Thursday, July 22, 2010

कांग्रेस-एमाले गठबन्धन प्रभावित पार्न सफल'

माओवादी आफ्नो नेतृत्वमा मात्र होइन 'प्रगतिशील गठबन्धन' सरकार बनाउन पनि असफल भएको छ । कांग्रेस-एमाले गठबन्धन प्रभावित पार्न भने सफल भएको छ । आफ्नो प्रधानमन्त्रीको उम्मेदवार हुँदाहुँदै बुधबार माओवादीले एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन र सहयोग गर्ने निर्णय गर्‍यो । त्यसको एउटै कारण थियो, प्रगतिशील गठबन्धनको सरकार बनाउनु । माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको निर्वाचन हुनुभन्दा केही समयअघि एमाले अध्यक्ष झलनाथ खनाललाई पत्र लेखी 'सहयोग र समर्थन' हुने प्रतिबद्धता व्यक्त गरे ।
'तपाईंको नेतृत्वमा सरकारका गठनका लागि दुई तिहाइ सभासदको समर्थन पुगोस् भन्ने अपेक्षाका साथ त्यसका निम्ति हाम्रो पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने विश्वास दिलाउँदै हाम्रो पार्टीको २ सय ३७ सभासदको समर्थन तपाईंलाई रहने जानकारी गराउँछौं,' दाहालको पत्रमा भनिएको छ । खनालको पक्षमा दुई तिहाइ समर्थन नजुटेपछि प्रधानमन्त्रीका लागि निर्वाचन हुनु केही समयपहिले माओवादीले समर्थन फिर्ता लिएको थियो । 'झलनाथजीको पक्षमा दुई तिहाइ बहुमत नजुटेकाले समर्थन फिर्ता लिएका छौं,' संसद् परिसर नयाँबानेश्वरमा उपाध्यक्ष बाबुराम भट्टराईले भने ।
विगत तीन दिनको अवधिमा माओवादीले तीन निर्णय गर्‍यो । जुन निर्णय आफ्नो बहुमत जुटाउनेभन्दा कांग्रेस-एमालेको समीकरण तोड्न केन्दि्रत थिए । सोमबार उसले आफ्नो नेतृत्वमा सरकार नबने एमाले अध्यक्ष खनालाई समर्थन गर्ने संकेत गर्‍यो भने मंगलबार अध्यक्ष दाहाललाई प्रधानमन्त्रीको उम्मेदवार बनायो । बुधबार प्रधानमन्त्रीको निर्वाचनकै दिन उसले पुनः खनाललाई सहयोग र समर्थन गर्ने निर्णय गर्‍यो र समर्थन अपराह्न फिर्ता लियो । अध्यक्ष दाहाल प्रस्तावक रहेका भट्टराईले संसद्मा बोल्दै 'राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास गरे पनि हुन नसकेको' बताए । त्यसकारण उनले खनाललाई समर्थन गरेको संकेत गरे । 'माओवादी शान्ति प्रक्रियाको आधा हिस्सा हो,' उनले भने, 'माओवादीको नेतृत्वमा सरकार भए शान्ति प्रक्रिया निष्कर्षमा पुग्छ ।'
अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले 'विदेशी चलखेल, राष्ट्रिय आत्मसमर्पणवादी र यथा-स्थितिवादीका कारण' ले दुई तिहाइ बहुमतको सरकार बन्न नसकेको दाबी गरे । स्रोतका अनुसार माओवादीले सकेसम्म आफ्नै नेतृत्वमा र नसके अनुकूलको सरकार बनाउन चाहन्थ्यो । 'भारतको बलमा सरकार बनाउने कि माओवादी अनुकूलको सरकार बनाउने मुख्य प्रश्न हो,' माओवादी एक स्थायी समिति सदस्यले कान्तिपुरसँग भने । एमालेको आन्तरिक विवाद, कठिन निर्णय र मधेसवादी दलका तटस्थताका कारण माओवादी आफ्नो अनुकूलको सरकार बनाउन असफल भएको हो । माओवादीले मधेसवादी दललाई आफ्नो पक्षमा पार्न सक्यो भने मात्र उसको सरकार सम्भव छ ।

No comments: