Wednesday, June 4, 2008

शुक्रबार ज्ञानेन्द्र नागार्जुन जाने, माओबादी नेताद्वारा विरोध ।

काठमाडौं । पुर्वराजा ज्ञानेन्द्रले माग गरेको वासस्थान र सुरक्षाका बारे निर्णय गर्न बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बासस्थानका लागि नागार्जुन दरवार दिने निर्णय गरेकै दिन एक जना वरिष्ठ माओवादी नेताले सरकारको त्यो निर्णयको बिपक्षमा बोलेका छन् । सरकारले बासस्थान र सुरक्षाको प्रबन्ध मिलाइदिएको दुई दिनभित्र नारायणहिटी खाली गर्ने पुर्वराजा ज्ञानेन्द्रको प्रतिबद्धता अनुसार आज मन्त्रिपरिषद्ले त्यस विषयमा निर्णय गरे सम्भवतः पर्सि शुक्रबार नारायणहिटी खाली गर्नेछन् । स्रोतका अनुसार दरबारबाट बाहिरिने साइत समेत शुक्रबार तीनवटा निस्किएको तथा ज्ञानेन्द्रले हरेक महत्वपुर्ण कार्य शुक्रबार नै गर्ने भएकाले नारायणहिटीबाट शुक्रबार बाहिरिने सम्भावनालाई थप बल पुगेको हो ।
पुर्वराजा ज्ञानेन्द्र छोरा पारसको परिवारबाहेक परिवारका अन्य सदस्यसहित नागार्जुनमा बस्न जानेछन् । पारस पहिलेदेखि नै निर्मल निवासमा बस्दै आएका थिए । मन्त्रिपरिषद्ले पुर्व राजाको बसोबास बारे निणय गर्ने थाहा पाएपछि पुर्व निजीसचिव पशुपतिभक्त महर्जनले आज बिहान प्रधानमन्त्रीसँग भेटघाट गरेका छन् ।
यसैबीच पुर्व युवराज पारसको सचिवालय रहेको ठाउँमा सरकारद्वारा गठित दरबार सुरक्षा व्यवस्था समितिको कार्यालय तथा सम्पत्तिको लगत्त राख्ने समितिको कार्यालय राखिएको छ ।
त्यस्तै, ज्ञानेन्द्रको परिवार नारायणहिटीबाट बाहिरिने निश्चित भएपछि वर्षौंदेखि राजपरिवारको सेवामा सक्रिय रहेका इलावती, शीलावती, भानुचित्र र सोमवतीलगायतका बज्यै तथा ज्ञानेन्द्रकी सौतेनी आमा रत्नले सन्तानका रूपमा पालेका साधना र भावनासमेतले हिजै दरबार छोडेका छन् । स्मरणीय रहोस् रत्नबाट कुनै सन्तान नजन्मिएको बताइन्छ यसैवीच, माओवादीका वरिष्ठ नेता सिपी गजुरेलले पूर्व राजा ज्ञानेन्द्र शाहलाई बसोबासका निम्ति नागार्जुन दरवार दिनुहुन्थेन भनेका छन् । बागमति सरसफाई अभियानले जेठ २२ गते राजधानीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै गजुरेलले नागर्जुन दरवार राष्ट्रियकरण भइसकेकाले पूर्व राजालाई त्यो दरवार दिनु ठिक नभएको उल्लेख गरे । 'ज्ञानेन्द्र सामान्य नागरिक भइसकेका छन्, उनलाई दरवार दिनु ठिक भएन' गजुरेलले भने ।
माओवादी संलग्न मन्त्री परिषदले आजै पूर्व राजा ज्ञानेन्द्रलाई बासस्थानका लागि नागार्जुन दिने निर्णय गरेको थियो । मन्त्री परिषदको बैठकमा माओवादी मन्त्रीहरुले त्यसबारे निर्णय हुँदा असहमति जनाए वा नजनाएको स्पष्ट भएको छैन । कार्यक्रममा उपस्थित अर्थ मन्त्री तथा नेपाली कांग्रेस नेता डा. रामशरण महतले भने पूर्व राजालाई बासस्थानका लागि नागार्जुन दरवार दिने सरकारको निर्णयबारे केही बोलेनन् ।

No comments: