Wednesday, July 7, 2010

एमआरपी छाप्ने ठेक्का फ्रांसको ओबरथरलाई

काठमाडौं । परराष्ट्र मन्त्रालयले सर्त पूरा नगरेको एक फ्रान्सेली कम्पनी ओबरथरलाई मेसिन रिडेबल पासपोर्ट (एमआरपी) छाप्न ठेक्का दिएको छ ।
एमआरपी ठेक्काका लागि आवेदन दिएका अन्तिम चार कम्पनीमध्ये सबैभन्दा कम मूल्य प्रस्ताव गरेको फ्रान्सेली कम्पनी ओबरथरलाई एमआरपी छाप्न दिने निर्णय परराष्ट्रले मंगलबार गरेको हो ।
शिष्टाचार महापाल मुक्तिनाथ भट्टको संयोजकत्वमा गठित ठेक्का मुल्यांकन समितिले परराष्ट्रसचिव मदनकुमार भट्टराई समक्ष सबैभन्दा कम मुल्यमा एमआरपी बुक उपलब्ध गराउने कम्पनी ओबरथरको नाम प्रस्ताव गर्नुभएको थियो ।
एमआरपी छाप्ने ठेक्का पाएको ओबरथर कम्पनिले सरकारले तोकेको प्राविधिक सर्त पूरा नगरेको स्रोतको दावी छ ।
सरकारले तय गरेको सर्तअनुसार एमआरपी छाप्ने कम्पनीले जापानी कम्पनी टोपानले बनाएको ‘पर्सनलाइजेसन प्रिंटर’ प्रयोग गर्नुपर्ने हुन्छ । तर, ओबरथरले टोपानभन्दा कमसल कोरियन कम्पनी ‘पार्क एन्ड ओपिसी’को पर्सनलाइजेसन प्रिंटर प्रयोग गर्ने भनेको छ । मन्त्रालयले तय गरेको सर्तमा जापानको टोपान कम्पनी भनेर स्पष्ट किटान नगरिए पनि सो सर्त टोपानभन्दा विश्वका अन्य कुनैपनि कम्पनीसँग मेल नखाने स्रोतको दावी छ ।
ओबरथरले तीन दशमलव पाँच, सिंगापुरको थ्री एमले चार दशमलव पाँच, इन्डोनेसियाको पेरम पेरुरीले पाँच दशमलव ९९ र बेलायतको दिलारु कम्पनीले ६ दशमलव २६ अमेरिकी डलरमा एमआरपी छपाइको प्रस्ताव गरेका थिए । राजनीतिक दवावका कारण अघिल्लो टेन्डर प्रक्रिया रद्द भएको थियो ।

No comments: