Thursday, April 8, 2010

नेपालको जलस्रोत र वित्तीय क्षेत्रमा अमेरिकी लगानीकर्ताको चासो

चैत २७ -अमेरिकी लगानीकर्ताले नेपालको जलस्रोत, वित्तीय, स्वास्थ्य लगायतकाक्षेत्रमा चासो देखाएका छन्। नेपाल अमेरिका व्यापार तथा लगानी सम्झौता (Trade & Investment Framework Agreement, TIFA) वार्ताका लागि आएको नेपाली प्रतिनिधिमण्डल र अमेरिकी चेम्वर अफ कमर्सबीच बुधबार भएको छलफलमा लगानीकर्ताले यी क्षेत्रमा चासो देखाएका हुन्।
नेपालमा ठूलो क्षमताको जलस्रोतमा लगानी गर्न प्रारम्भिक कार्य सुरु भएको एकजना लगानीकर्ताले बताएका थिए।तर, अमेरिकी लगानीकर्ता राजनीतिक स्थायित्व, श्रमिक समस्या, शान्ति सुरक्षा र विद्युत लगायत पूर्वाधारका कमीमा पुजीं लगाउन मुख्य वाधक भएको बताएका थिए। टिफाको लागि वार्ता गर्न आएको टोलिसँग यसअघि अमेरिकी प्रशासन ह्वाइट हाउसका वरिष्ठ अधिकारीले पनि राजनीतिक लगायत यस्तै समस्या आर्थिक सम्वन्ध विस्तारको वाधक भएको बताएका थिए।संविधान बन्छ बन्दैन, राजनीतिक स्थायित्व कहिले हुन्छ, श्रमिक समस्याले काम गर्न कठिन जस्ता गुनासो दुई देश विचको व्यापार वार्तामा पटक पटक उठेको थियो।अमेरिकी चेम्बरमा भएको कार्यक्रममा वाणिज्य सचिव पुरुषोत्तम ओझाले नेपालले लगानीकर्तालाई प्रोत्साहन गर्न ल्याएका ऐन कानुन लगायत का पक्षमा जानकारी दिएका थिए।
नेपाली राजदुत शकंर शर्माले राजनीतिक समस्या भए पनि गत वर्ष नेपाल घुम्न अमेरिकाबाट जाने पर्यटकको संख्या र प्रत्यक्ष विदेशी लगानी बढेको तथ्यांक दिएका थिए। नेपालमा गएको विदेशी लगानीमा अमेरिका भारत र चीन पछि तेस्रो स्थानमा छ। नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले जलस्रोत, कृषि उद्यम लगायत नेपालका तुलनात्मक फाइदाको क्षेत्रका बारेमा अमेरिकी लगानीकर्तालाई जानकारी गराएका थिए। बैठकमा अमेरिकाका व्यापार सहायक मन्त्री माइकल डेलासीले टिफा सम्झौतामा हस्ताक्षर हुने तय भएकाले यसले दुई देशबीचको आर्थिक सम्वन्धमा नयाँ आयाम थप्ने बताए।
अमेरिकी लगानीकर्ताले जलस्रोत, स्वास्थ्य, वित्तीय सेवालगायतको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए। वैठकमा नियमित रुपमा दुई देशबीचको निजी क्षेत्रमा सम्पर्क र सुचना आदान प्रदान गर्ने सहमति भएको छ।वासिंटन स्थित नेपाली दुतावास, नेपाल उद्योग वाणिज्य महासंघ र गैर आवसीय नेपाली संघ अमेरिकाबीच दुई देशबीच लगानी र व्यापार सम्वन्ध अभिबृद्धिका लागि संयुक्तरुपमा काम गर्ने समझदारी हस्ताक्षर भएको छ। राजदुत शर्मा, र महासंघ अध्यक्ष जोशीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

No comments: