Friday, April 9, 2010

राडार मर्मतले त्रिभुवन विमानस्थलका उडान प्रभावित

काठमाडौं, चैत २७- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको राडार मर्मत सुरु भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। वायुसेवा सञ्चालकहरूका अनुसार आन्तरिक उडान ३०% सम्म कटौती गरिएको छ। तोकिएको समयमा उड्नुपर्ने जहाज दुई घन्टासम्म ढिला भएका छन्।
विमानस्थल व्यवस्थापनले राडार मर्मत गर्नुपर्ने कारण देखाउँदै आन्तरिक वायुसेवा कम्पनीलाई ५०% सम्म उडान कटौती वा लामो समय ढिला हुनसक्ने पत्राचार गरेको छ। यसबाट वायुसेवा सञ्चालकहरू के गर्ने भन्ने समस्यामा परेका छन्।
'विमानस्थलले हामीलाई यति-यति उडान कटौती गर भनेको भए सजिलो हुन्थ्यो,' एक सञ्चालकले बिहीबार नागरिकसँग भने, 'तर, त्यसो नहुँदा हामी आफैले ३०% सम्म उडान कटौती गर्‍यौं। जहाज एकदेखि तीन घन्टासम्म ढिलो हुने निश्चित छ। व्यवस्थापन मिलाउन नसक्दा उडान भद्रगोल भएको छ।'
विमानस्थल व्यवस्थापनले राडार जडान गरेको १२ वर्षपछि पहिलोपटक मर्मत सुरु गरेको हो। यसलाई प्रत्येक छ वर्षमा मर्मत गर्नुपर्छ। 'राडार मर्मत सुरु भयो,' विमानस्थलका महाप्रबन्धक दिनेशप्रसाद श्रेष्ठले भने, ५०% सम्म उडान प्रभावित हुनेछ।' उनले आउँदो वैशाख १० सम्म सबै उडान प्रभावित हुने जानकारी दिए। अन्तर्राष्ट्रिय उडान कटौती नभए पनि आन्तरिक भने कटौती हुनसक्ने उनले बताए।'नियमित र चार्टर दुवै उडान घटाउन वायुसेवालाई आग्रह गरेका छौं,' उनले भने।
राडार मर्मत सुरु भएपछि बुद्ध एयरले एक-तिहाइ उडान कटौती गरेको छ। उसले काठमाडौंबाट एटिआर जहाजमार्फत् हुने दैनिक १२ उडान कटौती गरेर ९ तथा साना जहाजका उडान १५ बाट १२ मा झारेको छ। 'हामी दैनिक १ हजार ६ सय यात्रु उडाउँथ्यौं,' बुद्धका वरिष्ठ बजार प्रबन्धक रुपेश जोशीले भने, 'अब १ हजार २ सयमा झरेको छ। यात्रुले दुःख पाउनु स्वाभाविक हो।'
यती एयरलाइन्सका वरिष्ठ बिक्री तथा बजार प्रबन्धक विनय शाक्यले बिहीबार आफ्ना सबै उडान ४५ मिनेट ढिला गरिएको बताए। राडार मर्मत अवधिभर बिहानका उडान आधा घन्टा अगाडि सारेको र प्रत्येक दिन एक-दुई उडान घट्ने उनले बताए। यतीले दैनिक २५ देखि ३० उडान गर्छ। बिहीबार पोखराका ६ उडान रद्द गरिएको उनले जानकारी दिए। 'रातभरि काम गरेर भए पनि राडार मर्मत चाँडै सक्नु आवश्यक छ,' उनले भने।
राडारले जहाज कुन दिशाबाट आइरहेको छ, कति दुरीमा छ भन्नेजस्ता सूचना दिन्छ। यसको मूल्य अर्बभन्दा बढी पर्छ। त्रिभुवन विमानस्थलमा भएको एउटा राडार सन् १९९८ मा जापानले सहयोग स्वरूप दिएको थियो। त्यसपछि छ वर्षमा एकपटक मर्मत गर्नुपर्ने भए पनि प्राविधिक र वित्तीय समस्याका कारण मर्मत हुन नसकेको श्रेष्ठले बताए। 'मर्मत गर्न ४ करोड २५ लाख रुपैयाँ खर्च लाग्छ,' उनले भने, 'यो विमानस्थलको आफ्नै बजेट हो।'
उनका अनुसार राडार जापानको तोसिबा कम्पनीमा बनेको हो। मर्मत गर्न तोसिबाका सात कर्मचारी खटिएका छन्। बिहीबारबाट मर्मत सुरु भए पनि राडार बन्द गरिएन। शुक्रबारबाट बन्द गरी मर्मत गरिनेछ। नबनुन्जेल भिओआर-डिएमइबाट उडान र अवतरणमा सहयोग लिइनेछ। भिओआरले जहाजलाई दिशानिर्देश गर्छ भने डिएमइले विमानस्थलबाट जहाजको दुरीबारे जानकारी दिन्छ। राडार नहुँदा एउटा जहाजबाट अर्को जहाजको दुरी बढ्ने भएकाले उडान ढिला हुन्छ। अन्तर्राष्ट्रिय उडान भने ढिला भए पनि कटौती हुँदैन।
'राडार मर्मत र धावनमार्गको कालोपत्रे गर्ने काम सकिएपछि विमानस्थल चौबीसै घन्टा चलाउँछौं,' श्रेष्ठले भने, 'उडान सुरक्षाका लागि पनि राडार मर्मत आवश्यक छ। धेरै वर्ष भएकाले राडारभित्रका सामान बिग्रिएका र बिग्रने अवस्थामा हुन सक्छन्।'उनले दुई वर्षभित्र नयाँ राडार खरिद गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिए। यसका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) सँग सम्भाव्यता अध्ययनका लागि सम्झौता गरिएको उनले बताए।

No comments: