Wednesday, October 22, 2008

नेपालका प्रसिद्ध सन्त खप्तड स्वामी नै भारतका स्वतन्त्र संग्रामका नेता सुवासचन्द्र बोस

आन्दोलनको मैदानबाटै बेपत्ता भएका भारतका चर्चित जननेता सुवासचन्द्र बसु (बोस) सन् १९८५ सम्म बाँचेर निधन भएको रहस्योद्घाटन हालै भएको छ। सशस्त्र युद्ध गरी अङ्गे्रजहरूलाई भारतबाट धपाउनुपर्छ भन्ने विचार राख्नुहुने सुवासचन्द्र बसुलाई भारतमै कडा वारेन्ट जारी गरिएको थियो।

स्वतन्त्र भारतको लडाइँमा संलग्न एक स्वतन्त्रता सेनानीले सुवासचन्द्र बोसको १९८५ सेप्टेम्बर १६ को राति करिब पौने नौ बजेतिर हृदयाघातबाट निधन भएको बताएका छन्। अयोध्याप्रसाद गुप्ता नाम गरेका ८२ वर्षीय ती सेनानीले नेता बोसको अन्त्येष्टि फैजावादस्थित सरयू नदी किनारको गुप्तार घाटमा भएको पनि बताएका छन्। अयोध्याप्रसादका अनुसार अन्त्येष्टिमा जम्मा पाँचजना मानिस थिए र उक्त स्थानमा उहाँको समाधि पनि बनिसकेको छ। उहाँ साढे सात वर्ष भारतकै बस्ती जिल्लामा, अढाई वर्ष अयोध्यामा र तीन वर्ष फैजावादमा पनि बस्नुभएको थियो। 'नेताजी' नामले चर्चित सुवासचन्द्र बोस भूमिगत हुनुको एक मात्र कारण भारत स्वतन्त्र हुँदा बेलायतसँग गरिएको सम्झौता नै भएको उहाँको ती ८२ वर्षीय सहयोगीले उल्लेख गरेका छन्।

त्यतिबेला भारतले बेलायतसँग सम्झौता गर्दा दुईवटा सर्त राखिएको थियो। जसमा एउटा भारत र पाकिस्तानको बाँडफाँड र अर्को नेता बोसको जिउँदो शरीर या लाश बेलायतलाई बुझाउनुपर्ने उल्लेख थियो। जुन सर्त सन् २००२ सम्म लागू हुन सक्थ्यो। उहाँको भूमिगत जीवनका बारेमा आफूले एउटा पुस्तक लेखेको र त्यसमा उहाँका दुर्लभ फोटोहरू रहेको अयोध्याप्रसाद गुप्ताले बताएका छन्। विगतमा सन्त महात्माको भेषमा कतै बसिरहेका छन् भन्ने अनुमान गरिएका बसु नेपालका प्रसिद्ध सन्त खप्तड स्वामी नै हुन् कि भनी अनुमान पनि गर्ने गरिएको थियो।

(साभार घटना विचार)

No comments: