Thursday, February 28, 2008

सरकार र मोर्चा बीच आठ बुंदे सहमति, बन्दका सबै कार्यक्रम फिर्ता


लामो अन्यौलतापछि सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चाबीच ८ बुंदे सहमति भएको छ । लामो गृहकार्यपछि दुइ पक्षबीच सहमतिको टुंगो लागेको मोर्चाका नेता सर्वेन्द्रनाथ शुक्लाले बताउनुभयो ।शुक्लाले भन्नुभयो सरकार र मोर्चाबीच ८ बुंदे सहमति भएको छ ।
सहमतिपत्रमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मोर्चाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवले हस्ताक्षर गर्दैहुनुहुन्छ । सहमितलगत्तै मोर्चाले १६ दिनदेखि आव्हान गरेको आमहडताल फिर्ता लिएको छ । सहमतिअनुसार स्वायत्त प्रदेशसहितको संघीय संरचना लागू गरिने र प्रदेशहरुको बांडफांड संविधान सभाले गर्नेछ । सेनामा भर्नाछनोट गर्दा मधेशी, दलित, आदिवासी जनजातिलगायतलाई समावेशीका आधारमा प्रवेश गराइने सहमति बनेको छ ।
यसअघि मधेशी नेताहरुले सामूहिक प्रवेशको माग गर्दै आएका थिए । मधेश आन्दोलनमा मारिएकालाई सहिद घोषणा गरी राहतस्वरुप रु १० लाख दिने, आन्दोलनकारीमाथि लगाइएको मुद्या फिर्ता लिने, मधेशलगायत मुलुकका विभिन्न स्थानमा हिंसात्मक गतिविधि गरिरहेका राजनीतिक समूहलाई वार्तामा बोलाउने सहमतिको बुंदामा उल्लेख छ ।
निर्वाचन २८ चैतमै सम्पन्न गर्नेमा मोर्चा पनि सहमत भएको छ । निर्वाचन कार्यक्रममा सहभागी नभएकाका लागि बन्दसूची पेश गर्ने म्याद थप्न निर्वाचन आयोगलाई आग्रह गर्ने सहमति भएको छ । जसअनुसार १८ फागुनमा दल दर्ता र बन्दसूची पेश गर्ने कार्यक्रम र २१ गते प्रत्यक्ष निर्वाचन प्रणालीमा सहभागी हुनेका लागि उम्मेदवार मनोनयनपत्र दर्ताको समय तोकिएको छ ।

No comments: