Friday, July 30, 2010

कांग्रेस उम्मेदवारी फिर्ता लिन तयार: सुजाता

कांग्रेस नेतृ सुजाता कोइरालाले राष्ट्रिय सहमति कायम भए कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने दाबी गरेकी छन्। उनले सहमतिको सरकारका लागि दलहरु अग्रसर भए कांग्रेसले एकमतले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन तयार रहेको बताइन्।
‘राष्ट्रिय सहमति कायम गर्न कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन्छ'-प्रेस युनियन मोरङले शुक्रबार कोइराला निवास विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेतृ कोइरालाले भनिन,‘शान्ति र संविधानका लागि कांग्रेस त्याग गर्न तयार छ।' उनले बहुमतीय आधारमा प्रधानमन्त्रीको चयन गरेर मुलुकलाई बन्धक बनाउनु भन्दा सहमतिका लागि प्रयास गर्नुपर्नेमा जोड दिइन्।
‘संविधान निर्माण र राष्ट्रिय सहमतिका लागि काँग्रेस त्याग गर्न तयार छ'-उनले भनिन,‘कांग्रेसलाई सरकार र सत्ताको लोभ छैन।'
‘छलफल गरेर प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता हुन्छ, त्यसमा दुई मत हुँदैन'-सुजाताले भनिन्।बहुमतीय सरकारले राष्ट्र र जनताका लागि कुनै पनि काम गर्न नसकेकाले सहमतिकै सरकार अपरिहार्य रहेको उनको भनाई छ। उनले कांग्रेसलाई बाइपास गरेर मुलुकको समस्या समाधान नहुने दाबी पनि गरिन्। शान्ति प्रकृयाप्रति माओवादी गम्भीर नरहेको उनको आरोप छ।

No comments: