Wednesday, February 6, 2008

वर्ष पुरुष २००७ का रुसी राष्ट्रपति

भ्लादिमिर भ्लादिमिरोभिच पुटिनको दैनिक खान्की हो- रोटीका केही टुक्रा । उनी कुनै प्रोटोकलको टोस्टमा मात्रै वाइन सुरुप्प पार्छन् । प्रत्येक बिहान एक घन्टाभन्दा बढी स्विमिङ पुलमा हेलिन्छन् । ब्राहम, मोजार्ट र सइकोभोस्कीका क्लासिकल कम्पोजिसन सुन्छन् । बिटल्सको 'यस्टरडे' गीत उनको ज्यान हो, सबैभन्दा मनपर्दो ।'टाइम' पत्रिकाको वर्षपुरुष बनेपछि ५५ वर्षीय रुसी राष्ट्रपति पुटिनका थुप्रै आनीबानी बाहिर आएका छन् । 'यी चानचुने राजनीतिज्ञ होइनन्,' टाइमको पछिल्लो संस्करणमा उल्लेख छ- 'उनले आफ्नो मुलुकलाई दृढ र स्थिर तुल्याएका छन् । रुसबाहिर पनि उनको आवाज सुन्न थालिएको छ ।' यहा पुटिनका केहि रोचक प्रसंगलाइ प्रस्तुत गर्न खोजीएको छ ।
पुटिन बाइबलका भक्त हुन् , उनी निजी विमानमा पनि उक्त धार्मिक ग्रन्थ साथै राख्छन् । बोली र सन्देशमा एकदमै नियन्त्रित उनले जीवनमै कसैलाई इमेल लेखेका छैनन्, किनभने उनीसग इमेल-आईडी छैन, न व्यक्तिगत टेलिफोन छ । उनी राजनीतिमा चतुर पनि छन् । जस्तो- सोभियत संघलाई जनइच्छा बमोजिम टुक्रयाउने अघिल्ला राष्ट्रपति मिखाइल गोर्वाचोभ र बोरिस येल्त्सिनको पनि उनी खुलेर प्रशंसा गरिरहेका हुन्छन् ।
विश्वकै महाशक्ति र पुजीवादी साम्राज्य बनेको अमेरिकासग भने पुटिनको केही 'चिसो' थियो । अमेरिका रुसलाई जहिल्यै पनि 'कुनै पार्टीमा ननिम्त्याईकन आएको एक पात्र' का रूपमा लिने गरेको भन्ने उनको बुझाइ छ । 'हामी अमेरिकाको साथी बन्न चाहन्छौं,' उनी भन्छन्- 'तर कहिलेकाही के लाग्छ भने अमेरिकालाई कोही साथी नै चाहिदैन । रुसबारे अमेरिकी भ्रमपुर्ण धारणा उनी सच्याउन चाहन्छन । यस सम्बन्धमा पुटिन भन्छन् - यी धारणा भ्रमपुर्ण हुन् भन्ने मलाई लाग्दैन । रुसको छविलाई भित्री-बाहिरी रूपमा तल झार्न नियतवशै अपनाइएको उपाय हो । हरेकलाई के विश्वास दिलाउन खोजिएको छ भने रुसीहरूमा अझै अलिअलि जंगली स्वभाव छ जो भर्खरै कुनै रूखबाट उत्रेका छ र तिनका दार्‍ही र कपालको फोहोर पुछिनै बाकी छ ।'
हाल पुटिनको आठौ वर्षको राष्ट्रपतिकालको समीक्षा भइरहेको छ । उनले सोभियत संघ विघटनपछि पहिलोपटक देशको आर्थिक विकासमा उल्लेखनीय प्रगति गराउन सफल भएका छन । १९९१ मा भएको सोभियत संघको विघटनबाट उत्पन्न आर्थिक, सामाजिक संकटबाट जोगाउन सफल भए । हाल रुसको आर्थिक वृद्धिदर वार्षिक ७% ले वृद्धि हुदै गईरहेको, दुई खर्ब अमेरिकी डलरको वैदेशिक ऋण पनि चुक्ता गर्न सफल तथा BRICs अन्तर्गतको महत्वपुर्ण देशको रुपमा संसारको ठुलो आर्थिक बजारको रुपमा चिनाउन सफल भएका छन । हाल रुसमा पुटिनको लोकप्रियता ७०% भन्दा माथि रहेको जनाईएको छ । यसै सन्दर्भमा पुटिनका बारेमा केहि रोचक तथ्यहरु पनि प्रकाशमा आएका छन ।
पुटिन हास्यविधामा निपुण तर हास्यरसविहीन छन । टाइमका संवाददाताहरूले आफूसग गरेका कतिपय विनोदी कुराको पनि उनले भेउ पाउन सकेनन् । अमेरिकाका पुर्वविदेशमन्त्री हेनरी किसिन्जर भन्छन्- "पुटिन व्यक्तिगत आकर्षणमा विश्वास राख्ने मान्छे होइनन् । उनी एकान्तिकता, राम्रो बौद्धिकता, विषयगत पहुच र रुसी राष्ट्रवादले भरिएका व्यक्ति हुन् ।'
उनी भाग्यले पुटिन बनेका होइनन् । यसमा निरन्तर संर्घषको कथा छ । सेन्ट पिर्टसबर्गको पुरानो घरमा आइरहने मुसा खेदाउदै उनी स्कुल जान्थे । उनका हजुरबा लेनिन र स्टालिनका भान्से थिए । त्यस बेलासम्म भान्से बाजेले आफ्ना सन्तानका लागि कुनै उज्यालो ल्याउलान् भन्ने थिएन । पुटिन आफूलाई बाल्यकालको 'दुःखी विद्यार्थी' का रूपमा सम्झन्छन् । किशोर वयमा जुडो र रेस्लिङ सिके पनि पछि जुडोमै तल्लीन रहे । लेनिनग्राद स्टेट युनिभर्सिटीमा उच्च शिक्षा सकिन लाग्दासम्म उनको एउटै इच्छा थियो, जासुसी सेवामा लाग्ने । संयोगवश रक्षा-सुराकीको तालिम पाए र सन् ८० को दशकको नेटो र जर्मन राजनीतिज्ञ- को सुराकीमा पुर्वी जर्मनी पुगे । सन् १९८९ मा बर्लिन पर्खालसगै उनको सुराकी सेवा पनि ढल्यो ।
टिप्पणीकारहरूले भन्ने गरेको 'रुस इतिहासले बाचेको छ, इतिहास पनि रुसमै बन्छ,' दृष्टान्त फेरि पनि प्रमाणका रूपमा देखा परेको छ । टाइमका 'वर्षपुरुष-२००७' पुटिन यसैका प्रमाण हुन् । वर्षुरुषमा उनले अमेरिकाका पुर्वउपराष्ट्रपति अल गोर, ह्यारी पोटर स्रष्टा जेके रोलिङ, चिनिया राष्ट्रपति हु जिन्ताओ र इराक युद्धका अमेरिकी कमान्डर जनरल डेभिड पेट्रायस जस्ताहरुलाई पनि माथ गर्न सफल भएका छन ।

No comments: