Thursday, February 5, 2009

अध्यादेश नल्याउन एमालेको दबाबपछि मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौं, माघ २२- अध्यादेश ल्याउनेबारेमा प्रमुख सत्तारुढ दुई घटक माओवादी र एमालेबीच विवाद भएपछि मन्त्रिपरिषद्को बुधबार बस्ने भनिएको बैठक बस्दा बस्दै बिना निर्णय स्थगित भएको छ। बुधबारको बैठकमा पाँच वटा अध्यादेश पारित गर्ने एजेन्डा तय गरिएको थियो।
मन्त्रिपरिषद्का बैठक बसिरहेका बेला एमाले महासचिव झलनाथ खनालले टेलिफोनमार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुनै पनि हालतमा अध्यादेश नल्याउन भनेपछि बैठक स्थगित भएको हो।
राज्य पुनसंरचनामन्त्री गोपाल किराँतीले महासचिव खनालबाट प्रधानमन्त्रीलाई फोन आएका कारण बैठक स्थगित भएको जानकारी दिए।आपूर्तिमन्त्री राजेन्द्र महतोले प्रधानमन्त्रीबाट अध्यादेशको अध्ययन र अरु दलसित सहमति जुटाउन समय मागेकाले बैठक स्थगित गरिएको बताए। प्रधानमन्त्रीले सबै दलसित छलफल गरी सहमतिको प्रयास गर्ने बताउँदै बिहीबार ४ बजे बैठक बस्ने जानकारी आफूहरुलाई गराएको महतोले बताए।
विज्ञान तथा प्रविधिमन्त्री गणेश साहले भने बुधबार मन्त्रिपरिषद्को बैठक नबसेको दाबी गरे। ´आज बैठक बसेन, स्थगित भयो, भोलि (बिहीबार) ४ बजे बस्छ´ साहले भने। अपराह्न तीन बजे सुरु भएको मन्त्रिपरिषद् बैठक साँझ ६ बजे स्थगित भएको थियो।
कांग्रेसका नेताहरुले बिहीबार बिहान प्रधानमन्त्रीलाई भेटी अध्यादेश नल्याउन आग्रह गरेका थिए। उनीहरुले अध्यादेश ल्याइएमा विरोधमात्र होइन त्यसविरुद्ध आन्दोलन नै गर्ने चेतावनी दिएका थिए। प्रधानमन्त्रीले भने कांग्रेस नेताहरुलाई अध्यादेशको समर्थन गर्न अनुरोध गरेका थिए।

No comments: