Monday, July 5, 2010

माओवादीले बोली फेर्‍यो: प्रधानमन्त्री

प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो राजीनामाको केही घन्टामै सहमति हुन्छ भन्ने एकीकृत माओवादीले बोली फेरेको बताएका छन्। 'माओवादी अध्यक्षले प्रधानमन्त्रीको राजीनामा आएको केही घन्टाभित्रै शान्ति प्रक्रियाका सबै कुरा टुंगो लाग्छन् भनेका थिए,' आइतबार कीर्तिपुरस्थित चम्पादेवीमा नेपाल कम्युनिस्ट पार्टीका प्रथम महासचिव पुष्पलाल बाटिकामा नेपालले भने, 'अहिले माओवादीले आफ्नो कुरा १८० डिग्रीमा फेरेको छ।'
प्रधानमन्त्री नेपालले माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले जेठ १४ गते तीन दलबीच भएको सम्झौताको पहिलो बुँदालाई भूमिकामात्र भनेको भन्दै आपत्ति प्रकट गरे। पहिलो बुँदामा दलहरूले शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन बाँकी काम अविलम्ब सम्पादन गर्न तथा नयाँ संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न सहमति र सहकार्यका साथ अघि बढ्ने दृढता व्यक्त गरेका छन्।दोस्रो बुँदामा संविधानसभाको म्याद थप्न र तेस्रो बुँदामा प्रधानमन्त्रीको राजीनामा गर्ने विषय समावेश छ। 'भट्टराईजस्तो विद्वान व्यक्ति जसलाई मैले आशाको नजरले हेरेको थिएँ, उहाँले समेत एक नम्बर भनेको प्राक्कथन/भूमिकामात्र भनेर सहमतिबाट पछि हटेको देख्दा म स्तब्ध भएको छु,' नेपालले भने। माओवादी अध्यक्ष पुष्पकमल दाहालको नाम नलिई उनले भट्टराईका अभिव्यक्तिको आलोचना गर्दै भने, 'अरु नेताले त विश्वसनीयता गुमाए गुमाए, उहाँले विश्वास राख्नुहोला भन्ने थियो। उहाँले जसरी बोल्नु एको छ, यसले बाँकी रहेको विश्सनीयतासमेत गुम्ने स्थिति देखिएको छ।' माओवादी निःशस्त्र बनोस् र नागरिक पार्टीमा रुपान्तरित होस् भन्ने चाहेको भन्दै नेपालले सहमतिको वातावरण छिटो तयार गरी राष्ट्रिय सहमतिको सरकार बनाउने आफ्नो शुभेच्छा रहेको बताए। 'उनीहरू अझै विद्रोही मानसिकतामा छन्,' उनले भने।

No comments: