Sunday, February 1, 2009

एमाले नेतृत्व कार्यनीति ठम्याउन असफल : ओली

काठमाडौं, - सत्तारुढ नेकपा एमाले स्थायी कमिटी सदस्य केपी शर्मा ओलीले पार्टी तात्कालिक कार्यनीति ठम्याउन असफल भएको दाबी गर्दै नेतृत्वको चर्को आलोचना गरेका छन्। पार्टी कार्यालय बल्खुमा शनिबार भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेतृत्वले मुख्य प्रतिद्वन्द्वी पहिचान गर्न नसकेको भनी आलोचना गरेका हुन्।
भेलामा ७२ जिल्लाका सम्पर्क मञ्चका प्रतिनिधि सहभागी थिए । उग्रवामपन्थीहरूसँग जुध्नु तात्कालिक आवश्यकता भएको बताउँदै उनले भने ´तर मुख्य वास्तविकता ढाकछोप गर्न बेकारको परिश्रम गरिंदैछ।´ त्यस्तो परिश्रम नेतृत्वबाटै भएको आरोप ओलीको थियो। ओलीले माओवादीको उग्र वामपन्थी ज्यादतीको पनि आलोचना गरे। ती ज्यादतीको पार्टी नेतृत्वले प्रतिकार गर्न नसकेकोमात्र होइन माओवादीप्रति नेतृत्व लचिलो भएको आरोपसमेत उनले लगाए। माओवादीबाट एमालेका कार्यकर्ता निरन्तर पिटिइरहँदा पनि नेतृत्व मुकदर्शक बनेको भनाइ उनको थियो। ´माओवादीले ज्यादती गरिरहँदा कार्यकर्ताको हात खुट्टा भाँचिदा पनि कमरेडहरुले आक्रमण गरे भनिरहनुको के अर्थ हुन्छ? किन कार्यकर्ताको हात खुट्टा भाँचेको हेरिरहनुपर्ने´ पार्टी नेतृत्वप्रति आक्रामक हँदै नेता ओलीले प्रश्न गरॆ ´यस्तो बेलामा किन चाहियो महाधिवेशन ? पार्टी विघटन गरेर नयाँ बजार माओवादीको तत्कालीन हेडक्वार्टरमा बुझाइदिए हुन्छ।´ओलीले जनताको बहुदलीय जनवादमा अनावश्यक विवाद र बहस गर्ने काम भएको बताउँदै भने ´जबजमा बहस गर्नु बेकारको सोखमात्र हो।´ जबजमा अनावश्यक विवाद निम्त्याउन नहुने तर्क उनको थियो । महाधिवेशनमा प्रस्तुत गर्न सार्वजनिक गरिएको दस्ताबेजप्रति पनि ओलीको असन्तुष्टि रह्यो। दस्ताबेजलाई छलफलको लागि कार्यकर्ता तहमा लैजान ढिलाइ भएकामा उनले पार्टी नेतृत्वको आलोचना गरे। ´२ सय ४१ पेजको दस्तावेज कार्यकर्ताले कहिले पढ्ने र कहिले छलफल गर्ने´ उनले प्रश्न गरे। एमाले महासचिव झलनाथ खनालले पनि माओवादीको आलोचना गरेका थिए। माओवादीले फासिस्ट र आक्रामक शैली नत्यागे उनीहरुविरुद्ध अर्को विद्रोह हुने बताए। माओवादीको व्यवहारका कारण संयुक्त सरकार सञ्चालनमा समेत कठिनाइ भएको उनले बताए। खनालले आठौं महाधिवेशनपछि पार्टी विचार संगठन र सिद्धान्तमा स्पष्टताका साथ अघि बढने बताए। बहुदलीय जनवादलाई थप सुदृढ गरिने भनाइ उनको थियो। उनले यथास्थितिवाद र उग्रवामपन्थी अराजकताविरुद्ध लड्न कार्यकर्तालाई निर्देशन पनि दिए। यही माघ २४ गते राजधानीमा हुने जनप्रर्दशनलाई उनले ´मिनी महाधिवेशन´ का रुपमा लिन कार्यकर्तालाई आग्रह गरे । एमाले महाधिवेशन आगामी फागुन ५ देखि १० बुटवलमा हुँदैछ।

No comments: