Sunday, May 24, 2009

नेतृत्व बारे कांग्रेसमा विवाद

माधव नेपाल नयाँ प्रधानमन्त्रीमा निर्विरोध निर्वाचित भएका छन्। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले व्यवस्थापिका संसदको बैठकमा नेपाल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरे। प्रधानमन्त्री चुनाव प्रक्रियामा माओवादी सहभागी नभएपछि नेपाल निर्विरोध भएका हुन्। निर्वाचित भएपछि कडा सुरक्षाका साथ आफ्नो निवास कोटेश्वर जानुअघि नवनिर्वाचित प्रधानमन्त्री नेपालले सञ्चारकर्मीहरुसित छोटो कुराकानी गर्दै सहकार्य र सहमतिमा जोड दिए। "अत्यन्त अप्ठेरो घडीमा एउटा गम्भीर अविभारा मेरो काँधमा आएको छ । यो अविभारालाई सबैको सहयोगबाट पूरा गर्न सकिन्छ भन्ने विश्वासका साथ जिम्मेवारी सम्हालेको छु । मलाई विश्वास छ देशको राजनीति सहमतिका साथमै अगाडि बढ्नेछ । सहमतिको यो यात्रा लक्ष्य पूरा नभएसम्म जारी रहनेछ, " नव निर्वाचित प्रधानमन्त्री नेपालले भने।एमाले नेता नेपालले ३५५ सभासदको समर्थनको हस्ताक्षरसहित बिहान १० बजेपछि मनोनयन दर्ता गराएका थिए। बिहान १० बजेदेखि दिउसो १ बजेसम्म प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्ने समयमा अन्य कुनै दलले मनोनयन दर्ता गरेनन्।
नेपालको प्रस्तावक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला थिए। उनलाई २१ दलको औपचारिक समर्थन रहेका छन्। आफ्नो उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग नेपालले कुनै प्रतिक्रिया दिएनन्। 'म सपथ ग्रहणपछिमात्र बोल्छु'- नेपालले भने। नेपालले मंगलबार मात्रै शपथ लिनेछन्।
प्रधान सेनापति रुक्माङ्द कटवाललाई पदमा बहाल रहन राष्ट्रपतिले दिएको निर्देशन नसच्चाएसम्म माओवादीले नयाँ सरकार गठनको प्रक्रियामा सहभागी नहुने भन्दै उम्मेदवारी नदिने र मतदान बहिस्कार गर्ने बताएको छ। माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले सदनलाई सम्बोधन गरेपछि माओवादी सभासदले सदन बहिष्कार गरेर बाहिरिएका थिए। उनले सैनिक सर्वोच्चता स्थापित गर्न गठन हुन लागेको सरकारलाई समर्थन नरहने प्रस्ट पारे।
मेरो कुरा प्रचन्डसम्म पुगोस् : कोइरालानेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले व्यवस्थापिकाको शनिबारको बैठकमा कसैलाई होच्याएर शक्तिशाली हुन नसकिने बताए। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार गरेको भाषणप्रति इंगित गर्दै उनले भने- ‘गाली गरेर कसैलाई होच्याएर शक्तिशाली भइन्न ।' उनले सहमति, सहकार्य र एकता अहिलेको पनि आवश्यकता भएको दोहोर्‍याउदै पुनः नयाँ सहमतिका लागि तयार हुन माओवादी अध्यक्ष दाहाललाई आग्रह गरे।नेता नेपाललाई हारेको ब्यक्ति भनेर होच्याएकोमा गुनासो गर्दै कोइरालाले थपे,- ‘सहमति, सहकार्य र एकतामा कसैले पनि हार्दैन ।' सहमतिका लागि आफू अझै पनि सकृय रहने उल्लेख गर्दै कोइरालाले शान्तिप्रकृया टुंगोमा पुग्ने बेलामा सहमतिबाट टाढा नजान माओवादीलाई आग्रह गरे।
बनेन् साझा कार्यक्रमनयाँ सरकारका न्यूनतम साझा कार्यक्रम तय नहुँदा अन्य दलहरु सरकारमा सहभागी हुने/नहुने निर्णय अझै नभएकाले मन्त्रिपरिषद गठन केही दिन ढिला हुने भएको छ। 'नयाँ सरकारका सहयात्री दलहरुबीच सरकारको साझा कार्यक्रम र कुन दलबाट कतिजना मन्त्रिपरिषदमा सहभागी हुने निर्णय गर्न बाँकी छ'- एमाले सचिव शंकर पोखरेलले भने। उनले मन्त्रिपरिषद गठन गर्न कम्तिमा एक साता लाग्ने बताए। सरकारको न्युनतम साझा कार्यक्रम बारे दलहरुबीच सामान्य छलफल समेत हुन सकेको छैन।

कांग्रेसमा विवादमाधव नेपाललाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका निर्वाह गरेको नेपाली कांग्रेसभित्र कुन नेताको नेतृत्वमा सरकारमा सामेल हुने भन्नेमा विवाद देखिएको छ। कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता भए पनि तयसको असर भने पार्टीभित्र जीवितै छ। स्रोतका अनुसार नेता शेरबहादुर देउवा, प्रकाशमान सिंह वा गोपालमान श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने अडानमा छन्। कोइराला भने रामचन्द्र पौडेलको नेतृत्वमा सरकारमा सहभागी गराउने पक्षमा भएको स्रोतको दाबी छ। पौडेल नेतृत्वमा सरकारमा जान नहुने पक्षमा कोइराला पुत्री सुजाता सक्रिय भएको पनि स्रोतको दाबी छ।

धेरै मन्त्री बनाउन फोरमको कसरत
फोरम संसदीय दलका नेता विजयकुमार गच्छदारको नेतृत्वमा सरकारमा सहभागी हुने सम्भावना बढी छ। गच्छदारले आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय संसदीय दलबाट पारित गराइसकेका छन्। उता अध्यक्ष उपेन्द्र यादवले भने धेरै मन्त्री बनाउनुपर्ने संकेत सार्वजनिक रुपमै गरे। दलको तर्फबाट सरकारमा लिङ्गीय, जातीय र क्षेत्रीय आधारमा मन्त्रीहरु बनाइनुपर्ने भन्दै उनले मेचीदेखि कालीसम्मका मधेसीले समानुपातिक प्रतिनिधत्व हुनुपर्ने बताएका छन्।

No comments: