Monday, June 2, 2008

पुर्व राजाको नागार्जुनमा बस्ने इच्छा पूरा भएन

काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाहले केही समय नागार्जुनस्थित दरबारमा बस्न दिन गरेको आग्रह सरकारले नमानेपछि अब उनी आफ्नै निजीघर निर्मल निवास जाने भएका छन् ।
गर्मीको मौसममा प्रायः नागार्जुन जंगलभित्रको शितल क्षेत्रमा बसोबास गर्दै आएका ज्ञानेन्द्रले दरबारका प्रतिनिधिमार्फ केही समय बस्ने आग्रह गरेका थिए । नारायणहिटीमा ज्ञानेन्द्रको पाँच पुस्ताको परिवार त्रिभुवन, महेन्द्र, ज्ञानेन्द्र, पारस तथा हृदयेन्द्र अहिले पनि रहेको र उनीहरूलाई 'सेटल' गर्नका निम्ति उनले नागार्जुन दरबारमा केही समय बस्ने सोच बनाएका थिए । तर सरकारले उनको आग्रह अस्वीकार गरेपछि वृद्ध हजुरआमा र आमालाई समेत साथ लिएर नारायणहिटीबाट बाहिरिन लागेका हुन् । त्रिभुवनकी भित्रिया श्रीमती ९१ वर्षीया सरला राज्यलक्ष्मी तथा महेन्द्रकी दोस्रो श्रीमती रत्नराज्य लक्ष्मीसहित परिवारका अन्य सदस्यलाई साथ लिएर निर्मल निवासमा नै बस्ने भए पनि पारिवारिक सदस्य धेरै भएको तथा उनीहरूका सहयोगीसहित अन्य निम्ति सुविधासमेत अपुग भएकाले तत्कालका निम्ति निर्मल निवासमा बसे पनि ज्ञानेन्द्रले जिजुमुमा सरला राज्यलक्ष्मी र मुमा रत्नराज्यलक्ष्मीका निम्ति छुट्टै अर्को व्यवस्था गर्नुपर्ने देखिएको छ ।
चुपचाप नारायणहिटीबाट निस्कन खोजेका पुर्वराजा ज्ञानेन्द्र बाहिर सडकमा भीडभाड भएको खण्डमा रातमा तथा सामान्य रहे दिउँसो नै निस्किने सोच बनाएको स्रोतको दाबी छ । उच्च स्रोतका अनुसार, दरबार छोड्ने बेला ज्ञानेन्द्रले सन्देश दिएर विदा हुने तयारी गरिरहेको बुझिएको छ ।सरकारले शुक्रबार १५ दिन भित्र नारायणहिटी खाली गर्न पत्राचार गरेपछि छिटोभन्दा छिटो नारायणहिटी खाली गर्ने सोच ज्ञानेन्द्रले बनाए पनि सयौं वर्षेखि आफ्नो साइनो गाँसिएको ठाउँसँग चटक्क छोड्न गाह्रो भइरहेको छ भने जीवनभर आफ्नो र आफ्नो परिवारका सदस्यको स्याहारसुसार गर्न बसेका मान्छेहरूलाई कसरी विदा गर्ने भन्ने पिरलोसमेत ज्ञानेन्द्रलाई रहेको बताइएको छ ।यसैबीच, पर्ूवराजा ज्ञानेन्द्र र उनको परिवारका सदस्यको सुरक्षाका निम्ति खटाइएका अंगरक्षकहरूलाई सरकारले आ-आफ्नो प्रधान कार्यालय मार्फ् फिर्ता बोलाएको छ ।
राजाको हैसियतमा उनी र उनका सदस्यका निम्ति नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृत तथा जवान व्यक्तिगत सुरक्षामा बर्दी र सादा पोसाकमा दुई सयजना खटिएका थिए । उनीहरू सबैलाई फिर्ता बोलाइएको तथा दरबारको सुरक्षार्थ खटिएको शाही रक्षक वाहिनीको नाम फेर्न र तत्काल दरबारको सुरक्षाका निम्ति चाहिने फौजबाहेक अरुलाई पनि फिर्ता गर्न आदेश दिएको बुझिएको छ । दरबारको सुरक्षाका निम्ति हाल ३ हजार फौज तैनाथ रहेको छ । अब गृहमन्त्रालयका सहसचिव मोदराज डोटेलको संयोजकत्वमा गठित सुरक्षा व्यवस्था समितिले दरबारलाई चाहिने सुरक्षा जनशक्ति तथा पुर्व राजा ज्ञानेन्द्रको सुरक्षाका निम्ति कस्तो सुरक्षा प्रबन्ध गर्ने भन्ने निर्धारण गर्नेछ ।उता, सातदलीय संयन्त्रको कार्यदलले राजा ज्ञानेन्द्रले दरबार छोडेलगत्तै एक समारोहको आयोजना गरेर दरबारमा झण्डोत्तोलन गर्नुका साथै सलामी दिने सुझाव सरकारलाई दिएको छ ।

No comments: