Friday, April 30, 2010

निजी विद्यालयको नयाँ शुल्क तोकिने

मुलुकमा सञ्चालित निजी विद्यालयहरुको नयाँ शुल्क २० दिनभित्र तोकिने भएको छ। माओवादी विद्यार्थी सङ्गठन र शिक्षा मन्त्रालयका सहसचिव महाश्रम शर्माको संयोजकत्वमा बनेको टोलीबीच भएको वार्तामा यो सहमति भएको हो।
सूत्रका आधारमा वैज्ञानिक र पारदर्शीरुपबाट शुल्क निर्धारण एवम् समायोजन गर्ने गरी संस्थागत विद्यालयहरुले प्रस्तावित गरेको शुल्क हाललाई स्थगित गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ।यसैगरी अखिल क्रान्तिकारीबाट गरिएको बन्दलगायत् आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैबाट स्थगन गर्ने सहमति पनि भएको मन्त्रालयले जनाएको छ।
शिक्षा मन्त्रालयले वैज्ञानिक एवम् पारदर्शीरुपबाट सूत्रका आधारमा शुल्क निर्धारण मापदण्ड तयार गरी शुल्क व्यवस्थापन तथा अनुगमन केन्द्रीय समितिमा सुझाव पेश गर्न कार्यटोली गठन गरेको पनि जनाएको छ।

Tuesday, April 27, 2010

राष्ट्रपति निवासमा रात्रीभोज, माओवादी नेता अनुपस्थित

काठमाडौं- राष्ट्रपति रामवरण यादवले लोकतन्त्र दिवसको अवसरमा रात्रीभोजको आयोजना गरेका छन्। भोजमा संविधानसभामा प्रतिनिधत्व गर्ने २५ वटै दलका शीर्ष नेताहरुलाई बोलाइए पनि प्रमुख प्रतिपक्षी एकीकृत नेकपा(माओवादी)का नेताहरू अनुपस्थित छन्।
२५ वटै दलका शीर्ष नेताहरूलाई आफ्नो निवासमा बोलाउने सो निर्णयले राष्ट्रपति पुनः सक्रिय हुन खोजेको सन्देश दिएको हुँदा भोजमा माओवादी अनुपस्थित हुने भएको माओवादीद्वारा सञ्चालित जनसञ्चार केन्द्रले जनाएको छ।
उक्त भोजमा एकीकृत माओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई आमन्त्रण गरिएको थियो। भोजमा नेपाली कांग्रेस र नेकपा(एमाले)का तीन-तीन जना र अन्य दलका दुई-दुई जना शीर्ष नेतालाई निमन्त्रणा गरिएको सितल निवासस्रोतले जनाएको छ।

चन्दा आतंकप्रति व्यवसायीको आपत्ति

एकीकृत नेकपा (माओवादी) ले वैशाख १८ गतेदेखि गर्ने आन्दोलनका लागि जथाभावी चन्दा माग गरेको भन्दै चितवनका उद्योगी, व्यवसायीले आपत्ति जनाएका छन्। उनीहरुले व्यावसायिक मर्यादाबाहिर रहेर मागिएको चन्दा नदिने निर्णयसमेत गरेका छन्। बन्द हड्तालले धरासायी हुँदै गएको व्यापार व्यवसायमा पछिल्लो पटक एकीकृत नेकपा (माओवादी) को चन्दा आतङ्कले झनै सङ्कटमा परेको उद्योग वाणिज्य सङ्घ, चितवनका अध्यक्ष उत्तमलाल चुकेले बताए।
चन्दा आतङ्कविरुद्धमा उद्योगी, व्यवसायीले आन्दोलनमा उत्रने घोषणा गरेपछि एनेकपा (माओवादी) र चितवनका उद्योगी, व्यवसायीबीच आइतबार राति वार्ता भएको थियो। माओवादी कार्यालयमा भएको वार्ताले स्वेच्छिक चन्दा दिने विषयमा सहमति भएको उद्योग वाणिज्य सङ्घले जनाएको छ।
माओवादीले जबर्जस्ती चन्दा मागेको विरोधमा व्यवसायीको सोमबार बसेको आकस्मिक बैठकले आजका लागि नारायणगढ बजार बन्दको घोषणा गरेको थियो। चन्दाकै विषयलाई लिएर व्यवसायीमाथि अभद्र व्यवहार गर्ने, धम्की दिनेजस्ता कार्य नरोकिए अनिश्चितकालीन चितवन बन्द गर्ने चेतावनी यसअघि नै व्यवसायीहरुले दिएका थिए।
यसैबीच जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले जबर्जस्ती चन्दाआतङ्क जायज नभएको भन्दै भर्त्सनासमेत गरेको छ।

Wednesday, April 14, 2010

नया वर्ष २०६७ को शुभकामना

संपूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाई

नया वर्ष २०६७ को सुखद उपल्क्षयमा सुख, शान्ति, सम्वृद्धि तथा

उत्तरोत्तर प्रगतिका साथै नेपालीका भावना अनुसार नया संबिधान बनोस

भन्ने कामनाका साथ मंगलमय हार्दिक शुभकामना ब्यक्त गर्दछौ

लोकतन्त्र परिवार

जापान

Monday, April 12, 2010

एमआरपी प्रकरण 'नेपाल नीति' असफलः भारतीय मिडिया

चैत ३० - मेसिनले पढ्न सक्ने पासपोर्ट (एमआरपी) छपाई भारतमा गर्ने निर्णय फिर्ता गर्ने नेपाल सरकारको निर्णयले भारतको नेपाल नीति असफल भएको टिप्पणी भारतीय सञ्चारमाध्यमहरुले गरेका छन्।
भारतीय संस्थापन पक्ष निकट मानिने टाइम्स अफ इन्डियाले यो प्रकरणलाई अमेरिकाको प्रख्यात वाटरगेट काण्डसँग जोडेर 'पासपोर्टगेट' संज्ञा दिएको छ।
सो पत्रिकाको अनलाइन संस्करणमा भनिएको छ- यसले भारतको नेपाल नीति फेरि एक पटक कमजोर भएको देखाएको छ। पासपोर्ट सम्झौतामा विदेशमन्त्री एस एम कृष्णा आफैले छलफल गरेका थिए। टेन्डर प्रक्रिया पहिले नै जारी अवस्थामा मन्त्रीस्तरीय संलग्नताले सम्झौताहरुमा विवादास्पद रुपमा भारतीय संस्थापन पक्ष संलग्न हुने पुरानै प्रवृत्ति दोहोरिएको छ।
समाचारमा भारतीय विदेशमन्त्री कै दबाबमा नेपाल सरकारले टेन्डर प्रक्रिया रद्द गरेको पनि उल्लेख छ।

Friday, April 9, 2010

राडार मर्मतले त्रिभुवन विमानस्थलका उडान प्रभावित

काठमाडौं, चैत २७- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको राडार मर्मत सुरु भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। वायुसेवा सञ्चालकहरूका अनुसार आन्तरिक उडान ३०% सम्म कटौती गरिएको छ। तोकिएको समयमा उड्नुपर्ने जहाज दुई घन्टासम्म ढिला भएका छन्।
विमानस्थल व्यवस्थापनले राडार मर्मत गर्नुपर्ने कारण देखाउँदै आन्तरिक वायुसेवा कम्पनीलाई ५०% सम्म उडान कटौती वा लामो समय ढिला हुनसक्ने पत्राचार गरेको छ। यसबाट वायुसेवा सञ्चालकहरू के गर्ने भन्ने समस्यामा परेका छन्।
'विमानस्थलले हामीलाई यति-यति उडान कटौती गर भनेको भए सजिलो हुन्थ्यो,' एक सञ्चालकले बिहीबार नागरिकसँग भने, 'तर, त्यसो नहुँदा हामी आफैले ३०% सम्म उडान कटौती गर्‍यौं। जहाज एकदेखि तीन घन्टासम्म ढिलो हुने निश्चित छ। व्यवस्थापन मिलाउन नसक्दा उडान भद्रगोल भएको छ।'
विमानस्थल व्यवस्थापनले राडार जडान गरेको १२ वर्षपछि पहिलोपटक मर्मत सुरु गरेको हो। यसलाई प्रत्येक छ वर्षमा मर्मत गर्नुपर्छ। 'राडार मर्मत सुरु भयो,' विमानस्थलका महाप्रबन्धक दिनेशप्रसाद श्रेष्ठले भने, ५०% सम्म उडान प्रभावित हुनेछ।' उनले आउँदो वैशाख १० सम्म सबै उडान प्रभावित हुने जानकारी दिए। अन्तर्राष्ट्रिय उडान कटौती नभए पनि आन्तरिक भने कटौती हुनसक्ने उनले बताए।'नियमित र चार्टर दुवै उडान घटाउन वायुसेवालाई आग्रह गरेका छौं,' उनले भने।
राडार मर्मत सुरु भएपछि बुद्ध एयरले एक-तिहाइ उडान कटौती गरेको छ। उसले काठमाडौंबाट एटिआर जहाजमार्फत् हुने दैनिक १२ उडान कटौती गरेर ९ तथा साना जहाजका उडान १५ बाट १२ मा झारेको छ। 'हामी दैनिक १ हजार ६ सय यात्रु उडाउँथ्यौं,' बुद्धका वरिष्ठ बजार प्रबन्धक रुपेश जोशीले भने, 'अब १ हजार २ सयमा झरेको छ। यात्रुले दुःख पाउनु स्वाभाविक हो।'
यती एयरलाइन्सका वरिष्ठ बिक्री तथा बजार प्रबन्धक विनय शाक्यले बिहीबार आफ्ना सबै उडान ४५ मिनेट ढिला गरिएको बताए। राडार मर्मत अवधिभर बिहानका उडान आधा घन्टा अगाडि सारेको र प्रत्येक दिन एक-दुई उडान घट्ने उनले बताए। यतीले दैनिक २५ देखि ३० उडान गर्छ। बिहीबार पोखराका ६ उडान रद्द गरिएको उनले जानकारी दिए। 'रातभरि काम गरेर भए पनि राडार मर्मत चाँडै सक्नु आवश्यक छ,' उनले भने।
राडारले जहाज कुन दिशाबाट आइरहेको छ, कति दुरीमा छ भन्नेजस्ता सूचना दिन्छ। यसको मूल्य अर्बभन्दा बढी पर्छ। त्रिभुवन विमानस्थलमा भएको एउटा राडार सन् १९९८ मा जापानले सहयोग स्वरूप दिएको थियो। त्यसपछि छ वर्षमा एकपटक मर्मत गर्नुपर्ने भए पनि प्राविधिक र वित्तीय समस्याका कारण मर्मत हुन नसकेको श्रेष्ठले बताए। 'मर्मत गर्न ४ करोड २५ लाख रुपैयाँ खर्च लाग्छ,' उनले भने, 'यो विमानस्थलको आफ्नै बजेट हो।'
उनका अनुसार राडार जापानको तोसिबा कम्पनीमा बनेको हो। मर्मत गर्न तोसिबाका सात कर्मचारी खटिएका छन्। बिहीबारबाट मर्मत सुरु भए पनि राडार बन्द गरिएन। शुक्रबारबाट बन्द गरी मर्मत गरिनेछ। नबनुन्जेल भिओआर-डिएमइबाट उडान र अवतरणमा सहयोग लिइनेछ। भिओआरले जहाजलाई दिशानिर्देश गर्छ भने डिएमइले विमानस्थलबाट जहाजको दुरीबारे जानकारी दिन्छ। राडार नहुँदा एउटा जहाजबाट अर्को जहाजको दुरी बढ्ने भएकाले उडान ढिला हुन्छ। अन्तर्राष्ट्रिय उडान भने ढिला भए पनि कटौती हुँदैन।
'राडार मर्मत र धावनमार्गको कालोपत्रे गर्ने काम सकिएपछि विमानस्थल चौबीसै घन्टा चलाउँछौं,' श्रेष्ठले भने, 'उडान सुरक्षाका लागि पनि राडार मर्मत आवश्यक छ। धेरै वर्ष भएकाले राडारभित्रका सामान बिग्रिएका र बिग्रने अवस्थामा हुन सक्छन्।'उनले दुई वर्षभित्र नयाँ राडार खरिद गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिए। यसका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) सँग सम्भाव्यता अध्ययनका लागि सम्झौता गरिएको उनले बताए।

Thursday, April 8, 2010

नेपालको जलस्रोत र वित्तीय क्षेत्रमा अमेरिकी लगानीकर्ताको चासो

चैत २७ -अमेरिकी लगानीकर्ताले नेपालको जलस्रोत, वित्तीय, स्वास्थ्य लगायतकाक्षेत्रमा चासो देखाएका छन्। नेपाल अमेरिका व्यापार तथा लगानी सम्झौता (Trade & Investment Framework Agreement, TIFA) वार्ताका लागि आएको नेपाली प्रतिनिधिमण्डल र अमेरिकी चेम्वर अफ कमर्सबीच बुधबार भएको छलफलमा लगानीकर्ताले यी क्षेत्रमा चासो देखाएका हुन्।
नेपालमा ठूलो क्षमताको जलस्रोतमा लगानी गर्न प्रारम्भिक कार्य सुरु भएको एकजना लगानीकर्ताले बताएका थिए।तर, अमेरिकी लगानीकर्ता राजनीतिक स्थायित्व, श्रमिक समस्या, शान्ति सुरक्षा र विद्युत लगायत पूर्वाधारका कमीमा पुजीं लगाउन मुख्य वाधक भएको बताएका थिए। टिफाको लागि वार्ता गर्न आएको टोलिसँग यसअघि अमेरिकी प्रशासन ह्वाइट हाउसका वरिष्ठ अधिकारीले पनि राजनीतिक लगायत यस्तै समस्या आर्थिक सम्वन्ध विस्तारको वाधक भएको बताएका थिए।संविधान बन्छ बन्दैन, राजनीतिक स्थायित्व कहिले हुन्छ, श्रमिक समस्याले काम गर्न कठिन जस्ता गुनासो दुई देश विचको व्यापार वार्तामा पटक पटक उठेको थियो।अमेरिकी चेम्बरमा भएको कार्यक्रममा वाणिज्य सचिव पुरुषोत्तम ओझाले नेपालले लगानीकर्तालाई प्रोत्साहन गर्न ल्याएका ऐन कानुन लगायत का पक्षमा जानकारी दिएका थिए।
नेपाली राजदुत शकंर शर्माले राजनीतिक समस्या भए पनि गत वर्ष नेपाल घुम्न अमेरिकाबाट जाने पर्यटकको संख्या र प्रत्यक्ष विदेशी लगानी बढेको तथ्यांक दिएका थिए। नेपालमा गएको विदेशी लगानीमा अमेरिका भारत र चीन पछि तेस्रो स्थानमा छ। नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले जलस्रोत, कृषि उद्यम लगायत नेपालका तुलनात्मक फाइदाको क्षेत्रका बारेमा अमेरिकी लगानीकर्तालाई जानकारी गराएका थिए। बैठकमा अमेरिकाका व्यापार सहायक मन्त्री माइकल डेलासीले टिफा सम्झौतामा हस्ताक्षर हुने तय भएकाले यसले दुई देशबीचको आर्थिक सम्वन्धमा नयाँ आयाम थप्ने बताए।
अमेरिकी लगानीकर्ताले जलस्रोत, स्वास्थ्य, वित्तीय सेवालगायतको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए। वैठकमा नियमित रुपमा दुई देशबीचको निजी क्षेत्रमा सम्पर्क र सुचना आदान प्रदान गर्ने सहमति भएको छ।वासिंटन स्थित नेपाली दुतावास, नेपाल उद्योग वाणिज्य महासंघ र गैर आवसीय नेपाली संघ अमेरिकाबीच दुई देशबीच लगानी र व्यापार सम्वन्ध अभिबृद्धिका लागि संयुक्तरुपमा काम गर्ने समझदारी हस्ताक्षर भएको छ। राजदुत शर्मा, र महासंघ अध्यक्ष जोशीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

Wednesday, April 7, 2010

एमआरपी भारतमा छाप्ने निर्णय कार्यान्वयन नगरः सर्वोच्च

मेसियन रिडेबल पासपोर्ट (एमआरपी) भारतमा छपाउने सरकारी निर्णय चैत ३० सम्म कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सुशीला कार्कीको एकल इजलासले बुधबार अन्तरिम आदेश जारी गर्दै रिट निवेदक र सरकारी पक्षलाई ३० चैतमा छलफलका लागि बोलाएको छ।

मंगलबार एमआरपी भारतमा छाप्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो। बिना प्रतिस्पर्धा सार्वजनिक खरिद ऐनको विरुद्ध गई एमआरपी छाप्न भारतलाई दिने निर्णय गैरकानूनी भएको जिकिर रिट निवेदकले गरेका थिए। भारतलाई पासपोर्ट छाप्ने जिम्मेवारी दिँदा त्यसले सुरक्षामा समेत आघात पर्न सक्ने तर्फ रिट निवेदक अधिवक्ता हेममणि सुवेदीले जिकिर गरेका थिए।
संसदको लेखा समितिमा जवाफ दिँदै प्रधानमन्त्री माधवकुमार नेपालले भारतसितको कूटनीतिक सम्बन्ध र राजनीतिक दबाबका कारण एमआरपी भारतमा छाप्ने निर्णय गरेको स्पष्टीकरण दिएका थिए।

Tuesday, April 6, 2010

पासपोर्ट नपाएको रिस कर्मचारीमाथि

काठमाडौं, चैत २४- हास्य कालाकार जितु नेपाल हतारिँदै परराष्ट्रमन्त्रीका सल्लाहकार चिरञ्जीवी नेपाल कार्यकक्ष पुगे। 'पासपोर्ट बनाउनुपर्ने थियो, (कर्मचारीहरूले) अहिले मिल्दैन भन्छन्। उपाय के होला?'
हास्य कार्यक्रम देखाउन देशविदेश डुलिरहने उनलाई राहदानी चाहिएको रहेनछ। अमेरिका बस्ने साँढुभाइले परिवार उतै लैजान खोजेपछि सहयोगका लागि उनी मन्त्रालय पुगेका रहेछन्।
'साढुभाइ अमेरिकै बस्छ। साली र एउटी छोरी यहीँ छन्। उनीहरू पनि अमेरिका जानुपर्ने' जितुले मन्त्रीका सल्लाहकारलाई समस्या राखे, 'बच्चीको राहदानी थिएन। त्यसका लागि जन्मदर्ता प्रमाणपत्र चाहिने रहेछ, त्यो लिन जाँदा ढिलो भयो।'चैत १९ पछि हस्तलिखित राहदानी लिन नपाइने जानकारी हुँदा-हुँदै ढिलो हुन पुगेको उनले सुनाए। टेलिभिजन श्रृंखलामा मुन्द्रे नामले प्रख्यात जितु शुक्रबारदेखि दुई चोटी यही समस्या लिएर मन्त्रालय धाइसके। 'मंगलबार फेरि आउनु भन्नुभएको छ, हेरौं के हुन्छ?' उनले नागरिकसँग भने।
पासपोर्ट बनाउन दैनिक मन्त्रालय धाउने सयौं व्यक्ति जितु जत्तिकै भाग्यमानी र पहुँचवाला छैनन्। किनकि, न उनीहरूले मन्त्रीका सल्लाहकारसम्म पहुँच छ, न पासपोर्ट कहिले पाइन्छ भनेर कसैबाट स्पष्ट जवाफ पाउन सकेका छन्। नारायणहिटीको पश्चिम गेटबाहिर बाँयाँपट्टि दिनभर टण्टलापुर घाममा टट्टिनुबाहेक उनीहरूको विकल्प छैन।
'आइइएलटिएस परीक्षा दिनुपर्ने, त्यसका लागि राहदानी चाहिन्छ, तीन पटक आइसकेँ, कर्मचारीहरू निर्णय भएको छैन भनेर जवाफ दिन्छन्' नुवाकोट समुद्रटारका नवीन खतिवडा भन्दै थिए, 'अझै कति समय लाग्ने हो थाहा छैन, तयारी खेर जाने'भो।'
खतिवडाजस्ता दर्जनौं व्यक्ति चैत १९ देखि पश्चिमगेटमा धर्ना दिँदै फर्किने गरेका छन्। पासपोर्ट नपाएको झोँकमा सोमबार बिहान कार्यालय खुलेलगत्तै उनीहरू मन्त्रालयका राहदानी शाखाका कर्मचारीमाथि खनिए। सेवाग्राहीको आक्रोश र गालीगलोज थेग्न नसकेपछि कर्मचारीहरू कुर्सी नै छोडेर केही बेर बाहिरिएका थिए।
'हामीलाई कुनै निर्देशन छैनएक सातादेखि 'पश्चिम गेट' धाउनेमध्ये धेरैजसो 'आपत परेरै' पासपोर्ट बनाउन आउनेहरू छन्। सामान्य अवस्थामा विदेश उड्नका लागि राहदानी बनाउन जानेहरू बरू केही कम छन्। तैपनि उनीहरूले राहदानी पाउन सकेका छैनन्।
'जहिल्यै भोलि भन्नुहुन्छ? मान्छेको जहाज डुब्न लागिसक्यो, पासपोर्टका लागिमात्र कति दिन धाउने?' झ्याल बाहिर उभिएर एक जना सेवाग्राही कड्किँदै थिए। उनले विदेशमा एमविविएस (चिकित्साशास्त्र) पढ्न छात्रवृत्ति पाएकाले तत्काल राहदानी लिनु जरूरी भएको बताए।
अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) को निर्देशन अनुसार चैत १९ मा आधुनिक मेसिन रिडयवल राहदानी (एमआरपी) जारी गरिसक्नुपर्थ्यो। सरकारले समयसीमाभित्री एमआरपी जारी गर्न नसकेपछि साविक हस्तलिखित राहदानीलाई नै थप चार महिना मान्यता दिन आइकाओसँग अनुरोध गरेको थियो। नेपालको अनुरोधप्रति आइकाओका अधिकांश सदस्य राष्ट्रले सकारात्मक प्रतिक्रिया दिएको एमआरपी संयोजक तथा मन्त्रालयका शिष्टाचार महापाल मोहनकृष्ण श्रेष्ठले बताए।
एमआरपीसम्बन्धी आइकाओको 'सिकाओ कन्भेन्सन' को अध्ययाय ३, 'ट्राभल डकुमेन्ट' शीर्षकमा समेत आपतकालीन अवस्थामा थोरै समयावधिका लागि हस्तलिखित राहदानी वा अन्य अस्थायी ट्राभल डकुमेन्ट जारी गर्न सकिने स्पष्ट उल्लेख छ।
यसैको आधारमा मन्त्रालयले आइतबार 'एमआरपी जारी नभएसम्मको सिमित अवधिका लागि अन्तरिम उपायस्वरूप' भन्दै मन्त्रालय तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूबाट हस्तलिखित राहदानी जारी गर्ने व्यवस्था गरिएको' सूचना प्रकाशित गरेको थियो। यो सूचना थाहा पाएर सोमबार मन्त्रालय पुगेका सेवाग्राहीहरू पनि रित्तोहात फर्किनुपर्‍यो।
राहदानी शाखाकै कर्मचारीहरूले भने मन्त्रालयको यो निर्णय र निर्देशन आफूहरूसम्म नआएको गुनासो गरेका छन्।
'सेवाग्राहीहरूको गुनासो उत्तिकै छ, हामी कार्यकक्षमा बस्न सक्नेस्थिति छैन, हाकीमहरूबाट हामीलाई यो गर-ऊ गर भन्ने कुनै निर्देशनसम्म छैन' एक अधिकृतले भने, 'हातैले लेखेर पासपोर्ट दिने निर्णय गरेको सुनेका छौं, कार्यान्ययन गर्ने हामी हौ तर अझै पत्र आएको छैन।'
परराष्ट्रका सबैजसो कर्मचारीहरू हस्तलिखित राहदानी उपलब्ध गराउने निर्णय भइसकेपछि पनि त्यसलाई कार्यान्वयन नगर्नुमा शिष्टाचार महापाल श्रेष्ठको विशेष कमजोरी रहेको औल्याउँछन्।
श्रेष्ठले भने निर्णय भएपनि आन्तरिक प्रक्रियाका कारण कार्यान्वयनमा दुई दिन ढिलो हुन पुगेको दाबी गर्दै मंगलबारदेखि भने 'आपतकालीन पासपोर्ट' जारी गरिने बताए। उनले आपतकालीन राहदानी सर्वासाधारणलाई भन्दा पनि 'साह्रै नै गाह्रो पर्नेलाई' लिन आह्वान गरे।
'लिइराखौं भनेर सोच्नेहरुले सकेसम्म आपतकालीन राहदानी नलिनु राम्रो' उनले भने, 'एकदमै आपत परेमात्रै यो लिनु राम्रो हुनेछ।' चैत १९ पछि हस्तलिखित राहदानी लिएर विदेशमा उड्दा समस्या पर्नसक्नेतर्फ उनले सचेत गराए। बरू दुई/तीन महिना कुरेर एमआरपी नै लिनु राम्रो हुने उनको भनाइ छ।