Tuesday, April 27, 2010

चन्दा आतंकप्रति व्यवसायीको आपत्ति

एकीकृत नेकपा (माओवादी) ले वैशाख १८ गतेदेखि गर्ने आन्दोलनका लागि जथाभावी चन्दा माग गरेको भन्दै चितवनका उद्योगी, व्यवसायीले आपत्ति जनाएका छन्। उनीहरुले व्यावसायिक मर्यादाबाहिर रहेर मागिएको चन्दा नदिने निर्णयसमेत गरेका छन्। बन्द हड्तालले धरासायी हुँदै गएको व्यापार व्यवसायमा पछिल्लो पटक एकीकृत नेकपा (माओवादी) को चन्दा आतङ्कले झनै सङ्कटमा परेको उद्योग वाणिज्य सङ्घ, चितवनका अध्यक्ष उत्तमलाल चुकेले बताए।
चन्दा आतङ्कविरुद्धमा उद्योगी, व्यवसायीले आन्दोलनमा उत्रने घोषणा गरेपछि एनेकपा (माओवादी) र चितवनका उद्योगी, व्यवसायीबीच आइतबार राति वार्ता भएको थियो। माओवादी कार्यालयमा भएको वार्ताले स्वेच्छिक चन्दा दिने विषयमा सहमति भएको उद्योग वाणिज्य सङ्घले जनाएको छ।
माओवादीले जबर्जस्ती चन्दा मागेको विरोधमा व्यवसायीको सोमबार बसेको आकस्मिक बैठकले आजका लागि नारायणगढ बजार बन्दको घोषणा गरेको थियो। चन्दाकै विषयलाई लिएर व्यवसायीमाथि अभद्र व्यवहार गर्ने, धम्की दिनेजस्ता कार्य नरोकिए अनिश्चितकालीन चितवन बन्द गर्ने चेतावनी यसअघि नै व्यवसायीहरुले दिएका थिए।
यसैबीच जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले जबर्जस्ती चन्दाआतङ्क जायज नभएको भन्दै भर्त्सनासमेत गरेको छ।

No comments: