लड्यो अथवा परीक्षा बिगर्‍यो भन्दैमा निरास हुनु हुँदैन । अलि बढी मेहनत गर्नू, अर्को पटक सफल भई हालिन्छ नि । लौ, आगामी परीक्षाका लागि अहिल्यै टुप्पी कसेर लाग्नू । सफलता तिम्रो अगाडि आफै हाजीर हुन आउँछ ।” “अंकलले भन्नु भएको कुरा ठीकै हो” प्रतिकृयामा उसले भन्यो, “तर .......... ”

भएको के रहेछ भने सुमन लगायत ४२ जना विद्यार्थीहरुले राजधानी काठमाडौंको एउटा नाम चलेको प्राइभेट कलेजमा पढेर त्रिभुवन विश्वविद्यालयको स्नातक तह पहिलो वर्षको परीक्षा दिएकोमा २ जना मात्र पास भएका रहेछन् । पास हुनेहरुमा चीट चोरेरै १२ कक्षा पास गरेर आएको भनी हाकाहाकी सबैलाई भन्दै हिंड्ने, राम्ररी नपढ्ने, कलेजका केटी विद्यार्थीहरुलाई जिस्क्याउँदै दादागिरी गर्दै हिंड्ने र क्लास टेष्टमा कहिल्यै पास नहुने एकजना र कक्षामा प्राध्यापकले पढाएको बुझ्न नसकेर यो बुझाइदिनु पर्‍यो, त्यो बुझाइदिनु पर्‍यो भनी सुमनलाई हैरान गर्ने अर्को एकजना हरिलट्ठक रहेछन्। यसले सुमनको मनमा गहीरो चोट परेको रहेछ।

केहि दिन पछि मार्कशिट आउँदा परीक्षामा सबै विषयमा जाँच दिएको, कुनै नाजायज हर्कत नगरेको र निष्काशन नै नगरिएको एकजना सोझो विद्यार्थीलाई “निष्काशन गरिएको” भनी जनाइएको रहेछ । दुई विषय ड्रप गरेको अर्को एकजना कमजोर विद्यार्थीलाई अनुत्तीर्ण घोषित गरिए तापनि सबै विषयमा जाँच दिएको भनी जनाइएको र जाँच नदिएको विषयमा समेत नम्बर दिइएको रहेछ । त्रिभुवन विश्वविद्यालयको यस प्रकारको गंजेडी परीक्षाफलले उक्त कलेजका सम्पूर्ण विद्यार्थीहरु र कलेज व्यवस्थापन सतब्ध र क्षुब्ध छन् भने सुमन जस्ता जेहेन्दार विद्यार्थीहरु मर्माहत र विक्षिप्त भएका छन् । तर यस बारे फिराद गर्ने ठाउँ कहिं छैन।

“आफूसंगै १२ कक्षा पास गरेका साथीहरु मध्ये कोहि अष्ट्रेलिया गए, कोहि बेलायत गए । कोसिस गरेको भए म पनि जान सक्थें । पढाईको नाममा देश छोडेर जान्न भनेर बसेको, आज यस्तो स्थिति भोग्नु पर्‍यो ।” सुमनले उच्च शिक्षाका लागि विदेश नगएकोमा पश्चाताप गर्दै दुखेसो पोख्यो । उच्च शिक्षाका लागि विदेशिएका विद्यार्थीहरुलाई हामी पढ्ने नाउँमा भाँडा माझेर डलर कमाउन गएको भनी आलोचना गछौं । तर विदेशिने सबै विद्यार्थी मात्र भाँडा माझेर डलर कमाउन गएका होइनन्, त्रिभुवन विश्वविद्यालयको परीक्षा सम्बन्धि बहुलट्ठी रवैयाबाट तर्सेर पनि गएका रहेछन् भन्ने कुरा सुमन र सुमन जस्ता हजारौं विद्यार्थी माथि पर्ने बज्रपातबाट पुष्टि हुन्छ ।

प्राइभेट कलेजहरुले सम्बन्धन प्राप्त गर्दा प्रत्येक संकायको प्रत्येक तहको लागि त्रिविलाई लगभग तीन लाख रुपिया सेवाशुल्क बुझाउनु पर्छ । बेलाबखत पाठ्यक्रम परिवर्तन गर्नु र परीक्षा संचालन गर्नु बाहेक प्राइभेट कलेजमा पढ्ने विद्यार्थीहरुप्रति उसको कुनै जिम्मेवारी छैन । तर ति विद्यार्थीहरुले तिर्ने १२ महिनाको शुल्कबाट एक महिनाको शुल्क बराबर रकम उसलाई वार्षिक सम्बन्धन शुल्क भनी बुझाउनु पर्छ । उसले संचालन गर्ने परीक्षाका लागि प्राइभेट कलेज तथा अन्य सस्थाहरुले परीक्षा हल र अन्य भौतिक सुविधा निशुल्क उपलब्ध गराउनु पर्छ । तर सम्पूर्ण परीक्षा शुल्क उ एक्लैले मुठ्याउँछ । कुनै पनि परीक्षाको परीक्षाफल प्रकाशित गर्न उसले झडै वर्ष दिन लगाउँछ । तर परीक्षाफलको रुप र रंग कस्तो हुन्छ, माथि उल्लेखित सुमनहरुको पीडाबाटै प्रष्ट हुन्छ ।

मोहीबाट लगान उठाउनु परम्परागत जमिन्दारी हो । आधुनिक युगमा जमिन्दारी भनेको जमिनसंग मात्र सम्बन्धित रहेनछ। यस अर्थमा यो पंक्तिकार त्रिभुवन विश्वविद्यालयलाई पनि एउटा ठूलै शैक्षिक जमिन्दार हो भनी मान्दछ। अस्तु ।

ललितपुर, २००८ जुलाई ०८

No comments: