Tuesday, July 8, 2008

मुस्लिम सभासद्द्वारा आन्दोलन घोषणा

काठमाडौं । मधेसवादी दलहरूले नयाँ नयाँ माग तेर्स्याएर संविधानसभा अवरुद्ध पारिरहेको अवस्थामा मुस्लिम समुदायबाट संसद्मा प्रतिनिधित्व गर्ने सभासद्हरूले अर्को पनि मागहरू थपेका छन् ।
मुस्लिम समुदायको पहिचानसहितको व्यवस्था अन्तरिम संविधानमा राख्नुपर्ने माग भन्दै माग पूरा नभए आन्दोलन गर्ने जनाएका छन् । मधेसी जनअधिकार फोरमका सभासद्ले मुस्लिम समूदाय मधेसभित्रकै समूदाय हो भन्ने जिकिर गर्दै त्यसलाई अल्पसंख्यक जातिका रूपमा संविधानमा समावेश गरिनुपर्ने माग अघि सारेका छन् ।
संविधानसभामा विभिन्न दलबाट १७ जना मुस्लिम सभासद्हरू रहेका छन् । मुस्लिम समूदायबाट फोरमका ५ एमालेका चार माओवादीका तीन कांग्रेसका २, तमलोपा, राप्रपा र स्वतन्त्रका एकएक सभासद रहेका छन् ।
अन्तरिम संविधानको पाँचौं संशोधनमा मुस्लिमलाई सुचिकृत गर्नुपर्ने उनीहरूको माग रहेको छ । अन्तरिम संविधानले मुस्लिमलाई मधेसीभित्र राख्दै मुस्लिमको पहिचान अस्वीकार गरेकाले आन्दोलन गर्नुपरेको दाबी गरेका छन् । एमालेका सभासद् रिजवान अन्सारीले आफ्नो समूदायको माग पूरा नगरे संसद् चल्न नदिने धम्कीसमेत दिएका छन् । आफ्नो समूदायको पहिचान नगरिए आदिवासी जनजाति, धिमाल, थारु, ताजपुरिया, मेचे, कोचे र राजवंशी समूदाय हतियारसहित आन्दोलन गर्ने माओवादी सभासद् भीष्म धिमालले बताए । उता, थारुहरूको एक मधेस एक प्रदेशको विरुद्धमा आन्दोलन जारी रहेको छ ।
हिजो राजधानीलगायत २४ वटा जिल्लामा थारुसहित २२ वटा आदिवासीहरूले संविधान जलाएका छन् । संविधानमा बहुप्रदेश नलेखिएसम्म आन्दोलन जारी रहने थारु कल्याणकारीसभाका महामन्त्री राजकुमार लेखीले बताए । थारु कल्याणकारी सभाले आन्दोलनका कार्यक्रमहरू राख्दै २६ असारमा झापादेखि कन्चनपुरदेखि झापासम्मको तर्राई क्षेत्र बन्दको घोषणा गरेका छन्

No comments: