Sunday, July 4, 2010

अस्ताए प्रजातान्त्रिक आन्दोलनका योद्धा

नेपालको प्रजातान्त्रिक आन्दोलनको एक योद्धा तथा पूर्वमन्त्री बलबहादुर राई ९० वर्षको उमेरमा निधन भएको छ । ढांड, युरिक एसिड, मृगौलालगायतका रोगबाट पीडित नेता राईको महाराजगञ्जस्थित शिक्षण अस्पतालको सिसियु कक्षमा आइतबार अपरान्ह ४ बजेर १० मिनेटमा निधन भएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका राईको पार्थिव शरीरलाई सोमबार सानेपास्थित पार्टी कार्यालयमा लगिने छ । नेता राईको इच्छाअनुसार सोमबार हेलिकोप्टरबाट आफ्नै पुख्र्यौली थलो ओखलढुंगाको मोली-३ घरमा लगिने छ ।
'हजुरबुवाको अन्तिम इच्छा गाउँमै समाधिस्थ गर्नु रहेको छ', राईका नाति राजाबाबु किराँतीले कान्तिपुरसित भने, 'हजुरआमा पद्मशोभाको समेत उही गाउँमै समाधि रहेको छ ।'
ओखलढुंगा क्षेत्र नं. २ बाट आमनिर्वाचत २०४८ र मध्यावधि निर्वाचन २०५३ गरी दुई पटक प्रतिनिधि सभामा निर्वाचित भएका थिए । यसअघि २०१५ सालमा समेत ओखलढुंगाबाट प्रतिनिधित्व गरेका थिए ।
२०४६ सालपछि कांग्रेसको नेतृत्वमा गठित मन्त्री परिषद्मा वरिष्ठ सदस्यको हैसियल नेता राईले १९ पटक कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको समयमा १३ पटक र शेरबहादुर देउवाको कार्यकालमा ६ पटक सम्हालेका थिए । नेता राईले आफ्नो कार्यकालमा कटारी-ओखलढुंगा सडक निर्माण गराउन सफल भएका थिए ।
राई नारदमुनि थुलुङलगायतको नेतृत्वमा राणाशासनविरुद्ध पूर्वी पहाडमा सशस्त्र क्रान्तिबाट आन्दोलनमा होमिएका थिए । ०१७ साल पार्टीमाथि प्रतिबन्ध लागेपछि राईसमेत जेलमा परेका थिए । ०१८ सालमा जेलबाट छुटेपछि साढे सात वर्ष भारतको जयनगरमा निर्वासित जीवन बिताएका थिए । २०२५ सालमा आममाफी पाएका थिए । विश्वेश्वरप्रसाद कोइरालालगायतका नेतासितको संगतबाट प्रजातन्त्रका निम्ति आजीवन समर्पित थिए ।
बलबहादुर राईलाई प्रजातान्त्रिक आन्दोलन र राजनीतिक जीवनमा सफल नेताका रुपमा लिइन्छ । उनी जनआन्दोलन २०६२/६३ मा समेत सहभागी हुँदा पक्राउ परेका थिए । जनआन्दोलन सफलतापछि पार्टीको तर्फबाट अन्तरिम विधायकसमेत थिए ।
'बाहिङ राई' मातृभाषी बलबहादुरको जन्म १९७७ साल फागुन ६ गते ओलखढुंगाको मोली गाउँमा भएको थियो । राईको दुई छोरा र दुई छोरी छन् । जेठी छोरी प्रमिला राई संविधानसभाको सभासद् छिन् । राईको किरात मुन्धुम परम्पराअनुसार संस्कार गरिने परिवारले जनाएका छन् ।

No comments: