Friday, June 20, 2008

मलाई राजीनामा दिने ठाउँ देखाइदिनुहोस् - प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफू र आफ्नो पार्टी नयाँ सरकारको कुनै पनि पदमा नबसी बाहिरै रहेर सरकारलाई संविधान निर्माणको प्रक्रियामा सघाउने घोषणा गर्नुभएको छ। तीन दलबीचको सहमतिपछि प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सात राजनीतिक दलको बैठकमा उहाँले यस्तो बताउनुभएको हो। सात दलको बैठक सुरु हुनेबित्तिकै 'मेरो केही भनाइ छ' भन्दै उहाँले आफ्नो धारणा राख्नुभएको थियो। प्रधानमन्त्रीले आफूलाई सत्तामा बस्ने कुनै रहर नभएको भन्दै प्रधानमन्त्रीको पदबाट राजीनामा दिने ठाउँ आफूले नदेखेकोले आफू पदमा बस्न बाध्य भएको पनि स्पष्ट पार्नुभयो। उहाँले राजीनामा दिने ठाउँ देखाइदिन पनि बैठकमा सहभागी नेताहरुलाई पटक–पटक आग्रह गर्नुभएको बैठकमा सहभागीमध्ये एक नेताले बताउनुभएको छ।
१२ बुँदे सहमतिका माध्यमबाट कुनै रक्तपातबिना नै देशमा गणतन्त्र आएको बताउँदै प्रधानमन्त्रीले अन्य केही दलले गणितीय हिसाबले पदको भागबन्डा थाल्दा सहमतिको राजनीति फितलो भएको बताउनुभएको थियो। प्रधानमन्त्रीको यस्तो भनाइपछि अन्य दलका नेताहरुले आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ। प्रधानमन्त्रीको सम्बोधनलाई कुर्दा ३ बजे बस्ने भनिएको बैठक झन्डै ३ घन्टा ढिला गरी सुरु भएको थियो।
सात दलको बैठकमा तीन दलका शीर्ष नेताहरुबीच भएको सहमतिको खाकालाई अन्तिम रुप दिइने बैठकमा सहभागी जनमोर्चाका नेता लिलामणी पोखरेलले बताउनुभयो। संवैधानिक परिषद्मा विपक्षी दलका नेतालाई समावेश गर्ने, योग्यता पुगेका जनसेनालाई नेपाली सेनामा रुपान्तरण गर्ने र बाँकीलाई अन्यत्र पुनर्स्थापना गर्ने तथा १५ दिनभित्र योङ कम्युनिस्ट लिग वाईसीएलको गतिविधिमा पुनर्विचार गर्नेलगायत तीन दलका नेताहरुबीच सहमति भएपछि यी विषयमा सात दलको बैठकमा छलफल भएको हो। सात दलको बैठकमा यी विषयमा सहमति भएपछि शुक्रबार बिहान संविधानसभामा प्रतिनिधित्व गर्ने २५ दलको बैठक बसेर अन्तिम सहमति जुटाउने पनि उहाँले जानकारी दिनुभयो।

No comments: