Wednesday, June 4, 2008

यस्तो छ नारायणहिटी दरबारको कथा

संविधानसभाको पहिलो बैठकले नारायणहिटी दरबारलाई संग्रहालयमा परिणत गर्ने, पूर्व राजा ज्ञानेन्द्रलाई १५ दिनभित्र दरबार छोड्न निर्देशन दिएपश्चात् नारायणहिटी दरबार राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा चर्चाको विषय बनेको छ। गोरखाका राजा पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि शाहवंशीय राजाहरु बस्ने गरेको दरबार भने नारायणहिटी दरबार नभई हनुमान ढोका हो। जंगबहादुर राणाले हनुमान ढोका दरबारमा भारदारहरु डाकेर हत्याकाण्ड गरेपछि सो दरबार शाह राजाहरुलाई कैद गर्ने थलो बन्यो। कोतपर्वमा बस्नेत भारदारहरुको हत्या गरिनुपूर्व नारायणहिटीमा उनीहरु बस्ने गर्दथे। पछि राणा प्रधानमन्त्री रणोद्वीप सिंहले सो दरबारलाई मर्मत गरी त्यहा बस्न थाले। इतिहासविद् बाबुराम आचार्यका अनुसार नारायणहिटी राजदरबारमा दक्षिणतर्फको जुन पुरानो मूल ढोका छ, त्यही नै त्यस समयमा रणोद्वीप सिंहको महलमा प्रवेश गर्ने मूल ढोका थियो। अठ्तीस साल पर्वपछि रणद्वीप शाह प्रधानमन्त्री रणोद्वीप सिंह राणा र कमाण्डार इन चिफ धिरशमशेर राणाले नाबालक राजा पृथ्वीनारायण शाहलाई हनुमान ढोका रहेको राजभवनबाट रणोद्वीप सिंह राणाको सिंहको महलमा परिणत लगेका थिए। त्यसपछि शाह राजाहरु नारायणहिटी दरबारमा बस्न थालेका हुन्। रणोद्वीप सिंह राणाले सो दरबारलाई आधुनिक रुप दिएका हुन्। पछि राजा त्रिभुवनले दरबारभित्र चिडियाखाना, बंगला, स्वीमिङ पुल निर्माण गरे। सो दरबारलाई आधुनिक रुप दिने महेन्द्र र वीरेन्द्र थिए।
नारायणहिटी दरबारमा ०५८ जेठ १९ गते वीरेन्द्रको वंशनाश हुने गरी रक्तरञ्जित हत्याकाण्ड भयो। दुनियाका राजाहरुको इतिहास यस्तै भन्दै संविधानसभाको निर्णय स्वीकार गरी शाहवंशीय राजतन्त्रका अन्तिम राजा बनेका ज्ञानेन्द्र सो हत्याकाण्डबाट आलोचित बने। शाहवंशीय राजतन्त्रको पतन हुनुमा नारायणहिटी हत्याकाण्ड पनि कारक बन्यो। नारायणहिटी दरबारमा महेन्द्र मञ्जिल, रत्नमञ्जिल, त्रिभुवन सदन, नानीगञ्ज सदन, गणेश हिमाल सदन, बम्बई सदन, श्री सदन नाम गरेका भव्य बंगलाहरु रहेका छन्। राज्यको ढुकुटी प्रयोग गरी बनाइएका आलिसान बंगलाहरुले शाह राजाहरुको विलासी जीवनको झझल्को दिन्छ। सो नारायणहिटी दरबारको क्षेत्रफल ७ सय ५५ रोपनी छ। नारायणहिटी दरबारको भव्यता, त्यसभित्र रहेका रहस्यमय चिजहरुबारे प्रेस जगत्, इतिहासकार अनभिज्ञ छन्।
गणतन्त्रको घोषणा भइसकेपछि गृहमन्त्रीको सुरक्षा गार्डलाई रोक्ने सुरक्षासंयन्त्र रहेको नारायणहिटी दरबार सर्वसाधारण, अनुसन्धानकर्ता, अध्येताहरुको पहुचभन्दा टाढा छ। वि.पी. कोइराला समेतलाई तर्साउने किसिमको सुरक्षा संयन्त्र रहेको, सैनिक सचिवालयबाट मुलुकको सेना, प्रहरीलगायतको सुरक्षा संयन्त्र संचालन गर्ने, दरबारभित्र तबेला, हेलिप्याड, अत्याधुनिक हातहतियार रहेको नारायणहिटी दरबार संग्रालयमा परिणत नहुन्जेलसम्म रहस्यको विषय रहनेछ। दरबारका अधिकारी, कर्मचारी, निजी सचिव, सैनिक अधिकारीहरुले समेत निस्पि्कक्रीसग घुम्न सक्ने अवस्था छैन। सोमबार गृहमन्त्री सिटौलाले समेत निस्पि्कक्री साथ घुम्न सकेनन्।
नारायणहिटी दरबारको भव्यतालाई हेर्दा यसको तुलना फ्रान्सका निरंकुश तानाशाह राजाहरु बस्ने दरबार भन्दा कम होला भन्न सकिन्न। फ्रेन्च क्रान्तिको प्रमुख कारण बनेको थियो– राजाहरु बस्ने भर्साइल्सको दरबार। इतिहासकारका शब्दमा भर्साइल्सको दरबार फ्रान्स र युरोपका लागि आश्चर्यको वस्तु थियो र भव्य शिशमहल महान् सम्राटको प्रतीक थियो। भर्साइल्सको दरबारमा १८ हजार मानिस बस्थे, जसमा १६ हजार व्यक्तिहरु राजा र राजपरिवारको सेवा गर्दथे, बाकी दुई हजार दरवारिया थिए। राजा, रानी, राजपरिवार, केटाकेटी, राजाका दाजुभाइ, दिदीबहिनी, काकाकाकी आदिका बेग्लै कोठा थिए। रानीको सेवामा पाच सयजना नोकरचाकर थिए। राजाको तबेलामा १९ सय घोडा र दुई सय बग्गी थिए। यसका लागि ४० लाख डलर खर्च हुन्थ्यो। राजपरिवारले खाना खाने टेबुलको मूल्य त्यतिबेलाको पन्ध्र लाखको थियो। त्यसकारण फ्रान्सेली जनताले भर्साइल्सको दरबारलाई राष्ट्रको चिहान भनेका थिए। अहिलेसम्म बाहिर आएका तथ्यहरुबाट नारायणहिटी दरबार भर्साइल्सको दरबारभन्दा कम छैन। करिब एक हजार जति कोठा, ७५ जिल्लाका नाममा ७५ कोठा, भव्य आलिसान महल, घोडातबेला, बगैंचा, स्वीमिङ पुल, तीन हजार सेना, कर्मचारी, सुसारे, बगैंचाका माली, हेलीप्याड, आलिसान गाडी हेर्दा फ्रान्सको भर्साइल्सको दरबारभन्दा कम छैन। राज्यको ढुकुटीबाट बनेको नारायणहिटी दरबारलाई राष्ट्रको चिहान भन्दा फरक नपर्ला। त्यो पनि फ्रान्सको क्रान्ति सन् १७८९ मा भएको थियो। नेपालमा राजतन्त्रको अन्त्य २००८ मा भएको छ। अझै नारायणहिटी दरबारको भव्यता, विलाशिताबारे तथ्य आउन बाकी छ। साभार: हांक साप्ताहिक

No comments: