Monday, May 4, 2009

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष राजिनामापत्र

 बैशाख २१ गते मुलुकका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । सिंहदरवार हलमा दिएको १४ मिनेट लामो सम्वोधनपछि त्यहाँ उपस्थित संचारकर्मीसँग प्रधानमन्त्रीले राष्ट्रपति डा. रामवरण यादवलाई राजिनामा दिने जानकारी गराउदै , दाहालले असंवैधानिक किसिमले सिर्जना गरिएको द्वेध सत्ता निराकरण गर्न र खतरामा परेको लोकतन्त्रको रक्षाका लागि राजिनामा दिएको बताए। राष्ट्रको नाममा सम्बोधन गर्दै राजिनामा दिएका दाहालले आफ्नो सरकारले जनपक्षीय कार्य गर्न नसक्नुमा विपक्षीलाई दोषी देखाए। ९ महिनाअघि एमाले र फोरमको साथमा दाहालको नेतृत्वमा सरकार गठन भएको थियो। माओवादी नेताहरुले सोमबार मध्याह्नसम्म पनि सदनमा अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिँदै आएका थिए।
प्रधानमन्त्रीले पदबाट राजीनामा दिएको घोषणा गरेपनि लोकतान्त्रिक पद्धति तथा शान्तिप्रक्रियाप्रति भने आफ्नो प्रतिबद्धता जारी रहने उल्लेख गरे । प्रधानमन्त्रीले आफ्नो सम्वोधनमा सेनामाथि नागरिक सर्वोच्चता कायम गर्न सरकारको आदेश पटक पटक नमानेका प्रधानसेनापति रुक्माङ्गद कटवालमाथि कारवाही गरिएको बताए । 'कथित सत्ता कब्जाको हौवा खडा गरेर राष्ट्रपतिलाई उक्साउने आधारभूमि तयार गरियो' प्रधानमन्त्रीले भने ।
सम्वोधनमा प्रधानमन्त्रीले प्रधानसेनापति कटवालाई बर्खास्त गर्ने सरकारको निर्णयको बिपक्षमा राष्ट्रपति उभिनुले शिशु लोकतन्त्रमाथि घातक प्रहार भएको बताए । राष्ट्रपतिलाई स्वतन्त्र निर्णय गर्ने अधिकार नरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सम्वोधनमा भने, 'प्रधानसेनापति प्रकरणमा अन्तराष्ट्रिय शक्तिकेन्द्रको दृष्य, अदृष्य चलखेल देखियो, हाम्रो आन्तरिक मामलामा बिदेशी हस्तक्षेप हामीलाई किमार्थ स्विकार्य छैन ।

No comments: