Tuesday, April 6, 2010

पासपोर्ट नपाएको रिस कर्मचारीमाथि

काठमाडौं, चैत २४- हास्य कालाकार जितु नेपाल हतारिँदै परराष्ट्रमन्त्रीका सल्लाहकार चिरञ्जीवी नेपाल कार्यकक्ष पुगे। 'पासपोर्ट बनाउनुपर्ने थियो, (कर्मचारीहरूले) अहिले मिल्दैन भन्छन्। उपाय के होला?'
हास्य कार्यक्रम देखाउन देशविदेश डुलिरहने उनलाई राहदानी चाहिएको रहेनछ। अमेरिका बस्ने साँढुभाइले परिवार उतै लैजान खोजेपछि सहयोगका लागि उनी मन्त्रालय पुगेका रहेछन्।
'साढुभाइ अमेरिकै बस्छ। साली र एउटी छोरी यहीँ छन्। उनीहरू पनि अमेरिका जानुपर्ने' जितुले मन्त्रीका सल्लाहकारलाई समस्या राखे, 'बच्चीको राहदानी थिएन। त्यसका लागि जन्मदर्ता प्रमाणपत्र चाहिने रहेछ, त्यो लिन जाँदा ढिलो भयो।'चैत १९ पछि हस्तलिखित राहदानी लिन नपाइने जानकारी हुँदा-हुँदै ढिलो हुन पुगेको उनले सुनाए। टेलिभिजन श्रृंखलामा मुन्द्रे नामले प्रख्यात जितु शुक्रबारदेखि दुई चोटी यही समस्या लिएर मन्त्रालय धाइसके। 'मंगलबार फेरि आउनु भन्नुभएको छ, हेरौं के हुन्छ?' उनले नागरिकसँग भने।
पासपोर्ट बनाउन दैनिक मन्त्रालय धाउने सयौं व्यक्ति जितु जत्तिकै भाग्यमानी र पहुँचवाला छैनन्। किनकि, न उनीहरूले मन्त्रीका सल्लाहकारसम्म पहुँच छ, न पासपोर्ट कहिले पाइन्छ भनेर कसैबाट स्पष्ट जवाफ पाउन सकेका छन्। नारायणहिटीको पश्चिम गेटबाहिर बाँयाँपट्टि दिनभर टण्टलापुर घाममा टट्टिनुबाहेक उनीहरूको विकल्प छैन।
'आइइएलटिएस परीक्षा दिनुपर्ने, त्यसका लागि राहदानी चाहिन्छ, तीन पटक आइसकेँ, कर्मचारीहरू निर्णय भएको छैन भनेर जवाफ दिन्छन्' नुवाकोट समुद्रटारका नवीन खतिवडा भन्दै थिए, 'अझै कति समय लाग्ने हो थाहा छैन, तयारी खेर जाने'भो।'
खतिवडाजस्ता दर्जनौं व्यक्ति चैत १९ देखि पश्चिमगेटमा धर्ना दिँदै फर्किने गरेका छन्। पासपोर्ट नपाएको झोँकमा सोमबार बिहान कार्यालय खुलेलगत्तै उनीहरू मन्त्रालयका राहदानी शाखाका कर्मचारीमाथि खनिए। सेवाग्राहीको आक्रोश र गालीगलोज थेग्न नसकेपछि कर्मचारीहरू कुर्सी नै छोडेर केही बेर बाहिरिएका थिए।
'हामीलाई कुनै निर्देशन छैनएक सातादेखि 'पश्चिम गेट' धाउनेमध्ये धेरैजसो 'आपत परेरै' पासपोर्ट बनाउन आउनेहरू छन्। सामान्य अवस्थामा विदेश उड्नका लागि राहदानी बनाउन जानेहरू बरू केही कम छन्। तैपनि उनीहरूले राहदानी पाउन सकेका छैनन्।
'जहिल्यै भोलि भन्नुहुन्छ? मान्छेको जहाज डुब्न लागिसक्यो, पासपोर्टका लागिमात्र कति दिन धाउने?' झ्याल बाहिर उभिएर एक जना सेवाग्राही कड्किँदै थिए। उनले विदेशमा एमविविएस (चिकित्साशास्त्र) पढ्न छात्रवृत्ति पाएकाले तत्काल राहदानी लिनु जरूरी भएको बताए।
अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) को निर्देशन अनुसार चैत १९ मा आधुनिक मेसिन रिडयवल राहदानी (एमआरपी) जारी गरिसक्नुपर्थ्यो। सरकारले समयसीमाभित्री एमआरपी जारी गर्न नसकेपछि साविक हस्तलिखित राहदानीलाई नै थप चार महिना मान्यता दिन आइकाओसँग अनुरोध गरेको थियो। नेपालको अनुरोधप्रति आइकाओका अधिकांश सदस्य राष्ट्रले सकारात्मक प्रतिक्रिया दिएको एमआरपी संयोजक तथा मन्त्रालयका शिष्टाचार महापाल मोहनकृष्ण श्रेष्ठले बताए।
एमआरपीसम्बन्धी आइकाओको 'सिकाओ कन्भेन्सन' को अध्ययाय ३, 'ट्राभल डकुमेन्ट' शीर्षकमा समेत आपतकालीन अवस्थामा थोरै समयावधिका लागि हस्तलिखित राहदानी वा अन्य अस्थायी ट्राभल डकुमेन्ट जारी गर्न सकिने स्पष्ट उल्लेख छ।
यसैको आधारमा मन्त्रालयले आइतबार 'एमआरपी जारी नभएसम्मको सिमित अवधिका लागि अन्तरिम उपायस्वरूप' भन्दै मन्त्रालय तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूबाट हस्तलिखित राहदानी जारी गर्ने व्यवस्था गरिएको' सूचना प्रकाशित गरेको थियो। यो सूचना थाहा पाएर सोमबार मन्त्रालय पुगेका सेवाग्राहीहरू पनि रित्तोहात फर्किनुपर्‍यो।
राहदानी शाखाकै कर्मचारीहरूले भने मन्त्रालयको यो निर्णय र निर्देशन आफूहरूसम्म नआएको गुनासो गरेका छन्।
'सेवाग्राहीहरूको गुनासो उत्तिकै छ, हामी कार्यकक्षमा बस्न सक्नेस्थिति छैन, हाकीमहरूबाट हामीलाई यो गर-ऊ गर भन्ने कुनै निर्देशनसम्म छैन' एक अधिकृतले भने, 'हातैले लेखेर पासपोर्ट दिने निर्णय गरेको सुनेका छौं, कार्यान्ययन गर्ने हामी हौ तर अझै पत्र आएको छैन।'
परराष्ट्रका सबैजसो कर्मचारीहरू हस्तलिखित राहदानी उपलब्ध गराउने निर्णय भइसकेपछि पनि त्यसलाई कार्यान्वयन नगर्नुमा शिष्टाचार महापाल श्रेष्ठको विशेष कमजोरी रहेको औल्याउँछन्।
श्रेष्ठले भने निर्णय भएपनि आन्तरिक प्रक्रियाका कारण कार्यान्वयनमा दुई दिन ढिलो हुन पुगेको दाबी गर्दै मंगलबारदेखि भने 'आपतकालीन पासपोर्ट' जारी गरिने बताए। उनले आपतकालीन राहदानी सर्वासाधारणलाई भन्दा पनि 'साह्रै नै गाह्रो पर्नेलाई' लिन आह्वान गरे।
'लिइराखौं भनेर सोच्नेहरुले सकेसम्म आपतकालीन राहदानी नलिनु राम्रो' उनले भने, 'एकदमै आपत परेमात्रै यो लिनु राम्रो हुनेछ।' चैत १९ पछि हस्तलिखित राहदानी लिएर विदेशमा उड्दा समस्या पर्नसक्नेतर्फ उनले सचेत गराए। बरू दुई/तीन महिना कुरेर एमआरपी नै लिनु राम्रो हुने उनको भनाइ छ।

No comments: