Saturday, February 23, 2008

सात दलले निर्वाचन गराउलान् त? राजा ज्ञानेन्द्र

वर्तमान राजनीतिक तरलतालाई लिएर केही दिनयता विभिन्न माध्यमबाट आफ्नो धारणा सार्वजनिक गर्न थालेका राजा ज्ञानेन्द्रले एक कार्यक्रममा संविधानसभा निर्वाचन तोकिएकै मितिमा हुने संभावनाप्रति शंका प्रकट गरेका छन्। नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ८४ औं जन्मोत्सवका अवसरमा होटल हिमालयमा आयोजित कार्यक्रममा पुगेका राजा ज्ञानेन्द्रले नेता भट्टराईसँग जिज्ञासा राखे, 'सात दलले तोकेकै मितिमा संविधानसभाको निर्वाचन होला त? दलहरुले निर्वाचन फत्ते गर्लान् त?' रानी कोमल र काठमाडौं महानगरपालिकाका पूर्व मेयर एवं कांग्रेस नेता पीएल सिंहसमेतको उपस्थितिमा भएको सो भेटघाटमा राजाको जिज्ञासाप्रति भट्टराईको जवाफ थियो, 'सरकार, निर्वाचनबारे मलाई केही नसोध्नुहोस्। त्यसमा मलाई खासै सरोकार छैन। म त यहाँ बर्थ डे मनाउन आएको।' यो सुनेर राजा मुसुक्क हाँसे। एकक्षणपछि भट्टराई आफैले भने, 'सरकारले जिज्ञासा राखिसकेपछि मैले केही भन्नैपर्छ। निर्वाचन होला, नहोला त्यो अर्कै कुरो हो। यदि निर्वाचन भएछ भने पनि नेपालको राजसंस्था रहिरहनेछ।' सँगै रहेका पीएल सिंहतर्फ हेर्दै भट्टराईले भने, 'कसो पीएल? मैले भनेको ठीक छ हैन त?' पीएलले मुन्टो हल्लाएर भट्टराईको कुरो मनासिबै भएको जनाउ दिए। सोही भेटका क्रममा राजाले पीएललाई 'तपाईं चुनाव नलड्ने?' भनेर जिज्ञासा राख्दा पीएलको जवाफ थियो, 'नलड्ने सरकार, मलाई चुनाव लड्ने चाहना छैन।' आफूले स्थापना गरेको पार्टी नेपाली काँग्रेसले 'मध्यमार्ग छाडेर गणतन्त्रमा जाने निर्णय गरेपछि' पार्टीको साधारण सदस्यताबाटै राजीनामा दिएर संवैधानिक राजतन्त्रको औचित्यको पक्षमा अडिग रहेका भट्टराई केही महिनाअघि हृदयघातले पीडित युवराज पारसलाई भेटन नर्भिक अस्पताल पुगेका थिए। राजपरिवारप्रति भट्टराईको सोही लगावको गुन तिर्नकै लागि राजा ज्ञानेन्द्र बिहान सबैभन्दा पहिले करिब १२ बजे बर्थ डे पार्टीमा पुगेका थिए।
राजा आउने भएकाले पत्रकारलाई प्रवेश निषेध गरिएको थियो। होटल हिमालय परिसरमा छेउ लागेका पत्रकारले राजा दौरा सुरुवालमा सजिएर निकै हँसिलो मुद्रामा आएको देखेका थिए। केही सीमित प्रत्यक्षदर्शीका अनुसार राजारानी सोझै भट्टराई बसेको ठाउँमा पुगेका थिए। 'ह्याप्पी बर्थ डे भट्टराई', राजदम्पतीले एउटै स्वरमा भने। भट्टराईले राजाको आगमनप्रति आफू निकै खुसी भएको बताउँदै भने, 'म निकै खुसी छु। म ८४ वर्ष पुगेकोमा मलाई शुभकामना दिन सरकारहरुको सवारी भयो, आई एम ह्याप्पी।' राजाले सो अवसरमा भट्टराईको स्वास्थ्यस्थितिका बारेमा पनि जिज्ञासा राखेका थिए। 'आई एम पर्फेक्ट, कम्प्लिट हेल्दी सरकार।', भट्टराईको भनाइ थियो। राजकीय सत्ता गुमाएर नारायणहिटी दरबारमा एकलास जिन्दगी बिताइरहेका राजा ज्ञानेन्द्र र राजनीतिक एवं शासकीय सत्ताको मोह त्यागेर भैंसेपाटीमा मौन जीवन बिताइरहेका भट्टराईबीच राजनीतिक विषयमा भलाकुसारी सुरु भयो। राजाले जिज्ञासा राखे, 'राजनीति कस्तो छ अहिले?' भट्टराईले भने, 'सब गडबड छ सरकार, जताततै हाहाकार छ। माओवादीलाई ल्याएर शान्ति हुन्छ भनेको, झन अशान्ति भइराख्या'छ सरकार।' राजाले आफ्नै भावभंगिमामा मुन्टो हल्लाए। पुनः भट्टराईले भने, 'तर म आशावादी छु सरकार, समाधान हुन्छ। राजतन्त्र पनि जाँदैन। नेपालमा राजसंस्था युगौं युगसम्म रहनुपर्छ भन्ने मेरो चाहना हो। राजसंस्थाले नै नेपालमा राष्ट्रिय एकता र अखण्डताको रक्षा गर्छ भन्ने धेरै नेपालीको विश्वास छ सरकार।' आधा घण्टा लामो भेटघाटमा राजा र भट्टराईबीच हँसीठट्टासमेत भएको प्रत्यक्षदर्शी बताउँछन्। सो भेटमा पूर्व मन्त्री एवं भट्टराईका विश्वासपात्र शरद्सिंह भण्डारीको समेत उपस्थिति हुने कार्यक्रम रहे पनि राजाको आगमन हुनासाथ भण्डारी त्यहाँबाट केही क्षण अलप भएका थिए। राजारानीको प्रस्थानलगत्तै उत्तिकै हँसिलो मुद्रामा युवराज पारस र युवराज्ञी हिमानीको आगमन भएको थियो। पारस र हिमानी दुवैले भट्टराईलाई शुभकामना दिएका थिए। केही क्षणको भेटमा युवराजले भट्टराईसँग राजनीतिक चासो पनि राखेका थिए। 'सबै ठीक ठाक हुन्छ, सरकारले चिन्ता लिनै पर्दैन। डन्ट वरी, बि हयाप्पी।', भट्टराईको सान्त्वना थियो। 'हर्टको प्रोब्लम कस्तो छ?' भट्टराईको यो जिज्ञासामा पारसको जवाफ थियो, 'इट्स नर्मल।'
राजपरिवारहरुको फिर्तीपछि मात्र पत्रकारलाई प्रवेश खुला गरियो। त्यसपछि सभामुख सुवास नेम्वाङ आएर भट्टराईलाई सुभकामना दिए। सभामुख फर्किएपछि पूर्व प्रधानमन्त्रीहरु मरिचमान सिंह, कीर्तिनिधि बिष्ट र लोकेन्द्रबहादुर चन्दको लर्को लाग्यो। चारै जना पूर्व प्रधानमन्त्रीबीच राजनीतिक गफ, ठट्टा र मजाक चल्यो। केहीबेरपछि राप्रपा अध्यक्ष पशुपतिसमशेर राणाको पनि उपस्थिति भयो। कूटनीतिज्ञ, पत्रकार र राजनीतिक कार्यकर्ताहरुको उपस्थिति रहेकेा सो कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु पनि पुगेका थिए। प्रहरी महानिरीक्षक ओमविक्रम राणाले पनि त्यहाँ पुगेर भट्टराईलाई शुभकामना दिएका थिए। शुभकामना दिन पुगेकी परराष्ट्रमन्त्री सहाना प्रधानलाई भट्टराईले जिस्क्याउँदै भनेका थिए, 'तपाईं त प्रधानमन्त्री हुने हाइटको मान्छे, कहाँ मन्त्रीमा चित्त बुझाएको? सुहाएन है। प्रथम महिला प्रधानमन्त्री तपाईं नै बन्नुपर्छ।'
संयुक्त राष्ट्रसंघीय मिसन अनमिनका प्रमुख इयान मार्टिनले भट्टराईलाई अंकमाल गर्दै 'हयाप्पी बर्थ डे टु मिस्टर भट्टराई' भन्दा त्यहाँ हाँसो गुञ्जायमन भएको थियो। सो कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल पनि पुग्नुभएको थियो। महत्वपूर्ण पाहुनाहरु प्रायः फर्किसकेपछि त्यहाँ पुगेका थिए– एमाले महासचिव माधवकुमार नेपाल। नेपाललाई देखेर भट्टराईमा आश्चर्यमिश्रित खुसी छाएको थियो। 'अरे माधवजी, तपाईं पनि आइपुग्नुभयो? मलाई त आउनुहुन्न कि भन्ने लागेको थियो।' नेपालको भनाइ थियो, 'दुई वर्षसम्म तपाईंसँग भेट भएको थिएन, त्यसैले यही मौकामा शुभकामना पनि दिउँ, भेटघाट पनि गरौं भनेर आएको किसुनजी।' 'राजा आएको कार्यक्रममा किन आएको?', पत्रकारहरुले माधव नेपाललाई सोधे। नेपालले भने, 'हो र? राजा पनि आएका रै'छन? मलाई त थाहै भएन।' कार्यक्रमबाट फर्कने बेलामा भट्टराईले यस प्रतिनिधिसँग केहीबेर कुराकानी गरेका थिए। 'चुनाव होला त किसुनजी?' भनेर सोध्दा भट्टराईको जवाफ थियो, 'मलाई चुनाव र राजा दुवैका बारेमा सोध्नोस्।' राजाको भविष्य कस्तो छ त? भनेर सोध्दा भट्टराईले भन्नुभयो, 'नेपालमा राजसंस्थाको भविष्य उज्ज्वल छ। राजसंस्था अझै तीन सय वर्षसम्म टिक्छ, टिक्नुपर्छ। राजसंस्थाको आयु लामो छ। राजसंस्थाले नै नेपाललाई एकबद्ध बनाउँछ। कसैले राजसंस्था हटाउँछु भनेर लागेको छ भने ऊ मूर्ख हो। राजसंस्थालाई कसैले हटाउन सक्नेछैन।' हिजोको कार्यक्रममा राजाको आगमन हुने भएर होला, भट्टराईले नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुका लागि भने बुधवार भैसेपाटीस्थित आफ्नै निवासमा जन्मोत्सव कार्यक्रम राखेका थिए। बुधबार काँग्रेस सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोईराला भैंसेपाटी पुग्दा कार्यकर्तामा उत्साह छाएको थियो। कोइरालाले भट्टराईलाई अंकमाल गरेर शुभकामना प्रकट गरेका थिए। 'तपाईं लामो समय बाँच्नुपर्छ। तपाईंको दीर्घायुको कामना गर्छु।', कोइरालाको भनाइ थियो। दुवै नेताबीच राजनीतिक भलाकुसारी पनि भएको थियो। कोइरालाले संविधानसभाको विषयमा कुरा राखेका थिए भने भट्टराईले राजतन्त्रको औचित्यका बारेमा कुरा राखेका थिए। 'म फेरि आउँछु अनि कुरा गरौंला किसुनजी' भन्दै कोइराला फर्केका थिए। ऋषि धमला विमर्श साप्ताहिक

No comments: