Monday, February 25, 2008

बालुवाटारको बैठकमा एसडी मुनी


मधेसवादी नेताहरुसँगको वार्ताको प्रगति र निर्वाचनको तयारी सन्दर्भमा बालुवाटारमा बोलाइएको शीर्ष नेताहरुको बैठक ती विषयमा केन्द्रित नभई भारतका चर्चित वामपन्थी बुद्धिजीवी एसडी मुनीले नेताहरुसँग गरेको गोप्य कुरामा छलफल भई टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारको बैठकको प्रमुख एजेन्डा किन एसडी मुनी बने ? स्वभाभिमानी नेपालीका लागि झन् चासोको विषय बनेको छ।
यही फागुन ५ गते प्रध्यापक लोकराज बराल र कृष्ण हाछेथुको निमन्त्रणामा नेपाल आएका एसडी मुनीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईलगायतका सात पार्टीका नेताहरुसँग भेट गरेका थिए। भेटघाटको व्यवस्था नेपाली कांग्रेसका विधायक एवं एसडी मुनीका चेला अमरेशकुमार सिंहले मिलाएका थिए। शनिबार साँझ बसेको बालुवाटारको उक्त बैठकमा प्रधानमन्त्री कोइराला, एमाले महासचिव माधवकुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्ड, जनमोर्चाका अध्यक्ष अमिक शेरचन, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे संलग्न हुनुहुन्थ्यो। बैठकको प्रारम्भमै प्रधानमन्त्री कोइरालाले– मधेसका आन्दोलनकारी मित्रहरुको सबै माग पूरा गर्न सक्ने अवस्था छैन, त्यस कारण सात पार्टीको अझ विशेष गरी तीनवटा पार्टीको एउटै धारणा र कार्यक्रम बन्न जरुरी देख्छु भन्नुभयो। केही दिनअघि मलाई भेट्न आएका एसडी मुनीले एक मधेस एक प्रदेश को माग पूरा गर्नुभएन भने राजा सक्रिय हुन्छन् र तपाईहरुको शासन सकिन्छ, यो साउथब्लकको पनि एजेण्डा हो भनेर तर्साउने काम गरे। कोइरालाले धाराप्रवाह एसडी मुनीसँगको विवरण सुनाउन थालेपछि अध्यक्ष प्रचण्डले बीचमै आफूसँग पनि एसडी मुनीले यिनै कुरा गरेको बताउनुभयो।
प्रधानमन्त्री कोइराला र प्रचण्डले एसडी मुनीसँगको गोप्य भेटको रहस्य खोलेपछि माधवकुमार नेपालले पनि तिनै कुरा दोहोर्यानएका थिए। नेताहरुको कुरा सुनिसकेपछि सहभागी केही नेताहरुले भारतीय राजदूतसँग भारतको धारणा के हो? सोधेर सार्वजनिक गर्नुपर्ने सुझाब प्रधानमन्त्री कोइरालालाई दिएका थिए, तर प्रधानमन्त्रीले एसडी मुनी भारतको प्रतिनिधित्व गर्छन् भन्ने मलाई लाग्दैन। मधेसका आन्दोलनकारी मित्रहरुको कारणले मात्र पेट्रोलियम पदार्थ, औषधि र खाद्यान्नको अभाव गराइएको हो भन्ने पनि मलाई लाग्दैन भन्दै नेपालमा रहेका सबै राजदूतहरुसँग भेट्दा एसडी मुनीले एक मधेस एक प्रदेश का लागि दिएको दबाबबारे जानकारी दिन नेताहरुलाई सल्लाह दिनुभएको सूत्रको दाबी छ। मधेसवादी आन्दोलनकारी राष्ट्र विखण्डन नगराएसम्म सहमतिमा नआउने संकेत दिनुभएका कोइराला अत्यन्त चिन्तित र आक्रोशित हुनुहुन्थ्यो।
उता एसडी मुनीका चेला एवं माओवादी नेता बाबुराम भट्टराईले गत बिहीबार गोरखाको एउटा कार्यक्रममा भारत पोलिटो मिलिटरी स्टाट्रेजि अफ साउथ को धारणामा गएको बताउनुभएको थियो। अमर ज्योति जनता मावि लुइँटेलद्वारा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले भारतको भित्री योजना के हो, त्यो चाहिँ स्पष्ट पार्नुभएन। साभार: तरुण साप्ताहिक

No comments: