Thursday, June 12, 2008

पुर्व राजा ज्ञानेन्द्र को पत्रकार सम्मेलनको पूर्ण पाठ

नारायणहिटी छाड्नुअघि पत्रकारहरुले खचाखच भरिएको दरबारको कास्की हलमा १४ मिनेटमा पूर्व राजाले के-के भने त्यसको पूर्ण बिवरण ---
नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु चार वर्ण छत्तीस जातको साझा फूलबारीका रुपमा आजभन्दा २ सय ४० वर्ष हाम्रो पूर्वज बडामहाराजाधिराज श्री ५ पृथ्वीनारायण शाहबाट कल्पना र प्राथना गरिबक्सेको मुलुक आज अत्यन्त गम्भीर र सम्वेदनशील संक्रमणको अवस्थाबाट गुज्रीरहेको छ।देश र जनताको सुखदुखमा सहधर्मी एवं सहकर्मी रहेको नेपाली राजसंस्था नेपाली जनताकै समृद्धि तथा सम्मतिमा अनुप्राणित हुँदै आएको सर्वविदितै छ । इतिहासको प्रत्येक कालखण्डमा राजा र नेपाली जनताको संयुक्त प्रयासबाट भएको एकीकरण, प्रजातन्त्रीकरण एवं आधुनिकीकरण पनि यसको ज्वलन्त उदाहरण हो ।
राष्ट्र, राष्ट्रियता, सार्वभौम नेपाल एवं राष्ट्रिय अखण्डतालाई हामी नेपालीले संधैं जीवनमूल्य मानी आएका छौ । यस मूल्य र मान्यताप्रति हाम्रो निष्ठापूर्ण उत्साह, उत्सर्ग भावना हिजो थियो, आज छ र भोलि पनि रहनेछ । देशमा आजभन्दा सात वर्षअगाडि एउटा असहज, दुःखद र अनपेक्षित घटनाका कारण संविधान र परम्पराअनुसार राष्ट्राध्यक्षको उत्तरदायित्व ग्रहण गर्दा राष्ट्र धर्म, कुल धर्म र राजपरम्पराअनुरुप मुलुकको सार्वभौम सत्ता, स्वतन्त्रता, स्वाभिमान, अखण्डता, शान्ति र प्रजातन्त्रको संस्थागत विकास तथा नागरिकहरुको समग्र प्रगतिबाहेक अरु कुनै स्वार्थ आफूमा नभएको तथ्य पनि सबैलाई जानकारी गराउछु । तत्कालीन हिन्दू अधिराज्य एवं बुद्धको जन्मभूमि नेपालमा शान्ति आओस भन्ने असल नियतबाट जुन प्रयासको थालनी गरिएको थियो, त्यो प्रयास विभिन्न कारणले गर्दा सफल हुन नसकेको कुरा मैले स्वीकार गरिसकेको छु । त्यसपछिका घटनाक्रम, परिणाम सबैका सामु कितावजस्तै खुलस्त छ । मैले हिजो पदीय दायित्वका कारण व्यक्त गर्न नसकेको तर मेरो अन्तरआत्मामा गुज्रीरहेको केही कुरा ईश्वरलाई साँक्षी राखी आज म पत्रकार मित्रहरुमार्फत नेपाली दाजुभाइ दिदीबहिनी एवं अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्न चाहन्छु ।
नियति नै भन्नुपर्ला म एउटा अबोध बालक छँदा मेरो शिरमा पहिराइएको श्रीपेच चुपचाप थाप्ने बाध्यताबाहेक मेरो न त चाहना थियो न त इच्छा न त कुनै भूमिकाको गुञ्जाइस नै थियो । त्यस्तै २०५८ साल जेठ १९ गते राति दोस्रो पटक फेरि एउटा अकल्पनीय त्रासदीपूर्ण घटना राजदरबारमा घट्दा मेरो पुजनीय दाजुभाउजुलगायत आफ्ना आत्मीय परिवारको विभत्स विना भएको र ती प्रीय आदरणीय परिवारका शवमा आँसु बगाएर हलुका पार्नसक्ने मौका समेत नपाउने परम्परा र कर्तव्यको जञ्जिरमा बाँधिन विवश मेरो अन्तर वेदना शब्दमा व्यक्त गर्न म सक्दिनँ ।
यसै अवस्था र घटनालाई लिएर केही र कतिले अत्यन्त निर्विवेक र निर्दयतापूर्वक म र मेरो परिवारमाथि लगाएको कठोर आरोप र लाञ्छनालाई हामीले सहनुबाहेक न त कुनै उपाय नै थियो न त हाम्रोतर्फबाट बोलिदिने नै कोही थिए । तत्कालीन परिस्थिति र घटनाबाट फाइदा उठाउन, म र मेरो परिवारप्रति पूर्वाग्रही भई विभिन्न माध्यमबाट म र मेरो परिवारलाई बदनाम गर्ने काम निरन्तर रुपमा भइरह्यो । जुन मेरो लागि अति दुःखदयी थियो र छ पनि ।
दरबारमा घटनामा घटेको घटनामा परी घाइते भएका राजपरिवारका अन्य जिवित सदस्यहरु अझै पनि जिवितै छन् । उनीहरु त्यसका प्रत्यक्ष साक्षी पनि हुन् । सोही घटनामा घाइते भई बाँचेकी मेरी श्रीमतिको शरीरमा प्राविधिक कारणले निकाल्न नसकिएका गोलीका टुक्राहरु अझै रहेका छन् । यससम्बन्धमा उपचारमा संलग्न चिकित्सकहरुबाट सत्यतथ्य पनि बाहिर आएकै थियो । उच्चस्तरीय छानविन आयोगले घटनाको बारेमा सत्यतथ्य जनसमक्ष ल्याएकै हो । समस्त नेपाली जनता र राजसंस्था शोकविव्हल भएको अवस्थामा यस्तो प्रकारको आक्षेप लगाउनु मानवीय संवेदनासँग मेल नखाने तथा राजसंस्थाप्रति नेपालीसामु रहेको सद्भावनालाई बिगार्ने र मात्र दुर्भावना फैलाउने रणनीति रहेको देखिन्छ ।
यस्तो अर्को कुरा मैले सम्पत्ति विदेशमा राखेको छु भन्ने जस्ता लाञ्छनायुक्त प्रचार भएको पनि सुनेको छु । मेरो सम्पूर्ण सम्पत्ति नेपालमै छ । मैले विदेशमा चलअचल सम्पत्ति राखेको छैन । नेपालको कानुन अनुसार पूर्वजबाट मेरो नाममा आएका सम्पत्तिहरु पनि मैले व्यक्तिगत नाममा नराखी संस्थागत रुपमा राख्ने व्यवस्थासमेत गरी त्यसको संरक्षण गरेको छु। विगत सात वर्षमा मैले कुनै थप सम्पत्ति जोडेको छैन, परम्परागत सम्पत्ति घटाउने काम पनि भएको छैन । राजपरिवारका कुनै पनि सदस्यको सम्पत्तिको हक छिनेको पनि छैन । नेपालको प्रचलित कानुन अनुसार निजी सम्पत्ति राख्न पाउने हक मलाई पनि हुने छ भन्ने विश्वास लिएको छु ।
जनताको चाहना र इच्छालाई नै सर्वोपरी मान्ने राजपरम्पराअनुसार संविधानसभाको निर्वाचन र गत जेठ १५ गते संविधानसभाको बैठकले गरेको निर्णयलाई मैले सहज बनाउन सहयोगीको भूमिका सम्पन्न गरेको छु। मैले देश छोडेर जाने सोच बनाएको पनि छैन । म मातृ भूमि नेपालमा नै बसी मूलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु । यसका लागि सबै क्षेत्रबाट सहयोग हुने नै छ भन्ने आशा लिएको छु ।हामी नेपालीका महान पूर्वजहरुको रगत, पसिना र बलिदानले बनेको स्वतन्त्र र सार्वभौम रहँदै आएको यो नेपाल राष्ट्रको स्वतन्त्रता र अखण्डताको निम्ति म जुनसुकै अवस्थामा र हैसियतमा रहे पनि सदा समर्पित रहने प्रण गर्दछु । मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ । स्वतन्त्र राष्ट्रको अस्मिता, अखण्डता र मौलिक मान्यता कायम रहोस् भन्ने मेरो भावना छ । स्वाभिमानी आम नेपालीको समग्र हित होस भन्ने मेरो हार्दिक कामना छ ।
परम्परागत रुपमा शाहवंशीय राजाहरुबाट प्रयोग भई शाहवंशको विरासतका रुपमा रहेको श्रीपेच र राजदण्ड चीरकाल पर्यन्त सुरक्षित रुपमा राख्ने गरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहने गरी मैले हस्तान्तरण गरेको छु । अन्त्यमा राष्ट्राध्यक्षका रुपमा नेपाल र नेपालीका हितमा काम गर्दा मैले कसैको र कुनै प्रकारको अधिकार हनन् हुने किसिमबाट काम गरेको थिएन । म वा मेरो परिवारका कुनै सदस्यले विगतमा भए गरेको कामबाट कसैलाई पीडा पर्न गएको र कसैको अधिकार हनन हुन गएको भएमा अन्जानमा यस्तो काम हुन गएको वास्तविकता सबैले बुझिदिनुहुनेछ भन्ने आशा लिएको छु ।
विगत सात वर्षको कार्यकालमा मलाई सहयोग गर्ने समस्त नागरिकहरु, संवैधानिक निकायहरु, न्याय क्षेत्र, सुरक्षा निकायहरु, राष्ट्र सेवकहरु, शिक्षक, प्राध्यापक, विद्यार्थी, किसान, मजदुर, उद्योगपति, व्यापारी, बुद्धिजीवी, युवा, धार्मिक संघसंस्था, नागरिक समाज, पत्रकार, राजप्रसाद सेवाका कर्मचारीलगायत विभिन्न तह र तप्कामा आवद्ध सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा म आभार प्रकट व्यक्त गर्न चाहन्छु ।नेपालको संधै भलो चिताउने छिमेकी मित्र राष्ट्रहरुका साथै अन्तर्राष्ट्रिय जगत र कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई पनि धन्यवाद दिन चाहन्छु । साथै नेपाल सरकारको तर्फबाट राजदरबारमा खटिई काम गर्ने सुरक्षा एवं व्यवस्थापन समितिका सदस्यहरुलाई पनि धन्यवाद दिन चाहन्छु । नेपाल सरकारबाट वर्तमानमा भएको सहयोगका लागि धन्यवाद दिदै भविष्यमा पनि आवश्यक सहयोग प्राप्त हुने नै छ भन्ने आशा लिएको छु ।
श्रीपशुपति नाथले हामी सबैको कल्याण गरुन
जय नेपाल

No comments: