Tuesday, September 4, 2007

नेपालमा गणतन्त्र आउला ? (भाग- ५)


- महेश्वर श्रेष्ठ

५. नेकाँ (प्रजातान्त्रिक) को शब्दकोशमा गणतन्त्रको "ग" पनि छैन ।
२०५१ को मध्यावधि निर्वाचनमा भएको लज्जाजनक हारका कारण विरक्तिएका नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आफ्ना प्रिय कार्यकर्ता तथा आफ्नै नेतृत्वको पूर्ववर्ति सरकारका गृहमन्त्री शेरबहादुर देउवालाई कांग्रेस संसदीय दलको नेता बनाए पछि देउवामा व्यक्तिगत महत्वाकाँक्षा जाग्न थालेको थियो । २०५२ सालमा नेकपा एमालेको अल्पमतको सरकार ढलेपछि बनेको गठबन्धन सरकारको प्रधानमन्त्री बन्न पुगेका देउवाको महत्वाकाँक्षा त्यस पछि झन चुलिंदै गयो । आफ्नो गठबन्धन सरकारलाई जोगाउन देउवाले के कस्ता हथकण्डा अपनाए, बेइमानी, भ्रष्टाचार, अनैतिकता, गूटगत स्वार्थलाई प्रश्रय दिने र सांसद किनबेच गर्ने घिनलाग्दो अपसंस्कृतिलाई कसरि शीखरमा पुर्‍याए, वैदेशिक सहयोगमा संचालन हुने विकास कार्यमा ठूलो कमिसनको लोभमा कसरि ठूला परियोजनालाई काखी च्याप्ने र साना परियोजनाको घाँटी न्याक्ने काम गरे, भारतीय शासकहरुको आशिर्वाद पाउन सरकार प्रमुखको हैसियतले राष्ट्रघाती महाकाली सन्धि पारित गराउन कस्तो भूमिका निर्वाह गरे भन्ने कुरा यहा“ कोट्याइरहन नपर्ला ।
२०५४ सालमा ठूलो धनराशी खर्च गरी एमालेलाई फूटाउन सफल नेपाली काँग्रेसले संस्थापक नेता कृष्णप्रसाद भट्टर्राईको नाम भजाएर २०५६ सालको आम निर्वाचनमा बहुमत ल्याउन पनि सफल भयो । तर पार्टीको पूर्व घोषणा अनुसार प्रधानमन्त्री बनाइएका कृष्णप्रसाद भट्टर्राईलाई नौ महिनामै अपदस्त गरेर गिरिजाप्रसाद कोइराला आफै प्रधानमन्त्री बने । माओवादीले डोल्पाको सदरमुकाम दुनैमा गरेको आक्रमण पश्चात उसलाई सेना परिचालन गरी दमन गर्ने योजना शाही नेपाली सेनाका परमाधिपति र कथित संवैधानिक राजा विरेन्द्रको असहयोगका कारण असफल भएको, प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको राजिनामा माग गर्दै संसदको २०५७ सालको हिउँदे अधिवेशन पूरै ठप्प पारेको, पार्टी भित्रैको चरम गूटबन्दी र धुरुधुरु रुंदै प्रधानमन्त्री पदबाट राजिनामा दिन वाध्य पारिएका कृष्णप्रसाद भट्टर्राई पक्षीय सांसदहरुको विद्रोहको धम्कीपूर्ण दवाव, सम्पूर्ण देशलाई नै प्यारालाइज गर्ने गरी विकसित भइरहेको संचार, बैकिङ तथा यातायात क्षेत्रको अभूतपूर्व हडतालबाट अत्तालिएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजिनामा दिन वाध्य भए पछि शेरबहादुर देउवा २०५८ सालमा पुनः प्रधानमन्त्री बने । वैवाहिक सम्बन्धका कारण दरबारियाहरुसंग नजिकिंदै गएका र प्रतिगमनकारी तत्वहरुबाट हदैसम्म उक्साइएका देउवाले त्यसपछि कसरि नाम मात्रको प्रजातन्त्रलाई पनि दरबारमा बुझाउन र निरंकुश राजतन्त्र सकृय पार्न के कस्ता कुकृत्य गरे भन्ने कुरा जग जाहेरै छ ।
२०४६ सालको जनआन्दोलनका र्सवमान्य नेता तथा सर्वोच्च कमाण्डर गणेशमान सिंह २०४८ सालपछि पार्टीबाट पलायन हुन परेबाट प्रजातन्त्रको नाम लिएर कहिल्यै नथाक्ने र आफैलाई प्रजातन्त्रको पर्यायवाची ठान्ने नेपाली काँग्रेसको अन्तर-पार्टी प्रजातन्त्र कस्तो छ भन्ने कुरा स्पष्ट हुन्छ । वामपन्थीहरुलाई अधिनायकवादी भनेर बदनाम र सत्तोसराप गर्ने काँग्रेसको नेतृत्व स्वयम कति अधिनायकवादी छ भन्ने कुरा त्यस पार्टीको सभापतिको निर्णय नै पार्टीको अन्तिम निर्णय हुने परिपाटीबाट स्पष्ट हुन्छ । त्यस माथि कायम रहँदै आएको कोइराला परिवारको कठोर पकडले त काँग्रेस भनेकै कोइराला परिवार हो र कोइराला परिवार भनेकै काँग्रेस हो भनी बुझ्नु पर्ने अवस्था कायमै छ । कोइराला परिवारको यही एकछत्र तानाशाहीबाट आजित भएका, भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेका, काँग्रेसको मुखुण्डो लगाएर राजदरबार र विदेशी शक्तिहरुलाई सेवा पुर्‍याइरहेकाहरुको अपवित्र गठबन्धन र गिरिजाप्रसाद कोइराला माथि बदला लिने कृष्णप्रसाद भट्टर्राईको अभिलाषाका कारण अन्ततः नेपाली काँग्रेस विभाजित भयो जसको नेतृत्व गरे अत्यन्त महत्वाकाँक्षी तथा चरम सत्तालोलुप शेरबहादुर देउवाले । उनी आज नेपाली काँग्रेसबाट चोइटिएको नेपाली काँग्रेस (प्रजातान्त्रिक) नामको पार्टीका सभापति छन् । देउवा काँग्रेसको नामले समेत चिनिने यो पार्टीमा देउवा परिवारको पकड नरहे तापनि सभापतिको अधिकार गिरिजा काँग्रेस सभापति जतिकै छ ।
यहाँ दुबै नेपाली काँग्रेसका नेताहरुको नाम लिएर ती पार्टीहरुको चरित्र चित्रण गर्नु पर्नाको कारण तिनीहरुको संरचनागत स्वरुप र सभापतिमा निहित अधिनायकवादी अधिकारले गर्दा नै हो । अहिले नेकाँ (प्रजातान्त्रिक) आफूलाई अघ्घोरै गणतन्त्रवादी देखाउन कसरत र प्रचार गरिरहेको छ । उसका भातृ तथा भगिनी संगठनहरुले पनि भकाभक अधिवेशन गर्दै "नो मोनार्की, नो कम्युनिज्म" को नारा पारित गरिरहेका छन् । गणतन्त्र ल्याउँछौं ल्याउँछौं भनी कुर्लेर हिडिरहेका छन् । तर २०५९ असोज १८ गते राजा ज्ञानेन्द्रबाट अवैधानिक र अनधिकृत रुपमा असक्षम भनी प्रधानमन्त्री पदबाट अपदस्थ गरिएका देउवालाई २०६१ जेठमा उनै राजा ज्ञानेन्द्रले फेरि पनि अवैधानिक र अनधिकृत रुपमा आफ्नो कठपुतली सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्दा "म प्रधानमन्त्रीमा पुनःस्थापित भएं । प्रतिगमन सच्चियो । गोर्खाली राजाबाट न्याय हुन्छ भनेको सत्य रहेछ ।" भन्दै राजाले फालेको जुठो हड्डी चपाउन सिंगो पार्टी पंक्ति सहित निरंकुश राजतन्त्रको सेवामा हामफाल्न गएको घटना नेपाली जनताले बिर्सेका छैनन् र बिर्सने पनि छैनन् ।
काँग्रेस एकीकरण बारे बर्षौंदेखि बजारमा हल्ला चलिरहेको छ । विभाजनका कारण मूल पार्टी नेकपा एमाले र त्यसबाट चोइटिएको नेकपा मालेले २०५६ सालको आम निर्वाचनमा कस्तो हविगत भोग्नु पर्‍यो भन्ने कुरा दुबै काँग्रेसले राम्ररि बुझेका छन् र पार्टी विभाजन वा एकीकरण हुँदा त्यसको शक्ति गणितीय हिसाबले होइन ज्यामितीय हिसाबले घट्ने वा बढ्ने पाठ पनि राम्ररि सिकेका छन् । संविधानसभाको निर्वाचन मिति नजिकिंदै छ । कथंकदाचित घोषित मितिमै संविधासभाको निर्वाचन भइहालेमा र त्यसमा नेकाँ प्रजातान्त्रिकले भिड्नु परेमा आफू र आफ्नो पार्टीको हविगत २०५६ सालको आम निर्वाचनमा वामदेव गौतम र उनको पार्टी नेकपा मालेको जस्तै हुने परिणाम बारे शेरबहादुर देउवा सचेत मात्र होइन औडाहाले छटपटाइरहेका छन् । तर पार्टी भित्रका आफ्ना प्रतिद्वन्दीलाई अनेक जालझेल, षडयन्त्र र तिगडम गरी पलायन वा निष्कृय हुन वाद्य पार्न र झन बढी झन आफ्नो परिवारको पकड जमाउन माहिर नेपाली काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आक्कल झुक्कल एकीकरण बारे बोल्ने गरे तापनि त्यसलाई खासै महत्व दिइरहेका छैनन् । संविधानसभा निर्वाचनमा उम्मेदवार मनोनयन दाखिला गर्ने अन्तिम समय तिर देउवाका कार्यकर्ता तथा सहयोगीहरुको ठूलो जत्था पुरानो पार्टीमा र्फकने र रुख रुपी नेपाली काँग्रेसमा फलेको ऐंजेरु रुपी नेकाँ प्रजातान्त्रिक त्यतिकै सुकेर मर्ने पक्का छ ।
शेरबहादुर देउवाले थुप्रै अवसरमा पटक पटक जनताका अगाडि आफूलाई कट्टर गणतन्त्रवादी भएको दावी गरेका छन् साथमा यो पनि भन्न छुटाउँदैनन्, "म तिन तिन पटक प्रधानमन्त्री भएको मान्छे । दुई दुई पटक असक्षम भनी राजाको लात खाएर अन्यापूर्वक प्रधानमन्त्रीबाट गलहत्याइएको मान्छे । मैले यस्तो राजालाई फेरि किन बोकेर हिंड्छु र? अहँ, अब मबाट त्यस्तो गल्ती हुने छैन ।" स्पष्ट छ, राजतन्त्रसंग उनको खासै गुनासो छैन । उनी गणतन्त्रवादी जस्तो बनी टोपल्नुको एउटै मात्र कारण हो र्सार्वजनकि रुपमा अन्यथा बोलेमा जनताको लखेर्टाईमा पर्नु पर्ने डर र उनलाई दुई दुई पटक बेइज्जतीपूर्वक असक्षमको आरोप लगाई प्रधानमन्त्रीबाट बर्खास्त गर्ने राजा ज्ञानेन्द्रसंगको व्यक्तिगत रिसइवी । व्यक्तिगत शुभलाभका लागि अनैतिक राजनीति गर्नेहरुका लागि राजनीतिमा जे पनि हुन सक्छ । तर्सथ भोली राजा ज्ञानेन्द्रसंग सुलह भएमा वा सम्बन्ध सुध्रिएमा उनी र उनको पार्टी फेरि पनि गोर्खाली राजाको जयजयकार गर्नेमा कुनै शंका छ ।
यसको शुरुवात भई पनि सकेको छ । संविधानसभाको निर्वाचन हुनु अगावै राजतन्त्र उन्मूलन भएको घोषणा गर्ने सम्बन्धमा दुबै काँग्रेसका जिल्ला तथा स्थानीय स्तरका नेताहरुलाई र्सार्वजनिक रुपमै "हामी बेइमानी गर्न जान्दैनौ र सक्दैनौं । सातदल माओवादी बीच २०६२ मंसिर ७ गते भएको १२-बुँदे सहमतिदेखि आजसम्म भएका अन्य सबै सहमति र समझदारीमा गणतन्त्रको "ग" पनि छैन, निरंकुश राजतन्त्र अन्त्य गर्ने मात्र लेखिएको छ । संवैधानिक राजतन्त्र पनि नराख्ने अथवा राजतन्त्रको पूरै उन्मूलन गर्ने भनी कतै लेखिएको छैन । आफैले गरेको सहमति र समझदारी विरुद्ध लाग्नु बेइमानी हो । हामी त्यस्तो बेइमानीको विरोध गर्छौं।" भनेर कथित इमान्दारिताको नाममा अब खुलेरै गणतन्त्रको विपक्षमा कुर्लन लगाइएको छ, राजतन्त्र उन्मूलन गर्ने ऐतिहासिक जनआन्दोलन-३ को पहिलो तथा प्रमुख जनादेशको निर्लज्ज उपहास गर्न थालिएको छ । तर्सथ नेकाँ प्रजातान्त्रिकको गणतन्त्रको गर्जन जनता झुक्याउने स्याल हुइयाँ बाहेक अरु थोक केहि होइन । (क्रमसः)


२००७ जुलाई २३
२०६४ साउन ०७
पूरा नाम : महेश्वर श्रेष्ठ
उमेर : ५७ वर्ष
ठेगाना : ज्वागल, ललितपुर १०
फोन : ९८४१५१८९७२
पेशा : अवकास प्राप्त सरकारी कर्मचारी

1 comment:

ajay singh said...

ok thanx for giving education for us
do well god bless u