Thursday, January 1, 2009

पशुपतिमा ताल्चा काटेर मूल पुजारीको प्रवेश , सर्वोच्चद्वारा नयां पुजारीलाई पुजाआजा गर्न नदिन अन्तरिम आदेश

पशुपति पश्चिमतर्फको मुख्य ढोकाको ताल्चा काटेर मूल पुजारी डा. विष्णुप्रसाद दाहाललाई पशुपतिभित्र प्रवेश गराएपछि दाहालले पूजापाठ सुरु गरेका छन्। आधुनिक नेपालको इतिहासमै पशुपतिको ताल्चा काटिएको यो पहिलो घटना हो। त्यसअघि मुस्लिम आक्रमणकर्ता गयासुद्दिनले उक्त मन्दिरमा जवर्जस्ती प्रवेश गरेका थिए। बासुकी मन्दिरका निवर्तमान भट्टले रामचन्द्रले साँचो दिएपछि बासुकी मन्दिरको भने ताल्चा काट्नु परेन। यतिबेला बासुकी मन्दिरका पुजारी शालिग्राम ढकाल मन्दिर बाहिर रहेर पाठ गरिरहेका छन् भने पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र प्रहरीहरु काटिएको ताल्चाको मुचुल्का तयार पारिरहेका छन्। यसैबीच कोषले मन्दिरको सुरक्षाका निमित्त सिनामंगलस्थित सशस्त्र प्रहरीलाई पत्र लेखेको छ। मन्दिर क्षेत्र अहिले प्रहरी नियन्त्रणमा छ भने परिसरभित्र सर्वसाधारणको प्रवेश अझै खुलेको छैन। ताल्चा काट्ने समूहको नेतृत्व माओवादी भातृसंगठन नेवा राष्ट्रिय मुक्ति मोर्चाका महासचिव पवनमान शाक्यले गरेका थिए।
उता सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा नियुक्त पशुपतिनाथका मूल पुजारी विष्णु दाहाल र पुजारी शालिकराम ढकाललाई पुजाआजा गर्न नदिन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश बलराम केसीले सरकार र पशुपति विकास कोषका नाममा पुजारी सम्बन्धी परेको रिटमा अन्तिम फैसला नभएसम्मका लागि दाहाल र ढकाललाई पुजाआजा गर्न नदिन आदेश जारी गरेका हुन्। आदेशमा पुरानै मूल भट्ट र भट्टलाई पूजाआजा गर्न दिन सरकारलाई निर्देश गरिएको छ।

No comments: