Tuesday, September 4, 2007

नेपालमा गणतन्त्र आउला - भाग-६

– महेश्वर श्रेष्ठ

६. राष्ट्रिय जनमोर्चा उर्फ नेकपा (मसाल) को सदावहार उल्टो धार ।

यस लेखमालाको चौंथो भागमा पंक्तिकारले "डा। केशरजंग रायमाझी महासचिव रहेको कम्युनिष्ट पार्टीले त देशमा भर्खर बामे र्सन सिकिरहेको शिशु प्रजातन्त्रलाई समेत सिध्याउने राजा महेन्द्रको २०१७ सालको फौजी काण्डलाई देशभक्तिपूर्ण र प्रगतिशील कदम भनी खुलेरै स्वागत गर्न पुग्यो । त्यस पछि लथालिंग भएको कम्युनिष्ट आन्दोलनलाई समेट्ने नाममा २०२८ सालमा पश्चिमबाट मोहन विक्रम सिंहको नेतृत्वमा उदाएको नेकपा (चौम) र अन्य नामका संगठनहरुले आज पर्यन्त मुक्तिकामी जनताको एउटा हिस्सालाई नाकबाट पानी पिउन र उल्टोबाट रुख चढ्न सिकाउँदै कम्युनिष्ट आन्दोलनलाई दिशाहीन बनाउन र राजतन्त्रलाई सेवा पुर्‍याउन सफल भइरहेका छन् ।" भनी उल्लेख गरेको थियो । जब जब जनपक्षीय शक्तिले शोषक शासक शक्ति माथि विजय हासिल गर्ने स्थिति बन्छ तब तब क्रान्तिकारी शव्दजाल द्वारा त्यसलाई हर तरहले दिशाहीन र असफल बनाई सामन्ती यथास्थितिवादको सेवा गर्न माहिर उनै मोहन विक्रम सिंह आज 'मसाल' पुच्छरधारी कम्युनिष्ट पार्टीका महामन्त्री छन् र आम जनताले चिन्ला भन्ने डरले संधै भूमिगत बस्न रुचाउने यी प्युठाने नेता राष्ट्रिय जनमोर्चाको नामबाट मुलुकको राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थिति जनाइरहेका छन् ।

मोहन विक्रम सिंह र उनको नेतृत्वको कथित कम्युनिष्ट पार्टीले मुक्तिकामी जनसमुदायलाई कसरि नाकबाट पानी पिउन र उल्टोबाट रुख चढ्न लगाएर सामन्ती यथास्थितिवादलाई सेवा पुर्‍याए भन्ने कुराको प्रशस्त उदाहरणहरु नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा दर्ज छन् । साठीको दशकमा महाशक्ति राष्ट्रहरुको शक्ति होड र स्वार्थका कारण उनीहरुकै आड भरोसामा संसारका धेरै मुलुकमा तानाशाहहरु सत्तासिन हुँदै गएका थिए । त्यसैको एउटा अभिव्यक्ति स्वरुप नेपालमा फासिवादी सामन्ती पंचायती व्यवस्था र त्यसलाई नेतृत्व गर्ने निरंकुश तानाशाही राजतन्त्र हावी भएको थियो । यस्तो अवस्थामा संयुक्त जनआन्दोलनको माध्यमबाट विघटित संसदको पुनःस्थापना गर्ने र त्यस मार्फत देशमा प्रजातन्त्र पुनःस्थापना गर्ने प्रयासमा जुटेका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क। पुष्पलाल श्रेष्ठलाई यी प्युठाने नेताले 'कांग्रेस परस्त' को आरोप मात्र लगाएनन्, 'गद्दार पुष्पलाल' नामको एउटा मोटो ग्रन्थ नै लेखेर कम्युनिष्ट आन्दोलनलाई दिशाहीन बनाउन, वामपन्थी तथा प्रजातान्त्रिक शक्तिहरु बीच फाटो बढाउन, संयुक्त जनआन्दोलनलाई उठ्न नदिन र त्यसबाट निरंकुश राजतन्त्रलाई जोगाउन कस्तो भूमिका निर्वाह गरे कुरा आज घाम जतिकै र्छलङ्ग भइसकेको छ ।

क। पुष्पलाल श्रेष्ठको संयुक्त जनआन्दोलनको कार्यक्रम विरुद्ध मोहन विक्रम सिंहले संविधानसभाको नारा दिएर २०२८ सालमा नेकपा (चौम) नामको अलग्गै पार्टी गठन गरे र त्यसको महासचिव पनि बने । २०३५३६ सालको विद्यार्थी आन्दोलनले ल्याएको जनमत संग्रहलाई स्वतन्त्र, निश्पक्ष र धाँधली रहित बनाउन अरु वाम पार्टीहरुले अघि सारेको ५-बुँदे प्रस्तावलाई त्यस बेला कम्युनिष्टहरुको भूतबाट तर्सेको नेपाली कांग्रेसले त अस्वीकार गर्‍यो नै, २०३५ सालमा उग्रवादी झापाली समूहबाट विकसित भएको नेकपा (माले) र मोहन विक्रम सिंहको नेतृत्वमा रहेको नेकपा (चौम) ले पनि त्यस प्रस्तावलाई तुहाउन कुनै कसर बाकी राखेनन् । यो पनि संयुक्त जनआन्दोलन हुन नदिने अर्को चाल थियो जसले गर्दा २०३७ सालमै आउने बहुदलीय व्यवस्था ल्याउन नेपाली जनताले अरु दश वर्ष कुर्नु पर्‍यो । २०४६ सालको संयुक्त जनआन्दोलनलाई भाँड्न पनि मोहन विक्रम सिंह र उनको पार्टी नेकपा मसालले 'संयुक्त राष्ट्रिय जनआन्दोलन (सराजआ)' को नाममा कथित 'स्वतन्त्र आन्दोलन' गरेको कुरा नेपाली जनताले बिर्सेक छैनन् । २०६२६३ को विराट संयुक्त जनआन्दोलन ताका पनि सायद यिनले त्यस्तै गर्दा हुन् । तर त्यस बेला उनी आफ्नै पार्टी नेकपा (मसाल) र नेकपा (एकताकेन्द्र) एकीकरण भई बनेको नेकपा (एकताकेन्द्र मसाल) का महामन्त्री थिए । व्यक्तिगत रुपमा विवादास्पद र अन्टसन्ट कुरा बोल्दै हिंडे तापनि एकताकेन्द्र पक्षीय नेता कार्यकर्ताहरुको कडा प्रतिवादका कारण यिनले संगठित रुपमै आन्दोलनलाई भाँड्ने काम भने गर्न सकेनन्, गर्न पाएनन् ।

संविधानसभा बारे आजको नेपाली समाज समेत कति सचेत छन् भन्ने बारे संचार माध्यमले बरोबर जानकारी दिंदै आएका छन् । त्यसको आधारमा संविधानसभा बारे २०२८ सालको नेपाली समाजको चेतना स्तर कति थियो होला, सहजै अनुमान गर्न सकिन्छ । २०४६ सालको जनआन्दोलनले त वास्तविक रुपमा संवैधानिक बनाउन नसकेको राजतन्त्रलाई मोहन विक्रम सिंहको माग बमोजिम २०२८ सालमै अथवा २०३६ सालमा जनमत संग्रहको सट्टा संविधानसभा दिइएको भए त्यसको परिणाम राजतन्त्रको पक्षमा जाने निश्चित थियो । जनयुद्धबाट क्रान्ति सफल नहुने दिव्यज्ञान हासिल गरेर २०५८ सालमा सरकारसंगको वार्तामा आएका माओवादीहरुले संविधानसभालाई वार्ताको बटमलाइनको रुपमा राख्दा मोहन विक्रम सिंहले संविधानसभाले मुलुक सिक्किम बन्ने बताउँदै ३० वर्षअगाडिको आफ्नै माग विरुद्ध बोलेर सबैलाई चकित पारिदिएका थिए । उनले यस्तो भनाई २०५९ साल असोजमा निरंकुश राजतन्त्र सकृय भइसकेपछिको लामो समयसम्म पनि राख्दै आए । २०२८ सालमा जनताको चेतना स्तर न्यून भएको बेला संविधानसभाको माग गर्नु र २०५८ सामा राजा विरेन्द्रको वंश विनास भएदेखि नै गणतन्त्रको पक्षमा बलियो जनमत बन्दै गएको अवस्थामा त्यसको विरोध गर्नुले मोहन विक्रम सिंह र उनको पार्टी नेकपा मसालको वास्तविक उद्देश्य राजतन्त्रको प्रतिरक्षा गर्नु हो भन्ने कुरा पुष्टी हुन्छ । यसबाट उनी र उनको पार्टी कसबाट परिचालित छ भन्ने कुरा अनुमान गर्न धेरै दिमाग खियाउनु पर्दैन ।

एउटा कोणबाट हेर्दा मोहन विक्रम सिंह कम्युनिष्टहरुको महागुरु नै हुन् । उनले उत्पादन गरेका थुप्रै कम्युनिष्ट नेता तथा कार्यकर्ताहरु विभिन्न कम्युनिष्ट पार्टीहरुमा कृयाशील छन् । तर कम्युनिष्ट आन्दोलनलाई पथभ्रष्ट गर्न कृतसंकल्पित गुरुको शिक्षाको कारण ठूलो संख्याका बावजूद ती नेता कार्यकर्ताहरुले आन्दोलनको सही दिशा ठम्याउन सकिरहेका छैनन् । जसरि पनि यथस्थितिवादको रक्षा गर्ने गुरु र उनको गलत शिक्षा विरुद्ध विद्रोह गर्दा गर्दै उनीहरु मध्ये अधिकाँस वामपन्थी उग्रवादको भडखालोमा जाकिन पुग्छन् जसको अन्तिम परिणति हो (१) सुधारवाद र संशोधनवादको बाटो हुँदै प्रतिकृयावादमा पतन हुनु अथवा (२) चौतर्फी असफलताका कारण हतास र निरास हुँदै आत्मर्समर्पणको बाटो पकड्नु । यस्तै परिणति जन्माउने मोहन विक्रम सिंहको शिक्षा र चरित्रका कारण कतिपय कम्युनिष्ट नेता कार्यकर्ताहरुले उनलाई कम्युनिष्ट आन्दोलन भित्रको महारोग, क्यान्सर, धमिरा जन्माउने भाइरस समेत भन्ने गर्दछन् ।

अहिले मुलुक संघीय गणतन्त्रमय भएको छ । शोषक, शासक र तिनीहरुका जुठोपुरोमा बाँच्न रमाउने दासहरु तथा अन्य अवसरवादीहरु बाहेक आम नेपाली जनता नेपाललाई जातिय तथा क्षेत्रीय स्वशासन सहितको संघीय गणतन्त्रमा रुपान्तरण गर्ने पक्षमा छन् । प्रतिकृयावादी भनिने ठूला और्जुवा पार्टीहरुले समेत संघीयतालाई स्वीकार गरिसकेका छन् जसलाई नेपालको अन्तरिम संविधान २०६३ मा भएको पहिलो संशोधनबाट संविधानमै लिपिवद्ध गरिसकिएको छ । तर संधै उल्टो धारमा हिंड्नुमा नै आफ्नो जीवन र्सार्थक भएको देख्ने मोहन विक्रम सिंह र उनको पार्टी नेकपा (मसाल) ले संघीयताले मुलुक टुक्रन्छ भन्दै आम नेपाली जनताको चाहना विरुद्ध आफूलाई उभ्याएका छन् । घुमाई फिर्राई संधै सामन्ती राजतन्त्रको सेवा गर्दै आएका यी नेता र उनको पर्टी जनताको लखेर्टाईमा पर्नु पर्ने र आफ्नो अस्तित्व नै खतरामा पर्ने डरले मात्र गणतन्त्र प्रति ओठे भक्ति दर्शाइरहेका छन्, वास्तविकतामा यिनीहरु गणतन्त्रवादी हुँदै होइनन् ।

२००७ जुलाई ३१
२०६४ साउन १५

No comments: