Thursday, June 12, 2008

खोटाङमा प्रहरी माथि आक्रमण, आठ जना संपर्क बाहिर

खोटाङको बिसुघाट मेला सुरक्षार्थ खटिएको प्रहरी-टोलीमाथि मंगलबार अज्ञात समूहले आक्रमण गरेको छ । आक्रमणबाट तीन प्रहरी घाइते भएका छन् भने आठजना सम्पर्कविहीन छन् । जिल्ला प्रहरी कार्यालय खोटाङबाट गएको ११ जनाको प्रहरी-टोली मेला सकाएर फर्किने क्रममा आक्रमण भएको थियो । स्रोतका अनुसार आक्रमणकारी समूहले प्रहरीसँग रहेको चार नाल थ्री नट थ्री राइफल, एक नाल पेस्तोल र वाकिटकी लुटेर लगेको छ । आक्रमणकारीको पहिचान भएको छैन । स्थानीयवासीले यसमा किराँत वर्कर्स पार्टीको हात रहेको दाबी गरेका छन् ।
गत वर्ष माघ ६ गते खोटाङकै हुक्नाचौर, चिसापानी र देवीथानमा रहेको तीन प्रहरी चौकीमा आक्रमण गरी हतियार र गोली लुटिएको थियो । खोटाङ एक सातादेखि टेलिफोन सम्पर्कविहीन भएकाले घटनाको थप विवरण आउन सकेको छैन । प्रहरी क्षेत्रीय कार्यालय पूर्वाञ्चल समाचार कक्षका अधिकारीले स्थानीयवासीबाट भिडन्तको खबर आए पनि आक्रमणकारी र प्रहरीको अवस्थाबारे थाहा भइनसकेको बताए । बेपत्ताको उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको एक टोली घटनास्थलतिर गएको छ । टोली बुधबार बिहान मात्र पुग्ने एक प्रहरी अधिकारीले बताए ।
प्रहरी अपरेसन शाखाले घटनाको पुष्टि गरे पनि थप विवरण दिन सकेन । खोटाङ फोन सम्पर्कविहीन रहेको र प्रहरीको वाकिटकीले समेत राम्रो काम नगरेकाले अन्य विवरण आउन नसकेको अप्रेसन शाखाका एक प्रहरी अधिकृतको भनाइ छ ।

No comments: