Friday, May 1, 2009

सेनापति हटाउ अभियान संकटमा

काठमाडौं- सत्तारुढ घटक एमाले स्थायी समितिको बैठकले बिहीबार साँझ 'राजनीतिक सहमतिबिनाको निर्णय मान्य नहुने' निष्कर्ष निकालेपछि प्रधान सेनापति हटाउने माओवादी अभियान सङ्कटमा परेको छ। विपक्षी कांग्रेस सहितका दलहरुले माओवादी निर्णयको कडा विरोध गरिरहेको बेला सत्ताको मुख्य घटक एमालेले गरेको निर्णयले माओवादीलाई आफ्नो निर्णयबारे पुनर्विचार गर्न थप दबाव दिएको छ।
१० दिनअघि प्रधानसेनापति कटवालसँग सरकारले स्पष्टीकरण सोधेपछि मओवादी नेताहरु तत्कालै कारवाही हुने बताउँदै आएका थिए। तर कुटनीतिक र राजनीतिक रुपमा तीब्र दबाव पर्न थालेपछि बिहीबार बिहान माओवादी सचिवालय बैठकले प्रधानसेनापति रुक्माङ्गत कटवाललाई तत्काल हटाउन सुझाव दिए पनि त्यसको भाषा केही लचिलो बनाएको थियो। बैठक लगत्तै प्रवक्ता दीनानाथ शर्माले भने- 'सहमतिका लागि अधिकतम लचकता अपनाएर अघि बढ्ने निर्णय भएको छ।'
यसअघि माओवादी प्रधानसेनाप्रति कडा अभिव्यक्ति दिँदै आएको थियो। माओवादी सचिवालय बैठकले तत्काल कारवाही गर्न सुझाव दिएपछि एमालेले त्यसबारे निर्णय गर्न समय मागेको थियो। त्यस लगत्तै साँझ बसेको एमाले स्थायी समिति बैठक बसेको थियो। नेकपा एमालेले माओवादीद्वारा एकल निर्णय गरी प्रधानसेनापति रुक्मांगत कटवाललाई हटाइए अस्वीकार गरी सरकारबाट बाहिरिने चेतावनी दिएको छ। एमालेको आकस्मिक बैठकले माओवादी एक्लै अघि बढे अमान्य हुने निर्णय गरेको हो।
बिहीबार नै प्रधानसेनापतिलाई कारवाही गरेर शुक्रबार मे दिवसको जुलुसलाई विजय जुलुसको रुपमा मनाउने तयारी माओवादीको थियो। त्यसै बमोजिम सचिवालय बैठकले सरकारलाई सुझाव पनि दिएको हो। तर राजनीतिक सहमति हुन नसक्दा माओवादी योजना साकार हुन सकेन। एमालेको निर्णयले सहमतिको राजनीतिमा जोड दिएको छ। तर कांग्रेस माओवादी निर्णयको खरो आलोचक रहँदै आएको छ। त्यसैले अर्को राजनीतिक सहमति नबनेसम्मका लागि माओवादी निर्णय कार्यान्वयन हुने देखिँदैन।

No comments: