Thursday, February 21, 2008

अजब देशका गजब राष्ट्रपति

प्रचण्डले वर्गीय, राष्ट्रिय भावनालाई सशक्त रुपमा अघि सारेर व्यापक जनतामा शक्तिशाली संगठन पुर्याउन नसक्दा जाति, भाषा, इलाकाजस्ता दोस्रो श्रेणीका कुरालाई प्राथमिकता दिएर जनभावनालई आफ्नो पक्षमा उराल्ने सोच अघि बढाए। त्यसले अल्पशिक्षित जनतामा क्षणिक प्रभाव पार्यो। तर उनको दलका चन्दा, हत्या, अपहरण, आगजनी विध्वंस जस्ता कुराले क्रमशः जनताको भ्रम टुट्दै गयो र सिंगो तराईले माओवादीलाई एकप्रकारले विदावारी गर्यो। तराई, पहाड, हिमाल आदि सबैतिर एमाले, कांग्रेस र अरु दलहरुको आआफ्नो प्रभाव छँदैछ। त्यो रहेसम्म चुनावमा माओवादीले राम्रो परिणाम ल्याउन सक्दैन भन्ने कुरा प्रष्टै छ। त्यसैले माओवादीले वाइसिएल लगाएर अरु दललाई जिल्ला र गाउँहरुमा जान नदिने र कुटपिट गर्ने अभियान चलाएको कुरा पनि छर्लंग्गै छ। संविधानसभा चुनाव नजिक आइपुग्ने बेला अरु दलसितका पुराना सहमति तोडेर समानान्तर सरकारको रुपमा जनपरिषद् ब्यूँताएको यथार्थ सहज रुपमा बुझेका छन्। स्पष्ट छ, यस्ता क्रियाकलापले चुनाव भाँड्न र शान्तिप्रक्रिया बिथोल्न चाहने तत्वहरुलाई नै बल मिल्छ। यदि देशको परिस्थितिलाई यथार्थ रुपले नबुझेर प्रचण्डले वाइसीएललाई यस्तै अराजक रुपमा उन्माद मच्चाइरहन दिने हुन् भने उनले आफ्नो डायरीमा लखेर राखे हुन्छ, त्यसै युवासंस्थाले उनको सम्पूर्ण प्रभाव र राजनीतिक प्रतिष्ठालाई धराशायी पार्नेछ। जहाँसम्म राष्ट्रपति पदको सवाल छ, यस्तो उत्ताउलो प्रचार गरिसकेको हुनाले आफ्नै जनसरकार राष्ट्रपति बनेर चित्त बुझाउनुपर्ने स्थिति देखापर्नेछ। साँच्चै राष्ट्राध्यक्ष बन्न र सिंगो राष्ट्रको मन जित्न सक्नुपर्छ। आफ्ना कार्यकर्ताको मात्र मन जितेर र अरुलाई धम्क्याएर त्यो गौरव कहाँ पाइन्छ? –मोदनाथ प्रश्रित, कान्तिपुर दैनिक

No comments: